विपिन जोशी : चुँडियो आशाको अन्तिम धागो

विपिन बन्धक बनेको र मृत्यु पुष्टि भएको दुईवर्षे समयावधिमा नेपाली पक्षको प्रयास प्रभावकारी हुन नसकेकैले विपिनलाई गुमाउनुपरेको स्विकार्नैपर्छ । यसले हाम्रो कूटनीतिक अभ्यासलाई प्रभावकारी बनाउन कठोर मिहिनेतको खाँचो छ भन्ने देखाउँछ ।

आश्विन २८, २०८२

सम्पादकीय

Vipin Joshi: Chundio is the last thread of hope

What you should know

प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएपछि दुई वर्षदेखि अज्ञात अवस्थामा रहेका विपिन जोशी जीवितै फर्किएलान् भन्ने आशा समाप्त भएको छ । सोमबार बेलुका हमासले उनको मृत्यु भइसकेको पुष्टि गरेसँगै आशाको अन्तिम धागो पनि चुँडिएको हो । इजरायलले विपिन जीवित रहेको प्रमाण उपलब्ध हुन नसकेको भन्दै परिवार र इजरायलका लागि नेपाली राजदूतलाई सोमबार दिउँसो नै मृत्युबारे बलियो संकेत गरिसकेको थियो । यद्यपि, मृत्यु नै भइसकेको आधिकारिक पुष्टि भइसकेको थिएन ।

त्यसैले कुनै चमत्कार भई पो हाल्छ कि भन्ने थियो । तर हमासले विज्ञप्ति जारी गर्दै उनको शव नै हस्तान्तरण गर्ने घोषणा गरेको छ । यसरी बन्धक साटासाटले इजरायल र प्यालेस्टाइनमा उल्लास छाइरहँदा झन्डै पाँच हजार किलोमिटर परको देश नेपाल भने स्तब्ध भएको छ । 

७ अक्टोबर २०२३ मा हमासले गाजापट्टीबाट इजरायलमा आकस्मिक आक्रमण गरेको थियो । त्यतिबेला नै १० नेपाली विद्यार्थीसहित करिब १ हजार २ सयको मृत्यु भएको थियो । विपिनसहित २ सय ५१ जना हमासको नियन्त्रणमा परेका थिए । इजरायलले गरेको ध्वंसात्मक प्रतिवादले असाधारण मानव विपत्ति सिर्जना गर्‍यो । बीच–बीचमा युद्ध मत्थर गरेर बन्दी साटासाट पनि भए ।

अन्तिम अवस्थामा हमासले ४८ जना बन्धक रिहाइ गर्न बाँकी रहेको र त्यसमध्ये २० जना जीवित भएको ठानिएको थियो । दुई पक्ष शान्ति प्रक्रियातर्फ अग्रसर हुँदा हमासले २० जना जीवित र २६ जना मृतकको नाम इजरायललाई उपलब्ध गराउँदा पनि विपिनको नाम दुवैतर्फ परेको थिएन । यस्तो स्थितिमा त्रास सँगसँगै आशा पनि बचेको थियो । सोमबार साँझबाट भने विपिनको मृत्यु भइसकेको स्वीकार गर्न बाध्य हुनुपरेको छ ।

हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले इजरायललाई नेपाली विद्यार्थी विपिन जोशीसहित चार जना बन्धकका शव फिर्ता गर्ने घोषणा गरेको छ । हमासले विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरेको छ । यद्यपि, यसको विस्तृत विवरण आउन बाँकी छ । हमास पनि सहानुभूतिको हकदार होइन ।

किनकि, आक्रमणको सुरुवात उसैले गरेको हो र असम्बन्धित व्यक्तिलाई असुरक्षित क्षेत्रमा बन्धक बनाएर सौदाबाजीको अस्त्रका रूपमा उपयोग गरिरहेको थियो । उता, हमासको आक्रमणपछि प्रतिवादका क्रममा इजरायलले प्यालेस्टाइनी भूमिलाई क्षतविक्षत बनाएको छ । स्कुल र अस्पतालसम्म ध्वस्त बनाएको छ । खाना खोज्दै हिँडेका भोकमरीले ग्रस्त महिला र बालबालिकालाई पनि निसाना बनाएको छ । यस्तो स्थितिमा उसैको आक्रमणले विपिनको मृत्यु भएको होइन भन्न सकिँदैन । यद्यपि यसबारे दुवै पक्षले विश्वसनीय आधारसहित प्रस्ट पार्नुपर्छ । 

कुनै पनि हिंसाले सरोकार नै नभएका मानिस पनि प्रभावित हुन्छन् भन्ने पुष्टि नेपाली विद्यार्थीहरूको मृत्युले पुष्टि गरेको छ । १० नेपालीको मृत्यु र विपिन जोशीको अपहरणका कारण नेपालीमाझ इजरायल–हमास युद्धको एउटा सरोकार राष्ट्र नेपाल पनि हुन पुग्यो । उता इजरायलले सिर्जना गरेको मानव विपत्तिमा प्यालेस्टाइनमा झन्डै ६६ हजार मानिस मारिएका छन्, त्यसमध्ये एक तिहाइ बालबालिका रहेको रिपोर्टहरूले देखाएका छन् । त्यसैले अहिलेको युद्धविराम स्वागतयोग्य भए पनि मानव इतिहासमा यसको राजनीतिक, कानुनी र सामाजिक परीक्षण हुनैपर्नेछ ।

हमासले रेडक्रसलाई शवहरू बुझाउने भएकाले विपिनका परिवारले कहिले पाउनेछन् भन्ने अझै प्रस्ट छैन । अब शव सहज ढंगले परिवारले पाउनुपर्छ । त्यसका लागि इजरायल सरकार र नेपाल सरकारले समन्वय गरिदिनुपर्छ । पीडामा रहेका परिवारलाई अनावश्यक र झन्झटिलो प्रशासनिक प्रक्रियामा रुमल्याउनु हुँदैन ।

विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल गरेको दाबी गर्दै आएको थियो । तर, विपिनको मृत्युले हाम्रा कूटनीतिक प्रयत्न असफल भएको पुष्टि गरेको छ । विपिन बन्धक बनेको र मृत्यु पुष्टि भएको दुईवर्षे समयावधिमा नेपाली पक्षको प्रयास प्रभावकारी हुन नसकेकैले विपिनलाई गुमाउनुपरेको स्विकार्नैपर्छ । यसले हाम्रो कूटनीतिक अभ्यासलाई प्रभावकारी बनाउन कठोर मिहिनेतको खाँचो छ भन्ने देखाउँछ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully