सामाजिक सञ्जालमा यसरी फैलिएको थियो देउवा र दाहालको घरमा पैसा जलेको खबर

प्रदर्शनकारीले घरभित्र गएर पैसा निकालेको र पछि नोट जलेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा राखेका थिए । पैसा जलेको विषयमा सामाजिक सञ्जालमा तत्कालै छ्यापछ्याप्ती भएको थियो।

आश्विन १२, २०८२

दया दुदराज

This is how the news of burning money in the house of Deuba and Dahal spread on social media

काठमाडौँ — पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल तथा पूर्वमन्त्री दीपक खड्काको घरमा भदौ २४ गते प्रदर्शनकारीले आगजनी गरे। देउवा, दाहाल र खड्काको घरमा आगजनी हुँदा पैसा जलेको विषयमा सामाजिक सञ्जालमा तत्कालै छ्यापछ्याप्ती भएको थियो। त्यसक्रममा प्रदर्शनकारीले घरभित्र गएर पैसा निकालेको र पछि नोट जलेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा राखेका थिए ।

भोलि–पर्सिपल्टसमेत मानिसले भग्नावशेषमा केही खोजिरहेको भिडियो पनि सार्वजनिक भएका थिए । सरकारले आगजनीको पर्सिपल्ट मात्र नेताहरूका जलेका घरबाहिर प्रहरी सुरक्षा दिएर प्रवेशमा रोक लगाएको थियो ।

२५ भदौको दिउँसो २ बजेर ४४ मिनेटमा ‘सिभान्डी ३’ नामक टिकटक प्रयोगकर्ताबाट एउटा भिडियो पोस्ट भएको छ, जसमा बूढानीलकण्ठस्थित देउवा निवासमा जलेका नोटहरू देखाइएको छ । भिडियोमा लेखिएको छ, ‘शेरबहादुर भ्रष्टको घरमा पैसाको सत्यानाश हेर्नॅस् । यो गरिब जनताले पाएको भए देशको हालत हुन्थ्यो ।’ भिडियोमा ती व्यक्तिले आधाआधी डढेका हजार र पाँच सयका नोट देखाएका छन् । 

११ सेप्टेम्बर अर्थात् २५ भदौको साँझ ८ बजेर ३७ मिनेटमा ‘नेपाली डट फायरफाइल्स’ नामक टिकटक प्रयोगकर्ताले ‘देउवा निवासमा भेटेको पैसा’ लेखेर भिडियो पोस्ट गरेका छन् । त्यसको भोलिपल्ट अपराह्न ४ बजेर ४५ मिनेटमा ‘भाइरलभिडियोहब ५’ नामक टिकटक प्रयोगकर्ताले पनि त्यो भिडियो पोस्ट गरेका छन् । भिडियोमा आधाआधी जलेका हजार र पाँच सयका नोट देखिन्छ । भिडियोको भ्वाइसओभरमा सुनिन्छ, ‘हैन हो दाइ, यसो हेर्नलाई मात्रै आ... पैसा, डलर । सब पैसा यो जलेको ।’ यी भिडियो एआईको प्रयोग गरी बनाइएका भने होइनन् । विभिन्न तथ्य जाँचकीले यी भिडियो सत्य रहेको देखाएका छन् ।

आकाशमा पैसा उडिरहेको भिडियो पनि सामाजिक सञ्जालमा फैलिएको छ । दनदनी जलिरहेको घरबाट पैसाका नोटहरू आकाशमा उडेको भिडियो २४ भदौमै सामाजिक सञ्जालमा फैलिएको हो । यो भिडियो ‘रजन बुढाथोकी’ नामक फेसबुक प्रयोगकर्ताले अपलोड गरेका थिए । ती प्रयोगकर्ताले यो भिडियो २४ भदौको दिउँसो १२ बजेर ३९ मिनेटमा फेसबुकमा अपलोड गरेका थिए । अरू प्रयोगकर्ताले यस्तै खालका भिडियो पोस्ट गरेका थिए । ती भिडियोमा दुई विषय समान छन्– जलिरहेको घर र उडिरहेको पैसा । भिडियोमा देखिएको घर पूर्वऊर्जामन्त्री तथा कांग्रेसका नेता दीपक खड्काको हो । ती सबै भिडियो पनि ‘क्युरेटेड’ होइनन् । 

माओवादी अध्यक्ष दाहालको घरमा पनि पैसा भेटिएको भन्ने भिडियो आएका छन् । ‘राज कँडेल डट ५५’ नामक टिकटक प्रयोगकर्ताले २७ भदौको अपराह्न ४ बजेर ३८ मिनेटमा ‘प्रचण्डको घरमा पैसा’ भन्दै भिडियो पोस्ट गरेका छन् । ३ मिनेट १७ सेकेन्ड लामो भिडियोमा पैसाको बिटा जलाइएको भन्दै देखाइएको छ ।

भिडियोमा बोल्ने एक व्यक्तिले भनेका छन्, ‘जनता यहाँ भाडा दिन नसकेर, खान नसकेर भोकभोकै बसिरहेका छौं । एक हजारको नोट प्रचण्डको घरमा ओ माई गड । गरिबलाई नांगेझार गरेर यस्तो गर्न हुन्छ ।’ भिडियोमा देखिएका एक व्यक्तिले पैसाको बिटा जस्तो देखिने वस्तु फुकाल्न खोजेको पनि देखिन्छ । तर देउवा र खड्काको घरमा जस्तै जल्दै गरेका नोट भने भिडियोमा देखिएको छैन ।

नेताका घरमा पैसा देखाइएका सबै भिडियो भने सत्य होइनन् । सामाजिक सञ्जालमा कतिपय भ्रामक भिडियो पनि फैलिएका छन् । ‘ज्ञानप्रकाशकार्की’ नामका टिकटक प्रयोगकर्ताले २८ भदौको ३ बजेर ११ मिनेटमा भिडियो पोस्ट गरेका छन्, जसमा ‘शेरबहादुर देउवा हाउस यूएस डलर’ भन्दै लेखिएको छ । माटोमा लतपतिएर भिजेका नोट त्यस भिडियोमा देखिन्छ । तर त्यो भिडियो गत १४ साउनदेखि नै भाइरल भएको पाइयो । भिडियो कहाँको हो भन्ने यकिन छैन ।

देउवाको घरमा बंकर बनाएर पैसा लुकाइएको भनिएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् । एउटा भिडियोमा देउवाको घरमा ट्यांकजस्तो देखिने खाडलभित्र पैसा भएको दाबी गरिएको छ । तर त्यसलाई पुष्टि गर्ने आधार देखिँदैन ।

सम्बन्धित समाचार :

जलेको पैसामाथि अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरणको ढिलासुस्ती

पूर्वएआईजी शाह भन्छन्- ‘सूचना पाउनेबित्तिकै घर सुरक्षित राखेर छानबिन थाल्नुपर्थ्यो’

बिदाको दिन देउवा दम्पतीले कसरी पाए राहदानी ?

दया दुदराज दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully