इजरायल-हमास युद्ध : बन्धक 'डिल'देखि युद्धविराम सहमतिसम्म केके भयो ?

इजरायली सेनाले त्यसमा देखिएका एक जना नेपाली नागरिक विपिन जोशी रहेको जनाएको थियो । किबुज अलुमिमबाट बन्धक बनाउनुअघि विपिनले लगाएको भेस्ट, कट्टु र चप्पल भिडियोमा देखिएको युवकसँग मेल खाएको उनका साथीहरुले बताएका थिए । 

आश्विन २३, २०८२

होम कार्की

Israel-Hamas war: From the hostage 'deal' to the ceasefire agreement, what happened?

What you should know

काठमाडौँ — ७ अक्टोबर २०२३ को बिहान । इजरायलको दक्षिणी सहर सेरोट, नहल ओज, कफार अजा र बेएरीमा मानिसहरू यम किप्पुर युद्धको ५० वर्ष पुरानो स्मृति मनाइरहेका थिए । बिहान ६:३० बजेतिर आकाशमा सूर्यको किरण मात्रै झुल्किएन, गाजा पट्टीबाट आकाशतिर सयौं रकेट प्रहार भए ।

त्यसको केही मिनेटमै सयौं प्यालेस्टिनी विद्रोही समूह हमासका लडाकु सीमा तोड्दै इजरायली गा उर सैन्य चौकीहरूमा प्रवेश गरे । तिनको साथमा हतियार मात्र थिएन, एउटा योजनाबद्ध ‘मानव–बन्धक बनाउने रणनीति’ पनि थियो । 

सशस्त्र आक्रमणसँगै हमासले दर्जनौं गाउँ, कन्सर्ट स्थल र सैनिक चौकीहरूबाट मानिसलाई अपहरण गर्‍यो । त्यो शनिबारको दिन २५१ जना इजरायली र विदेशी नागरिकलाई गाजा पट्टीतर्फ लगेको थियो । एकै दिन १२ सय जना इजरायलमा मारिए, त्यसमा १० जना नेपाली विद्यार्थी पनि परे । उनीहरुसँगै रहेका कञ्चनपुरका विपिन जोशीलाई हमास लडाकुले अपहरण गरेर अज्ञात स्थलतर्फ लगे ।

त्यसयता गाजाको युद्ध केवल सैन्य संघर्ष होइन, मानव बन्धकको राजनीतिक खेल पनि बन्यो । हमासका राजनीतिक ब्युरो सदस्य मुसा अबु मरजुकले अल–जजिरासँग भनेका थिए,‘हाम्रो उद्देश्य केवल लडाइँ मात्रै होइन । कैदी साटासाट गर्नु पनि हो । इजरायलका हजारौं कैदी हाम्रो जेलमा छन्, हामीले आफ्ना कैदीहरू फर्काउन बन्धकहरूलाई प्रयोग गर्नेछौं ।' 

त्यो वक्तव्य बन्धकहरूलाई युद्धको सन्देश र दबाबका रूपमा प्रयोग गर्ने हमासको राजनीतिक मापदण्डभित्रको देखिन्थ्यो । दी इजरायली इन्फरमेसन सेन्टर फर द हृयुमन राइट्स इन द अकुपाइड टेरोटोरिजका अनुसार सन् २०२४ सम्ममा ९ हजार ६ सय १९ जना प्यालेस्टिनी कैदी थिए ।

गाजातर्फ लैजाने क्रममा हमासका लडाकुले कतिपय बन्धकको भिडियो सार्वजनिक गरे । भिडमा तानेर लैजाने वृद्ध, रगताम्य मानिस, डरले चिच्याइरहेकी युवतीका दृश्यहरूबाट स्तब्ध नपर्ने कोही थिएन । 

उत्तरी गाजास्थित अल–शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै इजरायली सेनाले त्यसमा देखिएका एक जना नेपाली नागरिक विपिन जोशी रहेको जनाएको थियो । किबुज अलुमिमबाट बन्धक बनाउनुअघि विपिनले लगाएको भेस्ट, कट्टु र चप्पल भिडियोमा देखिएको युवकसँग मेल खाएको उनका साथीहरुले कान्तिपुरलाई बताएका थिए । 

इजरायली सेना आईडीएफद्वारा सार्वजनिक उक्त सीसीटीभी फुटेजमा असोज २० को बिहान १०:५३ बजे तीन जना हतियारधारीले एक जना युवकलाई घिच्याउँदै अस्पतालभित्र लैजाँदै गरेको देखिन्छ । खाली खुट्टा र कट्टुमा रहेका ती युवकको टाउको भने कपडाले छोपिएको छ । ती व्यक्तिलाई आईडीएफले नेपाली बन्धक विपिन भएको दाबी गरेको छ ।

 Israel-Hamas war: From the hostage 'deal' to the ceasefire agreement, what happened?

विपिन कार्यरत कृषि फर्म र त्यस आसपास हमासको आक्रमणमा मारिएकाहरूसँग विपिनको डीएनए मिलेको थिएन । उनले बोकेको मोबाइल गाजा क्षेत्रमा केहीबेर ‘एक्टिभ’ थियो । 

मध्यस्थताका लागि दौड

इजरायलमा अक्टोबर ७ राष्ट्रिय आघातको प्रतीक बन्यो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तत्काल घोषणा गरे, ‘हामी युद्धमा छौं, र प्रत्येक बन्धकलाई फर्काउने हाम्रो पहिलो प्राथमिकता हुनेछ ।'

इजरायलले तुरुन्तै गाजा पट्टीमा हवाई आक्रमण गर्न थाल्यो । त्यसपछि हवाई र स्थलगत आक्रमणलाई तीव्रता दियो । अस्पतालहरु पनि आक्रमणको निसानामा पर्न थाल्यो । गाजा पट्टीमा हरेक दिन ज्यान गुमाउनेको संख्या बढ्न थाल्यो । 

युद्धमा बन्धकको सुरक्षा, वार्ताको ढाँचा र सर्तहरू तत्काल सम्भव थिएनन् । तर, इजरायलमा बन्धक बनेका परिवारहरूले तुरुन्तै ‘बन्धक र वेपत्ता परिवार मञ्च’ गठन गरे । यसले अन्तर्राष्ट्रिय समर्थन जुटाउँदै वार्तामा मानवीय पक्षलाई केन्द्रमा राख्न दबाब बढ्दै गयो । 

अक्टोबर १० सम्म पुग्दा कतार र इजिप्टले हमाससँग सम्पर्क सुरु गरिसकेका थिए । कतारको दोहामा बस्ने हमासको राजनीतिक नेतृत्व र इजरायलबीचका अप्रत्यक्ष वार्ताको पुल बन्न कतारले भूमिका लियो । गाजा पट्टीसँग जमिन जोडिएको हिसाबले इजिप्टले पनि मध्यस्थताका लागि पहल गर्न थाल्यो । 

कतारका परराष्ट्रमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल–थानीले भनेका थिए, 'हामी बन्धकको मुक्तिका लागि विश्वसनीय च्यानल बनिरहेका छौं । तर यसका लागि दुवै पक्षले विश्वास पुनःस्थापना गर्नुपर्छ ।'

तर त्यतिबेला इजरायल पूर्ण युद्धको मोडमा थियो । गाजामाथि हवाई हमला तीव्र हुँदै गयो, जसले मानवीय सम्पर्क कठिन बनायो ।

अक्टोबरको अन्त्यतिर रेडक्रसले गाजाभित्र सीमित मानवीय पहुँच पायो । २० अक्टोबरमा बन्धक बनाइएकामध्ये दुई अमेरिकी नागरिक (आमाछोरी) लाई हमासले पहिलो बन्धकका रुपमा छाड्यो ।

हमासले मानवीय कारण भन्दै सार्वजनिक गरेको थियो । त्यो कतारी मध्यस्थता परीक्षण थियो । यसले इजरायलको प्रतिक्रिया कस्तो आउँछ भन्ने बुझ्नका लागि गरिएको थियो । यसले वार्ताको ढोका पूर्ण बन्द छैन भन्ने विश्वका लागि संकेत पनि थियो ।

यसले २२ नोभेम्बरमा पहिलो युद्धविराम गर्ने वातावरण बनायो । सात सातापछि कतार, इजिप्ट र अमेरिकाको संयुक्त मध्यस्थतामा सात दिनका लागि दुई पक्षबीच अस्थायी युद्धविराम सम्झौता भयो । यसले बन्धक र कैदी साटासाट गर्ने सहमति भयो । यसअनुसार  हमासले प्रत्येक दिन कम्तीमा १०–१५ जना बन्धक रिहाइ गर्ने,  इजरायलले प्रतिदिन करिब ३ गुणा संख्यामा प्यालेस्टिनी कैदी मुक्त गर्ने र  युद्धविराम अवधिमा गाजामा मानवीय सहायता प्रवेश गर्न दिइने थियो । 

पहिलो चरणको कार्यान्वयन २४ देखि ३० नोभेम्बरसम्म रिहाइ भएका बन्धकमध्ये अधिकांश महिला, बालबालिका र वृद्धहरू थिए । यसमा ८१ इजरायली, २३ थाई, एक फिलिपिनी थिए । यसको बदलामा इजरायलले २४० जना प्यालेस्टिनी कैदी रिहाइ गर्‍यो । युद्धविराम अगाडि मानवीय कारण देखाउँदै हमासले चार बन्धक रिहाइ गरिसकेको थियो भने ८ जना बन्धकलाई इजरायली सेनाले उद्धार गरेको थियो ।

Israel-Hamas war: From the hostage 'deal' to the ceasefire agreement, what happened?

यो युद्धविरामले हमासले आफ्नो सशस्त्र छवि नरम पार्न प्रयास गर्‍यो भने इजरायल सरकारलाई बन्धक परिवारबाट दबाब कम भयो । 

बन्धकबाट मुक्त भएकी २१ वर्षीया मिया शेमकी आमाले बीबीसीसँग भनेकी थिइन्, ‘हाम्रो बच्चा फर्कियो, तर हजारौं परिवार अझै अन्धकारमा छन् ।'

पहिलो अस्थायी युद्धविराममा विपिनसँगै काम गरेका थाई श्रमिक मुक्त भए । तर, विपिन परेनन् । विपिनलाई छुटाउन कतार र इजिप्टसग कूटनीतिक पहल नपुगेको भन्दै सरकारको आलोचना भयो । त्यतिखेर विपिनका बुबा महानन्दले भनेका थिए, ‘छोरो सकुशल फर्केको हेर्न तड्पिरहेका छौं ।’

पहिलो युद्धविरामपछिको राजनीति

पहिलो सम्झौताले इजरायलभित्र राहत ल्यायो, तर नेतान्याहुको सरकारभित्र विवाद पनि बढायो । एकथरी मन्त्रीले भने, 'यो हमासलाई बलियो बनाउने सम्झौता हो ।'

अर्काथरीले भने, 'हाम्रो आफ्ना नागरिक फर्किए, यही नै साँचो जित हो ।' 

हमासले भने विज्ञप्ति जारी गर्दै दाबी गर्‍यो, 'हामी प्रतिरोध जारी राख्नेछौं । यदि इजरायलले हाम्रा कैदी मुक्त गर्छ भने बाँकी बन्धक पनि फिर्ता गर्न सक्छौं ।'

हमास र इजरायलबीचको विश्वासको पुल फेरि ढल्यो । दुवै पक्षले एक–अर्कामाथि सम्झौता उल्लंघनको आरोप लगाउन थाले । 

हमासले भन्यो, 'इजरायलले सहमतिअनुसार सहायता दिएन ।'

इजरायलले भन्यो, 'हमासले थप बन्धकबारे गलत तथ्य दियो ।'

यसको नतिजा फेरि युद्ध थियो । डिसेम्बर १ पछि पुन: युद्ध सुरु भयो ।

Israel-Hamas war: From the hostage 'deal' to the ceasefire agreement, what happened?

विद्युत, इन्धन, पानी र खानाको नाकाबन्दीबाट जीवन बचाइरहेका गाजा पट्टीका बासिन्दाका लागि यो युद्ध फेरि भयानक भएर फर्कियो । गाजा सिटीबाट विस्थापित ईमान अल–वाहिदीले आफूले हरेक सेकेन्ड डरमा बिताइरहेको बताइन् । उनका १७ वर्षीय छोरा इजरायली हवाई आक्रमणमा मारिएका थिए । 'जब साँझ हुन्छ, त्योसँगै डर पनि आइपुग्छ । म र मेरा तीन बच्चाहरू हवाई आक्रमणबाट खुबै डराउँछौं,’ उनले बीबीसीलाई भनेकी थिइन्, ‘हामी सारा रात एक अर्कालाई समातेर सुत्छौं । हरेक सेकेन्ड हामी के भयो भनेर समाचार हेर्छौं । युद्ध फेरि हामीतिर फर्किएको छ ।’ 

गहिरिँदो बन्धक संकट

नोभेम्बर २०२३ मा भएको सात दिनको युद्धविरामपछि गाजा पट्टी फेरि रगतले लतपतियो । एक सय ३७ जना बन्धक अझै गाजा पट्टीमा कैद थिए । जसमा सैनिक, इजरायली नागरिक र विदेशी श्रमिक पनि छन् ।

इजरायलले आक्रमण बढाउँदै गए बन्धकहरु मारिने वक्तब्य हमासले दिइरहन्थ्यो । बन्धकहरूको अवस्थाबारे ठ्याक्कै जानकारी थिएन । कतिपय मारिएको पुष्टि भइसकेका थिए । कतिपयको जीवन/मृत्यु अज्ञात थियो । 

तुरुन्तै वार्ता हुने स्थिति थिएन । अन्तर्राष्ट्रिय कूटनीतिक दौडमै समय बित्न थाल्यो । मध्यस्थकर्ताको रुपमा देखिएको कतार, इजिप्ट र अमेरिकाका प्रस्तावहरुले टुंगो लागिरहेको थिएन ।

जनवरी २०२४ मा इजिप्टको राजधानी कायरोमा कतारको मध्यस्थतामा इजरायली प्रतिनिधि र हमासका राजनीतिक अधिकारीबीचको गोलमेच सम्मेलनले पनि पार लागेन । त्यसमा बन्धकहरूको अवस्थाबारे प्रमाणित सूची, नयाँ बन्धक कैदी साटासाटको प्रस्ताव, दीर्घकालीन शान्ति सम्भावनाको विषयका एजेन्डा थिए । त्यसमा हमासले सर्त राख्यो, ‘पूर्ण युद्धविराम, इजरायली सेना गाजाबाट फिर्ता र सबै प्यालेस्टिनी कैदीहरूको रिहाइ ।'

इजरायलले जवाफ दियो, 'पहिला सबै बन्धकहरू नफर्केसम्म कुनै स्थायी युद्धविराम हुँदैन ।' वार्ता तीन दिनमै भंग भयो ।

यसले इजरायलभित्रका बन्धकका परिवारहरू निराश हुँदै गए । तेलअभिभ, जेरुसेलम र हाइफामा हजारौं मानिस नेतान्याहु प्रशासनविरुद्ध सडकमा उत्रिन थाले । उनीहरुको नारा थियो, ‘बन्धकलाई घर ल्याऊ ।’

नियमिमीत प्रदर्शनले नेतान्याहुको सरकारमाथि राजनीतिक दबाब पनि बढाउन थाल्यो । एक बन्धककी आमा रचेल गोल्डिनले भनेकी थिइन्, ‘हाम्रो बच्चा अब केवल बन्धक होइन, सरकारको नीतिगत असफलताको प्रतीक हो ।'

अर्को पिताको बयान थियो, ‘नेतान्याहुले हाम्रो छोरा फिर्ता ल्याउने वाचा गरे, तर उनी वार्ता होइन, युद्ध रोजिरहेका छन् ।'

तेलअभिभको होस्टेज स्क्वायर उभिएर २९ वर्षीया हागारले बीबीसीलाई भनेकी छन्, 'अब कुनै ठाउँ घरजस्तो लाग्दैन । सबै बन्धकहरू फर्केर नआउँदासम्म हामीमध्ये कसैलाई पनि सुरक्षित महसुस हुनेछैन । जब हामी सबै जना फेरि घर फर्केको देख्छौं, तब हामी फेरि सास फेर्न सक्छौं । त्यसपछि मात्र हामी स्वास्थ्यलाभ लिन सक्छौं ।’

२०२४ को फेब्रुअरीसम्म आइपुग्दा गाज पट्टीमा मृत्युको संख्या ३० हजार नाघिसकेको थियो । जसमा अधिकांश महिला र बालबालिका थिए । यो मृत्युको संख्या बढ्दै जान थालेपछि अन्तर्राष्ट्रिय समुदायमा दबाब थपियो । 

कतारले पहिलो चरणमा सफलता पाएको भए पनि २०२४ मा उसमाथि इजरायली र अमेरिकी असन्तुष्टि बढ्दै गयो । दोहामा बस्ने हमास नेताहरूले सार्वजनिक मञ्चबाट कठोर वक्तव्य दिँदा इजरायलले त्यसलाई 'मध्यस्थताको निष्पक्षता गुमाउने' आरोप लगायो।

अप्रिल २०२४ मा कायरो पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले भनेका थिए, ‘कतारको भूमिका अझै महत्वपूर्ण छ । कतारले दबाब बढाउनुपर्छ । सन्देशवाहक भएर मात्रै पुग्दैन ।'

त्यसमा कतारको जवाफ थियो, ‘हामी शान्तिको बाटो खोलिरहेका छौं । तर युद्ध जारी रहँदा मानवीय सम्झौता असम्भव हुन्छ ।'

उता इजिप्टले आफ्नो नाकाबाट मानवीय नाकाबाट सहायता पठाउन सकिरहेको थिएन । गाजामा हमासभित्र पनि विवाद देखिन थालेको थियो । हमासका सैन्य कमान्डरहरूले ‘पूर्ण प्रतिरोध’को नीति लिए भने राजनीतिक ब्युरोले सीमित सम्झौता सम्भव  भन्यो । कतारस्थित हमासका वरिष्ठ अधिकारी उसामा हमदानले अलजजिरासँगको अन्तरवार्तामा भनेका थिए, ‘बन्धकहरू हाम्रो वार्ताको कार्ड हुन् । जबसम्म गाजाको नाकाबन्दी खुल्दैन, हामी कुनै पूर्ण सम्झौतामा जाँदैनौं ।' 

यसले बन्धक संकट अब मानवीयभन्दा बढी राजनीतिक हतियार बनिसकेको देखिन्थ्यो । 

मार्च २०२४ मा अमेरिकाले तीन चरणको युद्धविराम प्रस्ताव अघि सारेको थियो । जसमा अस्थायी युद्धविराम र सबै महिला–बालबालिका बन्धकको रिहाइ, मानवीय सहायता र अन्तर्राष्ट्रिय निरीक्षणको अनुमति, दीर्घकालीन राजनीतिक संवाद र गाजाको भविष्य शासन संरचना थियो । हमासले पहिलो र दोस्रो चरण स्वीकार्ने संकेत दियो । तर तेस्रो चरणमा गाजाको शासनमा इजरायली प्रभाव अस्वीकार्य भन्यो । त्यसपछि प्रस्ताव रोकियो ।

बन्धकहरूको अज्ञात अवस्था

गाजामा बन्धकहरूको अवस्थाबारे सूचनाको अभाव बढ्दै गयो । कैयौं परिवारले रेडक्रसँग प्रत्यक्ष जानकारी मागेका थिए । रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीले आफूहरुलाई गाजाको भित्री क्षेत्र प्रवेशको अनुमति नभएको बताउन थाल्यो । 

नोभेम्बरमा उद्धार गरिएका बन्धकका कथाले झन् भयावह तस्बिर प्रस्तुत गर्न थालेको थियो । एक मुक्त महिलाले इजरायली ‘च्यानल १२’ लाई भनिन्, ‘हामीलाई सधैं अँध्यारोमा राखिन्थ्यो, कहिलेकाहीँ घण्टौंसम्म केही खान दिइँदैनथ्यो । अर्को पल हामी बाँच्ने कि मर्ने भन्ने डर हुन्थ्यो ।’

Israel-Hamas war: From the hostage 'deal' to the ceasefire agreement, what happened?

यी कथाहरुले संयुक्त राष्ट्र र अन्तर्राष्ट्रिय ध्यानाकर्षण गरायो । १० जुन २०२४  संयुक्त राष्ट्र सुरक्षा परिषद्ले प्रस्ताव २७३५ पारित गर्‍यो । यसमा स्पष्ट भनिएको थियो, ‘हमासले तुरुन्त सबै बन्धकबिना सर्त र सुरक्षित रूपमा फिर्ता गर्नुपर्छ । इजरायलले गाजामा नागरिक सुरक्षा सुनिश्चित गर्नुपर्छ।' 

यो प्रस्ताव अमेरिकाको पहलमा पारित भएको थियो, तर हमासले त्यसलाई पक्षपातपूर्ण भन्दै अस्वीकार गर्‍यो । इजरायलले चाहिँ ‘स्वागतयोग्य कूटनीतिक दबाब’ भन्दै त्यसलाई आफ्नो पक्षमा व्याख्या गर्‍यो ।

तर व्यावहारिक रूपमा न कुनै बन्धक छुटे, न त इजरायलले गाजामा आक्रमण गर्न कम गर्‍यो । उल्टो तेल अभिभको ‘होस्टेज स्क्वायर’ प्रदर्शन स्थलमा परिणत हुन थाल्यो । प्रत्येक शुक्रबार परिवारहरू बन्धकहरूको तस्बिर, क्यान्डल लाइट र पोस्टर बोकेर त्यहाँ भेला हुन्थे । 

सबै प्रयास असफल रहँदा इजरायलमा आन्तरिक सत्ता संकट र नेतृत्व परिवर्तनको आवाज उठ्न थाल्यो । नेतान्याहुको सरकारमाथि प्रश्न गर्न थाले, 'एक वर्षपछि पनि हामीले बन्धकहरू किन फिर्ता ल्याउन सकेनौं ?'

इजरायली विश्लेषक गिडोन लेवीले ‘हारतेज’ दैनिकमा लेखेका छन्, 'बन्धकहरू अब केवल मानवीय चिन्ता होइनन् । उनीहरू नेतान्याहुको अस्तित्वको राजनैतिक परीक्षण हुन् ।' 

हमासको प्रस्ट अडान थियो, 'जबसम्म गाजाको नाकाबन्दी हट्दैन र कैदीहरू स्वतन्त्र हुँदैनन्, कुनै पनि बन्धक छुटाएर युद्धको अन्त्य होइन ।' 

नयाँ प्रस्ताव, पुनः वार्ता र भविष्य 

२०२४ भरि गाजा पट्टीबाट कुनै बन्धक छुटेनन् । इजरायली सेनाले गाजा पट्टीमा अझै ९७ जना बन्धक रहेको सार्वजनिक गर्‍यो । तीमध्ये कतिपय मृत्यु भएको  जानकारी इजरायली अधिकारीसँग भए पनि परिवारलाई आधिकारिक रूपमा बताइएको थिएन ।

डिसेम्बर २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले शपथ लिनुअघि नै समाधान गर्न भन्दै चेतावनीको भाषामा भनेका थिए, ‘यदि गाजामा रहेका बन्दीहरू आफू पदभार सम्हाल्नुअघि मुक्त नभए गम्भीर परिणाम भोग्नुपर्नेछ ।’

ट्रम्पले डिसेम्बर अन्त्यतिर र पुनः जनवरीको सुरुतिर पनि यही माग दोहोर्‍याएका थिए । जसको असर बन्धक र कैदी साटासाट गर्ने गरी दोस्रो युद्धविराम भयो । १९ जनवरी २०२५ देखि बन्धक र कैदी साटासाट सुरु भयो । १९ जनवरीदेखि २१ फेब्रुअरसम्म ७ पटक बन्धक साटासाट भयो । यो युद्ध भएदेखि सबैभन्दा लामो थियो । जसमा हमासले ३३ जना जीवित र ८ जना मृतक बन्धकलाई मुक्त गर्‍यो । यसको बदला इजरायलले दुई हजार जना प्यालेस्टिनी कैदीलाई छाडिदियो । 

यस पटक पनि विपिन अटाएनन् । नेपालले राजदूत, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिको तहबाट कतारी अमिर शेख तमिमसम्म गरेको प्रत्यक्ष लबिङले काम गरेन । विपिनका बुवा महानन्द जोशीले कान्तिपुरसँग भनेका थिए, ‘विपिनसँगै बन्धक गरेर लगिएका थाई नागरिक छुट्दा विपिनको रिहाइ भइरहेको छैन । किन यस्तो भइरहेको छ भनेर हामीले बुझ्ने कुरा भएन । हामी विपिनलाई पर्खिरहेका छौं । सबैका तर्फबाट थप पहल भइदिए हुन्थ्यो ।’

१८ मार्चदेखि फेरि गाजा पट्टीमा बमबारी सुरु भयो । मेमा इजिप्ट, कतार र अमेरिकाको प्रयासमा तीन चरणको प्रस्ताव यसरी बनाइएको थियो । जसमा पहिलो चरणमा अस्थायी युद्धविराम र ५० बन्धकको बदला ३ सय प्यालेस्टिनी कैदीहरूको रिहाइ, दोस्रो चरणमा गाजाबाट इजरायली सेना क्रमशः फिर्ता र तेस्रो चरणमा स्थायी युद्धविराम र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई समेटिएको थियो । 

यसमा कतारले प्रारम्भिक सहमति जनाएको थियो । तर नेतान्याहुको क्याबिनेट विभाजित भयो । इजरायली रक्षामन्त्री गलान्ट र विपक्षी नेताहरूले यो प्रस्तावलाई स्वीकार गर्न आग्रह गरे पनि नेतान्याहु र उनका सारथीले स्वीकार गरेनन्, 'हमास अझै शक्तिशाली छ । यस्तो अवस्थामा स्थायी युद्धविराम आत्मसमर्पण हो ।'

यसपछि फेरि वार्ता अधुरो प्रगतिको अवस्थामा रोकियो । 

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले जुन २०२५ मा वक्तव्य जारी गर्दै भने, 'गाजामा रहेका बन्धक र सामान्य नागरिक राजनीतिक खेलको सिकार भएका छन् । बन्धकहरूलाई युद्धको मुद्रा बनाउन नहुने हुँदैन ।'

तर नेतन्याहुले सार्वजनिक भाषणमा पुनः दोहोर्‍याए, 'हामीले आफ्नो सुरक्षामा सम्झौता गर्न सक्दैनौं ।  बन्धकहरूको मुक्तिको जिम्मा हाम्रो शत्रु (हमास) को हातमा छ, हाम्रो होइन ।' 

त्यसपछि इजरायलभित्रै नेतान्याहुको आलोचना तीव्र बन्यो ।

इजरायली रक्षाबल (आईडीएफ) का पूर्वप्रमुखहरू र बन्धक परिवारले नेतान्याहुको राजीनामा मागेका थिए ।

तेलअभिभको होस्टेज स्क्वायरमा १० लाखसम्म बन्धकका परिवारका समर्थक जम्मा हुन थाले । बन्धक परिवारसँगै उभिएका समर्थकको माग छ, ‘सबै बन्धकलाई घर फर्काउने विस्तृत सम्झौता गर्नुपर्छ, युद्धको अन्त्य हुनुपर्छ ।’ 

होस्टेज स्क्वायरमा भेला भएको भिडलाई सम्बोधन गर्नेमध्ये एक थिइन् विपिनकी बहिनी पुष्पा ।  हजारौं समर्थकको बीचमा आफूलाई सम्हाल्न नसकिरहेकी पुष्पाले गत अगस्टमा रुँदै भनिन्, ‘एउटा व्यक्ति ६ सय ८० दिनभन्दा बढी समयसम्म अँध्यारो नरकजस्तो कोठरीमा कसरी बाँचिरहेको छ ? कल्पना पनि गर्न सकिन्न । दुई वर्षदेखि मेरो परिवारले एउटै मात्र छोरो र मैले मेरो आत्मा, मेरो एउटै मात्र दाजुलाई मिस गरेरहेकी छु ।’

यो दुई वर्षमा गाजामा मात्रै कम्तीमा ६६ हजार २८८ मानिसको मृत्यु भइसकेको छ । यहीबीच सेम्टेम्बरमा अमेरिकी राष्ट्रपति ट्रम्पले २० बुँदे शान्ति योजना ल्याए । यसमा पहिलो चरणमा सहमति भएको ७२ घण्टाभित्र सबै बन्धकको मुक्ति, दोस्रो चरणमा हमासको निशस्त्रीकरण र तिस्रो चरणमा गाजा पट्टीमा नया सरकार बनाउने र त्यहाँबाट इजरायलको पूर्ण बहिर्गमन ।

Israel-Hamas war: From the hostage 'deal' to the ceasefire agreement, what happened?

