२४ भदौमा पूर्वप्रधानमन्त्री देउवा र दाहालको घरमा आगजनी गरिँदा पैसा पनि जलेको भिडियो र तस्बिर तत्कालै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो तर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली देउवा निवासमा १२ दिनपछि र दाहाल निवासमा १४ दिनपछि मात्र पुगेर मुचुल्का बनायो।
काठमाडौँ — पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल तथा पूर्वमन्त्री दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ढिला गरी छानबिन अघि बढाएको छ । प्रदर्शनकारीले २४ भदौमा घर जलाउँदा नेपाली र विदेशी मुद्रा जलेको भनिएका भिडियो र तस्बिर सामाजिक सञ्जालमा तत्कालै छ्यापछ्याप्ती भए पनि विभागले झन्डै दुई सातापछि मात्र मुचुल्का उठाएर अनुसन्धान थालेको हो ।
प्रदर्शनकारीले २४ भदौमा कांग्रेस सभापति देउवा, केन्द्रीय सदस्य खड्का र माओवादी अध्यक्ष दाहालको घरमा तोडफोड र आगजनी गरेका थिए । त्यस क्रममा मानिसले घरभित्र गएर पैसा निकालेको र पछि नोट जलेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा राखेका थिए । भोलि–पर्सिपल्टसमेत मानिसले भग्नावशेषमा केही खोजिरहेको भिडियो पनि सार्वजनिक भएका थिए । सरकारले आगजनीको पर्सिपल्ट मात्र नेताहरूका जलेका घरबाहिर प्रहरी सुरक्षा दिएर प्रवेशमा रोक लगाएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली भने ५ असोजमा बूढानीलकण्ठस्थित देउवा र खड्काको निवास पुगेको थियो । ६ असोजमा घटनास्थापनाको बिदा परेको भन्दै खुमलटारस्थित दाहाल निवासमा भने ७ असोजमा मात्र पुगेको थियो । टोलीले भग्नावशेषबाट जलेका नोटका टुक्रा, खरानी र अरू विवरण संकलन गरेको थियो । संकलित नमुना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको विभागका एक अधिकारीले जानकारी दिए । ‘विभिन्न नेताका घरमा गड्डीका गड्डी रकम फेला परेको भन्दै सामाजिक सञ्जालबाट भिडियो र तस्बिर सार्वजनिक भएका थिए,’ उनले भने, ‘प्रारम्भिक स्क्रिनिङमा कैफियत देखिएपछि आवश्यक अनुसन्धान सुरु गरिएको छ ।’
देउवाको सचिवालयले भने सार्वजनिक भिडियोका विषयमा खण्डन गरेको छ । देउवाका स्वकीय सचिव भानु देउवाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोलकल्पित, अतिरञ्जित र भ्रामकका साथै दूषित मनसायले बदनाम गर्ने उद्देश्यले फैलाइएका हुन् ।’
दुवै पूर्वप्रधानमन्त्रीमाथि सत्ता–शक्तिमा रहेर विभिन्न भ्रष्टाचारलाई संरक्षण गरेको, अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएको छ । पूर्वप्रधानमन्त्री देउवा २०४८ देखि निरन्तर सार्वजनिक लाभको पदमा छन् । २०४८ पछिका सबै निर्वाचनमा देउवा डडेलधुराबाट विजयी हुँदै आएका छन् । २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को प्रतिनिधिसभा तथा संविधानसभा निर्वाचन उनले निरन्तर जितेका हुन । देउवा २०४८ मै गृहमन्त्री भएका थिए । त्यसयता २०५२, २०५८, २०६१, २०७४ र २०७८ गरी ५ पटक प्रधानमन्त्री बने ।
देउवा–पत्नी आरजु राणा २०६४, २०७० र २०७९ मा कांग्रेसबाट समानुपातिक सांसद थिइन् । जेन–जी विद्रोहले ढालेको केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी परराष्ट्रमन्त्री थिइन् । सार्वजनिक ठेक्का, सरुवा–बढुवा, सार्वजनिक नियुक्तिलगायतबाट सम्पत्ति आर्जन गरेको आरोप लागे पनि आरजुमाथि अनुसन्धान भएको थिएन । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पनि आरजुको नाम मुछिएको थियो । टीकापुरको जग्गा अनियमितता प्रकरणमा पनि उनको नाम आएको थियो । यी दुवै प्रकरणमा आरजुमाथि अनुसन्धान भएन ।
