रातिमा हुने चोरी डकैतीले नागरिकको धन सम्पत्तिसँगै मान्छेको जीउज्यानकै जोखिम हुने भएकाले रात्रि गस्ती सुरु गरिएको हो ।
तिलोत्तमा — रुपन्देहीको सिद्धार्थनगर ५ मैत्रीपथस्थित गार्डेन अफ ड्रिङ्स (जीओडी) मा केही दिन अघि चोरी भयो । जिल्ला प्रशासन कार्यालय जाने बाटो नजिकै रहेको रेष्टुरेन्टमा सीसीटीभी क्यामेराको फुटेज हेर्दा राति १२:२० मा चोरी भएको देखिएको सञ्चालक रमेश कान्दुले बताए ।
उनका अनुसार सो रात अन्दाजी ४० वर्षीय एकजना व्यक्ति रेष्टुरेन्टको मूल गेटको ताला फोडेर काउन्टर फोडेर करिब एक लाख रुपैयाँ नगद चोरी गरेका थिए । बिहान ९ बजे कर्मचारी रेष्टुरेन्टमा पुगेपछि चोरी भएको जानकारी पाएको उनले बताए । उनले ताला गेटमा झुण्डिएको अवस्थामा फेला परेको बताए ।
चाडपर्व नजिकिँदै गर्दा चोरीका घटना बढ्ने डरले रुपन्देहीका विभिन्न स्थानमा स्थानीयले रात्री गस्ती सुरु गरेका छन् । रातिमा हुने चोरी डकैतीले नागरिकको धन सम्पत्तिसँगै मान्छेको जीउज्यानकै जोखिम हुने भएकाले रात्रि गस्ती सुरु गरिएको हो ।
केही दिनअघि सिद्धार्थनगर–३ मा अज्ञात समूहले २ वटा घरमा पर्चा टाँसेर गए । उक्त पर्चामा ‘हामी एक हप्ताभित्र यस टोलमा चोरी गर्न आउंदैछौं, यदी केही सामान नभेटिएको खण्डमा हत्या गरिदिन्छौं’ भनेर लेखिएको थियो । उक्त पर्चाले स्थानीयमा ठुलो त्रास पैदा भएको स्थानीय मनोज कुमार प्रजापतिले बताए ।
उनले प्रशासनलाई सो बारे जानकारी गराई सोही रातदेखि आफूहरु ५ देखि ८ जनाको समूहमा विभाजित भई गस्ती बस्न थालेको जनाए । ‘गाउँको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो हो भनेर लागेका छौं,’ उनले भने, ‘चोक, गल्लीमा बस्छौं, कतिपय पुरुष विदेशमा छन्, महिला, बालबच्चा भएका घरलाई पनि सबै गाउँले मिलेर सुरक्षा दिनुपर्नेछ ।’
गस्तीकै समयमा बत्ती जाने, रातिमा केही स्थानमा चोरजस्ता देखिने मानिस फेला परेको र पक्रिन खोज्दा भागेकाले पनि चोर आउने रहेछन् भन्ने पत्ता लागेको उनको भनाइ छ ।
जिल्लाको शुद्धोधन गाउँपालीका ३ बेताहानीमा स्थानीयले रातभरी लाठी लिएर जागाराम बस्ने गरेका छन् । राति १० बजेदेखि बिहान ३ बजेसम्म जागरण गर्ने गरिएको सागर प्रसाद खनालले बताए । उनले एक समूहमा १२ जनाजति जम्मा भएर आफूहरुको क्षेत्रभित्र गस्ती गरिरहेको बताए ।
‘चाडपर्वमा हुने सम्भावित घटनालाई ख्याल गरी चोरी हुन नदिनका लागि गस्ती सुरु गरेका हौं,’ उनले भने, ‘हामी जागरुक भए गाउँ जोगिन्छ, चाडपर्वका मुखमा चोरी भए कति पीडा हुन्छ भन्ने विषयलाई ख्याल गर्दै हामी तिहार पछिसम्म पनि गस्ती गरिरहनेछौं ।’
खनालले आफुहरु गस्ती बस्न थालेपछि अन्य गाउँकाले पनि आधार मानेको र केही शंका लागे, कोही आएजस्तो माने बोलाउने गरेको बताए । गस्ती बस्दा समाजका मानिस एक छौं भन्ने सन्देश पनि प्रवाह गर्न सकिएको उनको भनाइ छ ।
तिलोत्तमाको वडा नम्बर ५ मा तिलोत्तमा ५ सुरक्षा फोर्स नामक पेज बनाई सामाजिक सञ्जाल मार्फत नै गस्ती समूह बनाइएको छ । ५ का वडा सदस्य हिरा गिरी (डायमण्ड)को संयोजकत्वमा ८ टोलका मानिस नै जम्मा हुने र सुरक्षाका लागि खटिने गरि भेला, छलफल र रात्री गस्तीको निर्णय गरिएको हो ।
गत भदौं २४ गते जेन–जी आन्दोलनका बेला कारागारबाट कैदी भागेपछि नागरिकमा यसले त्रास पैदा गरेको छ । रुपन्देहीका समेत १ सय बढी कैदी अन्य स्थानका कारागारबाट भागेको जानकारीले स्थानीय त्रसित छन् । अपराधमा संलग्न कैदी नै फरार भएपछि समाजमा अपराधिक गतिविधि हुन सक्ने जोखिम बढेको स्थानीय बताउँछन् ।
रुपन्देहीको देवदह नगरपालिका–१, का युवाले पनि रात्रीकालीन गस्ती सुरु गरेका छन् । स्थानीयका अनुसार चोरी, लुटपाट र हिंसाका घटना रोक्न गस्तीमा सक्रिय युवाले राती १० बजेपछि ओहोर दोहोर गर्ने व्यक्तिले परिचय खुल्ने कागज देखाउनुपर्ने नियम बनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले समाजका मानिस एक भएर सुरक्षा निकायसँग हातेमालो गरेको विषय सकारात्मक भएको बताए । उनले कहिं केही अफ्ठ्यारो परे नागरिकले प्रहरीलाई सिधै सम्पर्क गरि सहयाता लिन सक्ने बताए ।
हालसम्म जिल्लामा चोरीका घटना व्यापक रुपमा नभएकाले यही सुरक्षा कायम गर्नका लागि आफूहरु लागिपरेको उनले बताए । ‘स्थानीयको जागरुकता हाम्रो लागि सकारात्मक ऊर्जा हो,’ उनले भने, ‘जिल्लाको सुरक्षामा हामी स्थानीयसँगै छौं, चोरीका घटना हुन नदिन सुरक्षाकर्मीका तर्फदेखि पनि हामीले सतर्कता अपनाइरहेका छौं ।’