गत आइतबारसम्म अल्टिमेटम दिएपछि हमासले बन्धक छाड्न तयार भएको र थप वार्ता आवश्यक भएको बताएपछि सोमबारदेखि इजिप्ट, कतार र अमेरिकाको मध्यस्थतामा इजिप्टको पर्यटकीय सहर शरम अल–शेखमा अप्रत्यक्ष वार्ता सुरु भयो  । यसलाई निर्णायक बनाउने बुधबार बिहान अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जेरेड कुशनर इजिप्ट पुगेका हुन् । कतारी प्रधानमन्त्री पनि इजिप्ट पुगे । 

बुधबारको निर्णायक वार्तामा ट्रम्पको शान्ति योजनाको पहिलो चरणलाई लागू गर्न सहमति जुट्यो । सहमतिको पहिलो सूचना ट्रम्पले सार्वजनिक गर्दै बिहीबार बिहान आफ्नो ‘ट्रुथ सोसल’ मा लेखेका छन्,‘ 'यसको अर्थ अब सबै बन्दी चाँडै मुक्त हुनेछन् । इजरायलले आफ्नो सेनालाई सहमतिको रेखासम्म फिर्ता गर्नेछ ।' 

इजरायल र हमासबीचको बहुप्रतीक्षित युद्धविरामले सबैभन्दा बढी राहत मध्यपूर्वदेखि नेपालको सुदूरपश्चिम कञ्चनपुरसम्म मिलेको छ । 

बिहीबार बिहानै विपिनका बुबा महानन्दले इजरायल र हमासबीचको युद्धविरामले विपिनसँग भेट गर्न पाउने बाटो खोलिदिएको बताए । ‘हामीसँग विपिनलाई थप पर्खेर बस्न सक्ने शक्ति थिएन । यो युद्धविरामले शान्ति ल्याउनेछ । विपिन सकुशल छुट्नेछ भन्ने आशा बढेको छ,’ उनले कान्तिपुरसँग भने,‘हामी धेरै आशावादी छौं । हामीबीचको दुरी छोटिँदै गइरहेको छ ।’

इजरायल-हमास युद्धका दुई वर्ष  

२०२३ 

७ अक्टोबर : हमासले गाजा पट्टीबाट इजरायलमा आकस्मिक आक्रमण । १० नेपाली विद्यार्थीसहित १२ जनाको मृत्यु । २५१ जना हमासको नियन्त्रणमा । 

८ अक्टोबर : इजरायलद्वारा हमासविरुद्ध औपचारिक युद्धको घोषणा । गाजा पट्टीमा हवाई बमबारी सुरु । 

२७ अक्टोबर : इजरायलद्वारा उत्तरी गाजा पट्टीमा स्थलगत आक्रमण सुरु । 

२४–३० नोभेम्बर : पहिलो युद्धविराम कार्यान्वयन । हमासद्वारा ११० बन्धक रिहाइ। बदलामा इजरायलद्वारा २४० जना प्यालेस्टिनी कैदी रिहाइ । 

२०२४ 

भिन्नभिन्न मितिमा इजरायली सेनाद्वारा ४१ जना बन्धकको शव वरामद । तीन जना बन्धक नचिन्दा इजरायली सेनाद्वारा गोली प्रहार गरी हत्या ।  

२०२५ 

१९ जनवरी-२५ फेब्रुअरी : दोस्रो युद्धविराम । ३३ जना जीवित र ८ बन्धकको शव हस्तान्तरण । बदलामा दुई हजार प्यालेस्टिनी कैदी रिहा । 

९ अक्टोबर : ट्रम्पको २० बुँदे शान्ति योजनाको पहिलो चरणमा सहमति । इजरायल र हमासबीच युद्धविराम । इजरायलमा बाँकी ४८ बन्धकलाई सोमबारबाट मुक्त गर्ने । २० जना जीवित बन्धकलाई मुक्त गरेको बदलामा इजरायलले दुई हजार प्यालेस्टिनीलाई रिहाइ गर्ने ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully