देशैभर स्थानीय तहमा टोल सुधार समिति र क्लबले सुरक्षाका निम्ति जनस्तरबाटै गस्ती टोली खटाएका छन् । एकातिर सुरक्षाकर्मीको कमजोर मनोबल र अर्कोतिर प्रदर्शनकै बेला सुरक्षा निकायबाट लुटिएका हतियारबाट बढेको असुरक्षाको पृष्ठभूमिमा देशका कैयन् स्थानमा रात्रिकालीन गस्ती सुरु भएको देखिन्छ ।
What you should know
चितवन, तिलोत्तमा, झापा,कास्की — जेन–जीको आन्दोलन र त्यसपछिको प्रदर्शनको मौका छोपेर देशैभरिका कारागारबाट १३ हजार कैदीबन्दी भागेका थिए । तीमध्ये ६ हजारभन्दा बढी कैदीबन्दी अझै बाहिर नै छन् । त्यसैको प्रभाव हुनुपर्छ देशैभर स्थानीय तहमा टोल सुधार समिति र क्लबले सुरक्षाका निम्ति जनस्तरबाटै गस्ती टोली खटाएका छन् । एकातिर सुरक्षाकर्मीको कमजोर मनोबल र अर्कोतिर प्रदर्शनकै बेला सुरक्षा निकायबाट लुटिएका हतियारबाट बढेको असुरक्षाको पृष्ठभूमिमा देशका कैयन् स्थानमा रात्रिकालीन गस्ती सुरु भएको देखिन्छ ।
चितवन भरतपुर महानगरपालिका–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले भदौ २५ गते दिउँसो वडामा भेला राखे । ‘प्रदर्शनकारीको आवरणमा अरू अनुचित फाइदा लिनेहरू २४ गते रातिदेखि नै सक्रिय भएको देखियो । प्रहरीले पनि यस्तो बेलामा केही गर्ला या नगर्ला धेरै आशा राख्ने ठाउँ थिएन । त्यसैले हामी नै अग्रसर भयौं,’ वडाध्यक्ष काफ्लेले भने ।
वडामा ३० वटा टोल विकास संस्था छन् । भदौ २५ मै वडाध्यक्षको संयोजकत्वमा वडा स्तरीय सुरक्षा समिति गठन भयो । त्यसैदिन टोल सुरक्षा समिति पनि गठन भयो । र टोलवासीहरू पालो लगाएर भदौ २५ गतेबाटै रात्रि गस्तीमा निस्किए । राति १० बजेदेखि बिहानपखसम्म टोलबासीले गस्ती गर्न थाले।
‘यो बीचमा भएका चोरीका चार वटा घटनामा संलग्नलाई टोलको गस्ती टोलीले समाएर प्रहरीको जिम्मा लगाए,’ वडाध्यक्ष काफ्लेले भने । तिहारपछि समीक्षा गरेर गस्ती जारी राख्ने उनले बताए । भरतपुर–२ मा पर्ने रामेश्वर टोल विकास संस्थामा पनि भदौ २७ गते रातिदेखि टोलका बासिन्दा मिलेर गस्ती सुरू गरे । असोज ११ गतेदेखि गस्ती स्थगित छ ।
‘अब कसरी अगाडि बढ्ने भन्ने बारे छलफल गर्दैछौं,’ टोल विकास संस्थाका अध्यक्ष किशोर पाण्डेले भने । टोलमा १० वटा मार्ग छन् । वडाले दिएको पहिचान खुल्ने ज्याकेट,लौरो र टर्च बोकेर टोलका बासिन्दाले तीन/चार वटा समूह बनाएर गस्ती गरेका थिए । ‘हाम्रो गस्ती सुरू हुँदा शंकास्पद लाग्ने व्यक्ति प्रशस्त देखिन्थे । तीन जनालाई प्रहरीकै जिम्मा लगायौं । पछि यस्ता मान्छे टोलमा देखिनै छाडे,’ अध्यक्ष पाण्डेले भने । यस्तो गस्ती अन्य टोलका बासिन्दाले पनि सुरू गरेको उनले बताए ।
रामेश्वर टोल विकास संस्थाका सचिव सुरज सापकोटाले अहिले तत्काललाई गस्ती नै नगरे पनि प्रविधिको सहयोगले सूक्ष्म निगरानी बढाएको बताए । ‘टोलमा पहिल्यैदेखि ठाउँ ठाउँमा सीसीटीभी क्यामेरा थिए । अहिले सीसीक्यामेरा थपेका छौं । बाटोको गतिविधि पनि नियाल्न सहज भएको छ । केही शंकास्पद गतिविधिको शंका लागे टोलभरिमा कसरी सूचना पुर्याउने भन्ने सञ्चार सञ्जाल पनि बनाएका छौं,’ सचिव सापकोटाले भने ।
सुरक्षा निकायबाट सूचना लिनेदिने क्रम जारी नै राखेको उनले बताए । ‘आपराधिक घटना हुने क्रम घट्दो बढ्दो कस्तो छ, घटनाको प्रकृति र प्रवृत्ति कस्तो छ भन्ने जानकारी लिएर टोलवासीले पनि सोही अनुसार सुरक्षा योजना बनाउन सुरू गरेका छन्,’ सचिव सापकोटाले भने । चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरी जिल्लाका विभिन्न ठाउँमा स्थानीयले सुरक्षा व्यवस्थापनमा राम्रो भूमिका खेलेको बताए । ‘कतै स्थानीयले गस्ती गरेका पनि छन् । सुरक्षा निकायको समन्वयमा काम भइरहेको छ,’ एसपी पुरीले भने । समाजको सहयोगका कारणले नै यो दसैंमा ठूलो अप्रिय घटना नभएको उनले बताए ।
स्थानीयद्वारा रात्रि गस्ती
रूपन्देहीको तिलोत्तमा नगरपालिकाका विभिन्न क्षेत्रमा दसैंका लागि ल्याइएका बोका, घरमै पालेका खसी चोरी भए । पालिकाले सूचना नै जारी गरी सचेत रहन र आवश्यक परे नगर प्रहरी र नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गर्यो । सोही अनुसार नगरभित्रका विभिन्न वडामा स्थानीयले गस्ती सुरु गरे ।
अहिले पनि मानिस राति १० बजेदेखि ३ बजेसम्म गस्ती बस्ने गरेका छन् । शंका लागेका व्यक्तिलाई पक्राउ गर्ने, सोधपुछ गर्ने, प्रहरीलाई बुझाउने समेत काम भएको छ । गस्तीले मानिसमा सचेतना त छँदैछ, सुरक्षा समेत भइरहेको स्थानीयको भनाइ छ ।
सिद्धार्थनगर ५ मैत्रीपथस्थित गार्डेन अफ ड्रिङ्स (जीओडी) मा दसैंको केहीदिन अघि चोरी भयो । जिल्ला प्रशासन जाने बाटो नजिकै रहेको रेष्टुरेन्टमा सीसीटिभी क्यामेराको फुटेज हेर्दा राति १२:२० मा चोरी भएको देखिएको सञ्चालक रमेश कान्दुले बताए । उनका अनुसार उक्त राति अन्दाजी ४० वर्षीय एक जना व्यक्ति रेष्टुरेन्टको मूल गेटको ताला फोडेर काउन्टर तोडी करिब १ लाख रुपैयाँ नगद चोरी गरेका थिए ।
बिहान ९ बजे कर्मचारी रेष्टुरेन्टमा पुगेपछि चोरी भएको जानकारी पाएको उनले बताए । चोरीका घटना बढ्ने डरले रुपन्देहीका विभिन्न स्थानमा स्थानीयले रात्रि गस्ती गर्दै आएका छन् । सिद्धार्थनगर नगरपालिका ३ का मनोजकुमार प्रजापतिले आफूहरूको वडामा पर्चा नै टाँसेर अज्ञात समूहले त्रसित बनाएकाले सुरक्षाका लागि रातिमा खटिइरहेको बताए ।
आफूहरू ५ देखि ८ जनाको समूहमा विभाजित भएर गस्ती बस्न थालेको जनाए । ‘गाउँको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो हो भनेर लागेका छौं । चोक, गल्लीमा बस्छौं,’ उनले भने, ‘कतिपय पुरुष विदेशमा छन्, महिला, बालबच्चा भएका घरलाई पनि सबै गाउँले मिलेर सुरक्षा दिनुपर्नेछ । गस्तीकै समयमा बत्ती जाने, रातिमा केही स्थानमा अपरिचित मानिस फेला परेको र समात्न खोज्दा भागेकाले पनि चोरीका लागि आएका रहेछन् भन्ने लागेर गस्ती गर्नुपर्ने देखियो ।’
जिल्लाको शुद्धोधन गाउँपालिका–३ बेताहानीमा पनि स्थानीयले रातभरि लट्ठी लिएर बस्ती घुम्ने गरेका छन् । राति १० बजेदेखि बिहान ३ बजेसम्म टोलबस्तीमा निगरानी भइरहेको स्थानीय सागरप्रसाद खनालले बताए । १२ जनाको समूह बनाएर आफूहरूको क्षेत्रभित्र गस्ती गरिरहेको उनले बताए ।
‘चाडपर्वमा हुने सम्भावित घटनालाई ख्याल गरी चोरी हुन नदिनका लागि गस्ती सुरु गरेका हौं,’ उनले भने, ‘हामी जागरुक भए गाउँ जोगिन्छ, हामी तिहार पछिसम्म पनि गस्ती बसिरहन योजनामा छौं ।’ आफूहरूले गस्ती गर्न थालेपछि छिमेकी गाउँमा पनि सचेतना अपनाइएको उनले बताए ।
‘गस्ती गर्दा समाजका मानिस एक छौं भन्ने सन्देश पनि प्रवाह गर्न सकिएको छ,’ उनले भने । तिलोत्तमा नगरपालिका ५ मा तिलोत्तमा ५ सुरक्षा फोर्स नामक पेज बनाई सामाजिक सञ्जलमार्फत नै गस्ती समूह बनाएर परिचालन गरिएको छ ।
वडा सदस्य हिरा गिरी (डायमण्ड) को संयोजकत्वमा आठ वटा टोलका मानिस जम्मा भएर सुरक्षाका लागि खटिने गरी भेला, छलफल र रात्रि गस्तीको निर्णय गरिएको थियो । गिरीले चाड आएपछि स्थानीयमा डर पैदा हुने, विभिन्न स्थानमा चोरी भएका घटना सञ्जालमार्फत थाहा हुने भएकाले सतर्कता अपनाउन गस्ती अनिवार्य गराएको बताए । गत भदौ २४ गतेको प्रदर्शनका बेला कारागारबाट कैदीबन्दी भागेपछि सर्वसाधारणमा त्रास पैदा गरेको छ । रुपन्देही घरभएका मात्रै १ सय बढी कैदी अन्य जिल्लाका कारागारबाट भागेको सूचनाले स्थानीय त्रासमा छन् । अपराधमा संलग्न कैदी नै फरार भएपछि समाजमा आपराधिक गतिविधि हुन सक्ने जोखिम बढेको स्थानीयको बुझाय छ ।
रुपन्देहीको देवदह नगरपालिका–१ का युवाले पनि रात्रिकालीन गस्ती सुरु गरेका छन् । स्थानीयका अनुसार चोरी, लुटपाट र हिंसाका घटना रोक्न गस्तीमा सक्रिय युवाले राति १० बजेपछि ओहोरदोहोर गर्ने व्यक्तिले परिचय खुल्ने कागज देखाउनु पर्ने नियम बनाएका छन् । जिल्ला प्रहरी रुपन्देहीका डिएसपी गणेश सापकोटाले समाजका मानिस एक भएर सुरक्षा निकायसँग हातेमालो गरेको विषय सकारात्मक भएको बताए । जिल्लामा रातिमा घर छोडेर कतै