अर्का पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहाल २०६२/६३ को राजनीतिक परिवर्तनपछि संसदीय राजनीतिमा आएका हुन् । त्यसयता उनी तीन पटक प्रधानमन्त्री भइसेकका छन् । यस अवधिमा माओवादीले करिब एक दर्जन पटक सत्तामा साझेदारी गरेको छ । २०५२ देखि २०६२ सम्म चलेको सशस्त्र द्वन्द्वकालमा बैंक/वित्त संस्थाबाट रकम तथा सुनचाँदी लुटिएको र त्यसरी लुटिएको धन नेतृत्वबाट हिनामिना भएको भनी स्वयं माओवादी द्वन्द्वमै रहेर काम गरेका नेता/कार्यकर्ताले आरोप लगाउँदै आएका छन् । शान्ति प्रक्रियामा आएपछि माओवादी लडाकुका लागि सरकारबाट दिएको भरणपोषणबापतको रकम पनि हिनामिना गरेको आरोप छ ।
फर्जी लडाकु विवरण देखाएर सरकारी रकम हिनामिना गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले नै त्यसलाई बेरुजुमा राखेको थियो । पछि सरकारमा आएपछि महालेखाको बेरुजुलाई ‘हस्तक्षेप गरेर फर्स्योट गराएको’ आरोप उनीमाथि छ । तर यो विषयमा पनि कुनै अनुसन्धान भएको छैन । दाहाल विवादास्पद ठेकेदार शारदा अधिकारीको घरमा बस्दै आएका थिए, त्यही घरमा प्रदर्शनकारीले २४ भदौमा आगजनी गरेका हुन् ।
कांग्रेस नेता खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री हुँदा जलविद्युत् आयोजनाको लाइसेन्स दिँदा र ठेक्का लगाउँदा विवादमा तानिएका थिए । आफू अनुकूलका मानिसलाई लाइसेन्स र ठेक्का दिलाउन ‘मन्त्री क्वार्टर र मन्त्रालयमै बसेर’ चेक लेनदेन गरेको आरोप उनीमाथि थियो । त्यस्तै लैनचौरस्थित नेपाल स्काउटको जग्गा हिनामिनामा पनि उनी मुछिएका थिए । यसमा पनि सरकारी संयन्त्रबाट प्रभावकारी अनुसन्धान हुन सकेको छैन ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भ्रष्टाचारमा विषयमा अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएकी थिइन् । ‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारको सन्दर्भमा यो छोटो समयमै स्पष्ट जानकारी पाइसकेको छ, तसर्थ त्यसको आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ,’ उनले भनेकी थिइन् ।
केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला फागुन २०७४ मा प्रधानमन्त्री कार्यालय मातहत लगिएका राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत बिहीबारै फिर्ता गरिएको छ ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल भ्रष्टाचार गर्ने, कालोधनलाई सेतो बनाउने, नीतिगत निर्णयको आवरणमा राज्य स्रोत दोहन गर्ने, सरुवा–बढुवामा लेनदेन गर्ने जस्ता शंकामा रहेका सबै विषयलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताउँछन् ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धान अरू जघन्य अपराधको जस्तो जटिल नहुने र विगत तथा अहिलेको पृष्ठभूमि केलाउँदा मात्र पनि स्पष्ट खुल्ने उनको भनाइ छ । ‘अनुसन्धान गर्न लागिएको व्यक्तिको धरातल पहिले कस्तो थियो र अहिले कस्तो छ ? अनुसन्धानमा यहीबीचको ग्याप हेर्ने हो, यसबीचमा अविश्वसनीय तरिकाले जीवनशैली र आर्थिक अवस्थामा परिवर्तन आएको छ भने यसको वैध स्रोत के हो, खोजी हुनुपर्छ,’ उनी भन्छन् ।
सामाजिक सञ्जालबाट यसरी फैलियो खबर
२५ भदौको दिउँसो २ बजेर ४४ मिनेटमा ‘सिभान्डी ३’ नामक टिकटक प्रयोगकर्ताबाट एउटा भिडियो पोस्ट भएको छ, जसमा बूढानीलकण्ठस्थित देउवा निवासमा जलेका नोटहरू देखाइएको छ । भिडियोमा लेखिएको छ, ‘शेरबहादुर भ्रष्टको घरमा पैसाको सत्यानाश हेर्नॅस् । यो गरिब जनताले पाएको भए देशको हालत हुन्थ्यो ।’ भिडियोमा ती व्यक्तिले आधाआधी डढेका हजार र पाँच सयका नोट देखाएका छन् ।
११ सेप्टेम्बर अर्थात् २५ भदौको साँझ ८ बजेर ३७ मिनेटमा ‘नेपाली डट फायरफाइल्स’ नामक टिकटक प्रयोगकर्ताले ‘देउवा निवासमा भेटेको पैसा’ लेखेर भिडियो पोस्ट गरेका छन् । त्यसको भोलिपल्ट अपराह्न ४ बजेर ४५ मिनेटमा ‘भाइरलभिडियोहब ५’ नामक टिकटक प्रयोगकर्ताले पनि त्यो भिडियो पोस्ट गरेका छन् । भिडियोमा आधाआधी जलेका हजार र पाँच सयका नोट देखिन्छ । भिडियोको भ्वाइसओभरमा सुनिन्छ, ‘हैन हो दाइ, यसो हेर्नलाई मात्रै आ... पैसा, डलर । सब पैसा यो जलेको ।’ यी भिडियो एआईको प्रयोग गरी बनाइएका भने होइनन् । विभिन्न तथ्य जाँचकीले यी भिडियो सत्य रहेको देखाएका छन् ।
आकाशमा पैसा उडिरहेको भिडियो पनि सामाजिक सञ्जालमा फैलिएको छ । दनदनी जलिरहेको घरबाट पैसाका नोटहरू आकाशमा उडेको भिडियो २४ भदौमै सामाजिक सञ्जालमा फैलिएको हो । यो भिडियो ‘रजन बुढाथोकी’ नामक फेसबुक प्रयोगकर्ताले अपलोड गरेका थिए । ती प्रयोगकर्ताले यो भिडियो २४ भदौको दिउँसो १२ बजेर ३९ मिनेटमा फेसबुकमा अपलोड गरेका थिए । अरू प्रयोगकर्ताले यस्तै खालका भिडियो पोस्ट गरेका थिए । ती भिडियोमा दुई विषय समान छन्– जलिरहेको घर र उडिरहेको पैसा । भिडियोमा देखिएको घर पूर्वऊर्जामन्त्री तथा कांग्रेसका नेता दीपक खड्काको हो । ती सबै भिडियो पनि ‘क्युरेटेड’ होइनन् ।
माओवादी अध्यक्ष दाहालको घरमा पनि पैसा भेटिएको भन्ने भिडियो आएका छन् । ‘राज कँडेल डट ५५’ नामक टिकटक प्रयोगकर्ताले २७ भदौको अपराह्न ४ बजेर ३८ मिनेटमा ‘प्रचण्डको घरमा पैसा’ भन्दै भिडियो पोस्ट गरेका छन् । ३ मिनेट १७ सेकेन्ड लामो भिडियोमा पैसाको बिटा जलाइएको भन्दै देखाइएको छ ।
भिडियोमा बोल्ने एक व्यक्तिले भनेका छन्, ‘जनता यहाँ भाडा दिन नसकेर, खान नसकेर भोकभोकै बसिरहेका छौं । एक हजारको नोट प्रचण्डको घरमा ओ माई गड । गरिबलाई नांगेझार गरेर यस्तो गर्न हुन्छ ।’ भिडियोमा देखिएका एक व्यक्तिले पैसाको बिटा जस्तो देखिने वस्तु फुकाल्न खोजेको पनि देखिन्छ । तर देउवा र खड्काको घरमा जस्तै जल्दै गरेका नोट भने भिडियोमा देखिएको छैन ।
नेताका घरमा पैसा देखाइएका सबै भिडियो भने सत्य होइनन् । सामाजिक सञ्जालमा कतिपय भ्रामक भिडियो पनि फैलिएका छन् । ‘ज्ञानप्रकाशकार्की’ नामका टिकटक प्रयोगकर्ताले २८ भदौको ३ बजेर ११ मिनेटमा भिडियो पोस्ट गरेका छन्, जसमा ‘शेरबहादुर देउवा हाउस यूएस डलर’ भन्दै लेखिएको छ । माटोमा लतपतिएर भिजेका नोट त्यस भिडियोमा देखिन्छ । तर त्यो भिडियो गत १४ साउनदेखि नै भाइरल भएको पाइयो । भिडियो कहाँको हो भन्ने यकिन छैन ।
देउवाको घरमा बंकर बनाएर पैसा लुकाइएको भनिएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् । एउटा भिडियोमा देउवाको घरमा ट्यांकजस्तो देखिने खाडलभित्र पैसा भएको दाबी गरिएको छ । तर त्यसलाई पुष्टि गर्ने आधार देखिँदैन ।
