इजरायल र हमासका अधिकारीहरुले बन्धक रिहाई सोमबार बिहानदेखि सुरु गर्ने तयारी भइरहेको जनाएका छन् । रिहाईको ठ्याक्कै समय भने केही घण्टाअघि मात्र थाहा हुने सम्भावना छ ।
What you should know
काठमाडौँ — दुई वर्षदेखि गाजापट्टीमा बन्धक रहेकालाई प्यालेस्टिनी लडाकु समूह हमासले अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) मार्फत विशेष इजरायली सैन्य टोली (आईडीएफ)लाई हस्तान्तरण गर्ने तयारी गरेको छ । जुन यसअघिको जस्तै प्रक्रिया हुनेछ ।
इजरायलको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले आईसीआरसी र आईडीएफबीच समन्वय भइरहेको जानकारी दिए । यसबारे प्रधानमन्त्री कार्यालयले आइतबार साँझ विस्तृतमा जानकारी दिनेछ ।
युद्धविराम सुरु भएसँगै शुक्रबार दिउँसो १२ बजेदेखि नै ७२ घण्टाको समयसीमा प्रारम्भ भइसकेको छ । यो अवधि सोमबार १२ बजेसम्म समाप्त हुनेछ ।
प्रारम्भिक जानकारी अनुसार बन्धकलाई लिन आईसीआरसी गाजापट्टीमै पुग्नेछ । त्यसपछि इजरायली सैन्य टोलीलाई हस्तान्तरण गरिनेछ । आईडीएफले उनीहरूलाई दक्षिण इजरायलस्थित रईम सैन्य बेसमा ल्याउनेछ । त्यहाँ बन्धकका परिवारका सदस्यहरू स्वागत स्थलमा उनीहरूलाई भेट्न प्रतीक्षा गर्नेछन् । त्यहाँबाट बन्धकहरूलाई थप उपचार र मनोपरामर्शको लागि हेलिकोप्टरमार्फत अस्पताल पुर्याइनेछ ।
'यदि तत्काल स्वास्थ्य उपचारको आवश्यकता पर्यो भने स्वागत केन्द्रमा रोकिने छैन । बन्धकहरूलाई सिधै अस्पताल पुर्याइनेछ,' ती अधिकारीले भने ।
हमासले अहिलेसम्म कति जना जीवित बन्धक र मृत्यु भएका बन्धकलाई एकैपटक आईसीआरसीको जिम्मा लगाइनेछ भन्ने खुलिसकेको छैन । इजरायलले ४८ जना बन्धकमध्ये २० जना मात्रै जीवित रहेको अनुमान गरेको छ । २६ जनाको मृत्यु भएको र नेपालका विपिन जोशी र इजरायली सेना तमिर निमरोडीको अवस्था भने अज्ञात छ । बन्धकहरूलाई एउटै स्थानमा जम्मा गरेर वा विभिन्न स्थानहरूमा एकसाथ मुक्त गरिने अपेक्षा गरिएको छ ।
इजरायल र हमासका अधिकारीहरुले बन्धक रिहाई सोमबार बिहानदेखि सुरु गर्ने तयारी भइरहेको जनाएका छन् । रिहाईको ठ्याक्कै समय भने केही घण्टाअघि मात्र थाहा हुने सम्भावना छ ।इजरायलले बन्धकको सट्टामा करिब २ हजार जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ ।
बन्धक रिहाईको यो बिषय नेपालीका लागि किन चासो छ भने, बन्धकको सूचीमा नेपालका विपिन जोशीपनि छन् ।
गत बुधबार इजिप्टमा भएको वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारबाट बन्धक रिहा हुने बताएका थिए । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ ट्रम्पले लेखेका छन्, 'यसको अर्थ अब सबै बन्दीहरू चाँडै मुक्त हुनेछन् । इजरायलले आफ्नो सेना सहमतिको रेखासम्म फिर्ता गर्नेछ ।'
बुधबारको वार्तामा अमेरिकी विशेष दूत र कतारी प्रधानमन्त्री सहितको सहभागिता थियो । अमेरिका, इजिप्ट र कतारका मध्यस्थतामा इजिप्टको शर्म एल–शेखमा भएको वार्तामा गाजामा युद्धविराम गर्ने सहमति भएको हो ।