गएका मानिसको घरमा ताला फोडेर चोरी भएका, कहीँ पशु हराएकाबाहेक ठूला घटना नभएको उनले बताए । ‘ताला फोडेर घरभित्रका सामान लगेका घटना मानिसको उपस्थिति नभएकाले भएकोबाहेक अन्य घटना भएका छैनन्,’ उनले भने, ‘हामीले विशेष सुरक्षाको उपाय अपनाएकै छौं । स्थानीयको जागरुकता हाम्रो लागि सकारात्मक ऊर्जा हो, चोरीका घटना हुन नदिन हामीले सतर्कता अपनाइरहेका छौं ।’
जहाँ साँझ परेसँगै सुरु हुन्छ युवाको गस्ती
जब साँझ पर्छ, झापा बाहुनडाँगीमा स्थानीय युवाको एउटा समूह भेला हुन्छ । उनीहरुसँग देखिने गरी खासै धेरै सरसमान हुँदैन, केवल एक–एक थान टर्चलाइट अनि युवाहरुको एकताको बल । भेलासँगै सुरु हुन्छ बाहुनडाँगीमा युवाको रात्रिकालीन गस्ती । उनीहरु गाउँ–गाउँ पुग्छन्, मेचीको बगर नियाल्छन् । प्रत्येक साँझ सुरु हुने युवाहरुको गस्ती आधा रातसम्म चलिरहन्छ । कहिले त उज्यालो नै हुन्छ । यसरी मेचीनगर–४ बाहुनडाँगीमा युवाको सामूहिक गस्तीको उपक्रम चलेको साढे तीन वर्ष भइसक्यो ।
उक्त युवा गस्तीको नाम हो, ‘र्यापिड रेस्पोन्स टिम’ अथात् आरआरटी । ‘हाम्रो उद्देश्य भनेकै आफ्नो गाउँ–ठाउँमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणसगै भारतबाट नेपालतर्फ आउने जंगली हात्तीबाट समुदायलाई बचाउनु हो,’ आरआरटीका संयोजक न्यूटन कार्की भन्छन्, ‘समाजमा अनेकन् आपारिधक गतिविधि मौलाइरहेका हुन्छन् । अहिले त झन् चाडबाडको माहोल छ । चोरीका घटना बढिरहेका छन् । यी सबै नियन्त्रण गर्नु हाम्रो कर्तव्य पनि हो ।’
साढे तीन वर्षदेखि चलिरहेको आरआरटीको यो यात्रामा सुरुमा २५ जना युवा जोडिएका थिए । अहिले १८ युवाको सक्रिय सहभागिता छ । कोही विदेश गए । कोही पढ्नलाई अन्त कतै । तर, पनि आरआरटीको रात्रिकालिन गस्तीको यो यात्रा रोकिएको छैन ।
‘बाहुनडाँगी यसै पनि जंगली हात्तीबाट प्रताडित क्षेत्र हो । यहाँ दैनिकजसो हात्ती आउँछन् । हात्ती आउने बित्तिकै समाजलाई जानकारी गराउने, सचेत गराउने हाम्रो पहिलो दायित्व हो,’ आरआरटीका सह–संयोजक सदेश पौडेलले भने, ‘तर, यतिमै हाम्रो यात्रा सीमित छैन । हामी सीमा क्षेत्रमा लागूऔषधजन्य कारोबार नियन्त्रण, अन्य अवैध कामकारबाही रोक्न सक्रिय छौं ।’ युवाहरूको यस सामूहिक गस्तीले समाजमा हुने आपराधिक गतिविधि नियन्त्रणसँगै शान्ति छाएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए । ‘विविध किसिमका अशान्तिका गतिविधि बढिरहेको अवस्थामा युवाहरुले यसरी समाजमा सक्रिय सहभागिता जनाउनु आफैँमा उत्तम हो,’ उनले भने ।
आफ्नो टोल, आफैँ सुरक्षा
भदौ २४ को प्रदर्शनयता पोखरा–१७ बिरौटा नमुना टोल बस्ने श्रीबहादुर रानाभाट अबेर रातिसम्म घर छेउछाउ डुलिरहन्छन् । उनीसँगै दैनिकजसो टोलका ५०–६० जना राति १२ बजेसम्म बाहिरै हुन्छन् । बिरौटाको नमुना टोल विकास संस्थामा बसोबास गर्ने स्थानीय बेलुकाको खानापछि यसरी नै निस्किन्छन् । स्थानीयले नमुना टोल सुरक्षा समिति गठन गरेर श्रीबहादुरलाई संयोजक बनाएका छन् । हरेक राति ८ बजेदेखि १२ बजेसम्म सबै जना भेला भएर गस्ती गर्दै आएको उनले सुनाए । जेलबाट भागेका कैदी र सडकमा बस्नेबाट डर महसुस भएपछि टोलबासी एकजुट भएको उनले बताए ।
‘आन्दोलन भएपछि जेलमा बस्नेहरु छुटे । जेलबाट भागेकासँग डर भयो,’ उनले भने, ‘घरको पेटीमा सुत्नेहरु भित्र पसेको पनि भेटियो । त्यसपछि टोलको सुरक्षा आफैं गरौं भनेर समिति गठन गर्यौं ।’ उनका अनुसार टोलभित्र रहेका मार्गको सुरक्षाका लागि ७ जनालाई छुट्टै उपसंयोजक बनाइएको छ । गस्ती गरेयता टोलमा कुनै घटना नघटेको उनले बताए । ‘सोधपुछ गर्न खोज्दा एक–दुई जना भागे । अरु घटना केही भएको छैन,’ उनले थपे, ‘म्यासेन्जरमा ग्रुप पनि बनाएका छौं । राति गस्ती सकिएपछि केही घटना भएको थाहा हुनेबित्तिकै त्यहाँ हाल्ने अनि त्यसपछि जम्मा हुने भन्ने सबैको सहमति छ ।’
नमुना टोलको सुरक्षाको लागि छुट्टै सीसीटिभी जडान गरिएको छैन । व्यक्तिको घरमा क्यामेरा रहेको र त्यसले पनि टोलको सुरक्षामा सहयोग पुगेको संयोजक रानाभाटले बताए । ‘छुट्टै सीसीटिभी छैन । आर्थिक जोहो गरेर जोड्ने भन्ने कुरा गरिरहेका छौं,’ उनले भने । पोखरा–१३ मियाँपाटनमा मुस्लिमहरुको बस्ती छ । नेपाल मुस्लिम युवा समिति कुँडहरको पहलमा युवाहरु रातभर गस्तीमा खटिएपछि मियाँपाटनका स्थानीय ढुक्कले निदाउन पाएका छन् । आफूसहित दैनिक ५ देखि ७ जना युवा असोज ११ गतेदेखि गस्तीमा खटिएको समिति अध्यक्ष अब्बास मियाँले बताए । हरेक राति ११ बजेदेखि बिहान ३ बजेसम्म गस्ती गरिने उनले सुनाए ।
‘११ बजेसम्म पसल खुल्लै हुन्छन् । १२ बजेको समयमा मान्छे गहिरो निद्रामा जान्छ । घटना हुने समय भनेकै यही हो,’ उनले भने, ‘३ बजेसम्म हाम्रो भाइहरु मियाँपाटन वरपर घुम्छन् ।’ बिहान ४ बजे मर्निङ वाक र मस्जिद जानेको चहलपहल सुरु भएपछि गस्ती सकिन्छ । कारागारबाट भागेका कैदी र चाडबाडमा चोरी बढ्ने चिन्ता भएपछि स्थानीय वडा प्रहरी कार्यालय रामबजार र माछापोखरी प्रहरी बिट पुगेका थिए । प्रहरीले तत्काल आफूहरुले पूर्ण सुरक्षा दिन नसक्ने र टोलबासी नै खटिँदा ठीक हुने सुझाव दियो । त्यसयता मियाँपाटनका युवा हरेक रात हरियो रंगको ज्याकेट (बिफ) लगाएर सडकमा खटिँदै आएका छन् । यसबाहेक ५ वटा सीसीटिभी क्यामेराले मियाँपाटनको निगरानी गर्छ ।
