प्यालेस्टिनी लडाकु समूह हमासको बन्धनमा परेको २ वर्ष एक सातापछि नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको पुष्टि भएको छ। जोशी बन्धनमै रहेका बेला इजरायली हवाई हमलामा मारिएको हमासले दाबी गरेको छ। उनको शव अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायली प्रहरीलाई हस्तान्तरण गरिएको छ।
काठमाडौँ — प्यालेस्टिनी लडाकु समूह हमासको बन्धनमा परेको २ वर्ष एक सातापछि नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको सोमबार पुष्टि भएको छ । उनीसहित ४ जनाको शवलाई सोमबार राति अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरिएको हो । हमासले गाजापट्टीमा इजरायली हवाई आक्रमणका क्रममा विपिनको मृत्यु भएको दाबी गरेको छ । तर उनको मृत्यु भएको मिति खुलाइएको छैन ।
इजरायलमाथि आक्रमणको क्रममा हमासले ७ अक्टोबर २०२३ मा विपिनलाई गाजापट्टीसँग सीमा जोडिएको इजरायलको दक्षिण क्षेत्र सेदोत नेगेभस्थित किबुज अलुमिमबाट बन्धक बनाएर लिएर गएको थियो । त्यसक्रममा विपिनसहित २५१ जनालाई बन्धक बनाएर लगिएको थियो ।
इजरायल र हमासबीच त्यसयता जारी युद्धलाई अन्त्य गर्न इजिप्टमा सहमति भएको अमेरिकी शान्ति योजनाअन्तर्गत पहिलो चरणअनुसार हमासलाई सोमबारसम्म २० जीवित बन्धक र २६ मृतक बन्धकको शव हस्तान्तरण गर्न अल्टिमेटम दिइएको थियो । इजरायल सरकारले पनि सोमबार बिहान स्थानीय समय ७ः३० बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको थियो ।
‘बिहान इजरायलको ७ः३० बजे इजरायली सेनाबाट फोन आयो । म, विपिनको दाजु किशोर, बहिनी पुष्पा र इजरायली सेनाको प्रतिनिधिबीच सामूहिक भिडियो कल भयो,’ इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले कान्तिपुरसँग भने । ‘त्यसमा इजरायली सेनाले हमासबाट प्राप्त जीवित सूचीमा विपिन जोशी नभएको सुनायो,’ उनले भने । इजरायलले साँझ मात्रै शव फेला परेको जानकारी गराएको थियो ।
हमासले आफूसँग भएका २० बन्धकलाई स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेदेखि रिहाइ गरेको हो, जसमा पहिलोपल्ट ७ र दोस्रोपल्ट १३ जनालाई हस्तान्तरण गरिएको थियो । सहमतिअनुसार इजरायलले पनि आजीवन सजाय पाएका दुई सय ५० जना र गाजापट्टीमा राखेका १७ सय कैदीलाई रिहाइ गरेको छ ।
त्यसपछि हमासले मृतकको शव पठाउने पहिलो टोलीमा नै विपिनसहित इजरायली नागरिक गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्जलाई राखेको हो । सोमबार रातिसम्म बाँकी २२ मृतक बन्धकको शव पठाउने भने पनि हमासले समय सार्वजनिक गरेको छैन । इजरायली सेनाले मृतकको शवको डीएनए परीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने जनाएको छ । विपिनकी आमा पद्माको यसअघि नै डीएनए लिइसकेको छ ।
होस्टेज एन्ड मिसिङ फोरमले हमासको यो कदमलाई ‘पीडादायी तर महत्त्वपूर्ण’ भनेको छ । ‘यी परिवारहरूले अन्ततः आफ्ना प्रियजनको अन्तिम अवस्था थाहा पाएका छन्, त्यो सत्य अत्यन्त कठोर छ,’ समूहले विज्ञप्तिमा भनेको छ ।
परराष्ट्र मन्त्रालयले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले २ वर्षको अवधिमा विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयास गरेको जनाएको थियो । तर, नेपालको कमजोर कूटनीतिले विपिनलाई उद्धार गर्न सकेन । उनीसँगै बन्धक भएका ३१ जना थाइल्यान्डका नागरिकमध्ये २९ जनालाई थाई सरकारले पहिलो र दोस्रो युद्धविराममा नै उद्धार गरेको थियो । दुई थाई नागरिक पनि गाजापट्टीमा मारिएका थिए । उनीहरूको शव यसअघि नै परिवारले बुझिसकेका छन् ।
पछिल्ला ४८ जना बाँकी बन्धकमा विपिन एक्ला विदेशी नागरिक थिए । बन्धक हुने बेलामा १ सय २१ जना विदेशी नागरिक थिए । जसमध्ये अधिकांश इजरायली नागरिकसँग दुई देशको नागरिकता थियो । हमासले आक्रमण गर्नुभन्दा एक महिनाअघि मात्र विपिनसहित ४९ जना सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए ।
त्यसमध्ये घटनाकै दिन हमासको आक्रमणमा परी १० नेपाली मारिएका थिए । जसमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चॅलाका दीपेशराज बिष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जॅन–४ दार्चॅलाका लोकेन्द्रसिंह धामी रहेका छन् ।
गोली लागेर बाँचेकामा शारदा–२ सल्यानका विधान सेजवाल, दंगीशरण–३ दाङका प्रवीन डाँगी, टीकापुर–९ कैलालीका धनबहादुर चौधरी र गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल छन् ।
ग्रिनेड र गोली लागेर घाइते भएका साथीहरूको उद्धारका लागि विपिनले नै नजिकै अर्को कृषि फार्म (किबुज) मा काम गर्ने बर्दियाका लुइस रिजालको टोलीसमक्ष एम्बुलेन्स पठाइदिन गुहार मागेका थिए । ‘हमासले प्रहार गरेको एउटा ग्रिनेडलाई हातैले टिपेर बंकरबाहिर फालेर साथीहरूलाई बचाएका थिए । ‘त्यसपछि बाँचेका साथीहरू दुईवटा बंकरमा बाँडिएका थियौं, विपिन सँगै म एउटै बंकरमा भयौं,’ शरीरमा तीन गोली लागेर बाँचेका गोरखाका हिमाञ्चल कट्टेलले कान्तिपुरसँग भने, ‘पछि लुकेर बसेको बंकरभित्र हमासका लडाकु छिरे, उनीहरूले हामीमाथि अन्धाधुन्द गोली चलाए । विपिन र तीन जना थाई नागरिकलाई गोली लागेको थिएन । थाईहरूले हात उठाएपछि लडाकुले लिएर गएको देखें ।’
इजरायल डिफेन्स फोर्स (आईडीएफ) द्वारा सार्वजनिक गरिएको गाजा सहरस्थित अल सिफा अस्पतालको सीसीटीभी फुटेजमा स्थानीय समयअनुसार बिहान १०ः५३ बजे तीन जना हतियारधारीले विपिनलाई टाउको छोपिएको अवस्थामा अस्पतालभित्र लैजाँदै गरेको देखिएको थियो । ‘हामी दोस्रो बंकरमा थियौं । विपिन ढोकाछेउमै बसेका थिए । हतियारधारीले उनलाई तानेर बाहिर लिएर गएको हो,’ हमासको आक्रमणबाट जोगिएका सल्यानका प्रमोद केसीले कान्तिपुरसँग भने, ‘त्यहाँबाट हमासले लैजाने बेला भने विपिनले कट्टुसँगै नीलो भेस्ट लगाएका थिए, जुन भिडियोमा देखिन्छ ।’
त्यसको एक महिनापछि हमासले कैद गरेको विपिनको भिडियो परिवारलाई एक वर्षअघि उपलब्ध गराइएको थियो । त्यसयता विपिनको कुनै सूचना प्राप्त नगरेको बुबा महानन्दले कान्तिपुरलाई बताए ।
विपिनकी आमा पद्मा र बहिनी पुष्पा अहिले अमेरिकामा छन् । उनीहरू ८ असोजमा विपिनकै रिहाइका लागि पहल गर्न अमेरिका पुगेका थिए । अमेरिकामा उनीहरूले संयुक्त राष्ट्रसंघका महासचिवदेखि विभिन्न पदाधिकारीसँग भेट गरेका छन् । अमेरिका जानुअघि बहिनी पुष्पा र आमा पद्मा साउन अन्तिम साता इजरायल पुगेका थिए । त्यहाँ उनीहरूले इजरायली राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई भेट्नुका साथै विपिनको रिहाइका लागि आयोजना गरिएको र्यालीमा समेत सहभागी भएका थिए । पुष्पाले र्यालीमै दाइलाई सकुशल रिहाइ गरिदिन आग्रह गरेकी थिइन् ।
