मृतक प्रहरीका परिवारले सापट लिएर अन्तिम संस्कार गरे

जेन–जीको अगुवाईमा भएको आन्दोलन पछिको प्रदर्शनका क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हवलदार अमृत गुरुङले ज्यान गुमाएका थिए  ।

आश्विन ६, २०८२

विवेक पोख्रेल

The family of the deceased policeman carried out the last rites

काठमाडौँ — सिन्धुली घर भएका प्रहरी सहायक निरीक्षक मिलन रायका आफन्तले आर्थिक र पारिवारिक कारणले गाउँ लगेर अन्तिम संस्कार गर्न सकेनन् । अहिले उनको परिवारले सापटी लिएर काजकिरिया सकेको छ ।

सिन्धुलीको दुधौली नगरपालिका–८ का मिलनले डेढ वर्षकै उमेरमा बुबा गुमाएका थिए । ब्लड क्यान्सरले बुबाको मृत्यु भएपछि विक्षिप्त भएकी आमाले पनि केही महिनामै ज्यान गुमाएपछि उनी अभिभावकविहीन भएका थिए । उनी काकाको हेरचाहमा हुर्किएका थिए । 

चार महिना अघिमात्र श्रीमती मंगला श्रेष्ठलाई ऋण खोजेर उनले जापान पठाएका थिए । उनको परिवारले अहिले पनि महिनाको ४० हजार रुपैयाँ किस्ता तिरिरहनु परेको छ ।

मृतक रायका काका केशव रायका अनुसार काठमाडौंको पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्दा प्रहरी कल्याण कोषबाट ४० हजार रुपैयाँ पाए पनि अन्य सहयोग कहीँबाट नपाएको सुनाए ।

‘पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि प्रहरी कल्याण कोषबाट ४० हजार सहयोग प्राप्त भएको थियो । तर ५० हजार रुपैयाँ आर्यघाटमै खर्च भयो,’ काका केशवले भने, ‘धार्मिक विधिअनुसार काजकिरिया गर्दा साढे दुई लाख रुपैयाँ खर्च भएको छ । गाउँघरमा सरसापट मागेर चलिरहेका छौं ।’

मिलनको हत्यामा संलग्नलाई कारबाही र राज्यबाट सहयोग पाइन्छ कि भनेर उनको परिवार सिन्धुलीबाट सोमबार काठमाडौं आएको छ ।

३० वर्षीय मिलन २०७४ सालमा प्रहरी सहायक निरीक्षक पदमा भर्ना भएका थिए । प्रहरी वृत्त महाराजगन्जमा अपराध अनुसन्धान तथा कारबाही शाखामा काजमा कार्यरत रहेका उनलाई २४ भदौमा सादा पोसाकमै रहेका बेला प्रदर्शनकारीले डिएसपी भन्दै कुटेर हत्या गरेका थिए । मिलनलाई सडकमा घिसारेर, लात्तीले हानेर उनको ज्यान लिएको फोटो भिडियो सामाजिक सञ्जालमै छ ।

प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको परिवारको कथा पनि उस्तै छ । उनको शव पनि आर्थिक समस्याका कारण गाउँ लगेर अन्त्येष्टि गर्न सकेन । पशुपति आर्यघाटमा प्रहरी कल्याण कोषबाट दिएको ४० हजारबाहेक अन्य सहयोग यो परिवारले पाएको छैन । थापाका भाइको ७ महिनाअघि मात्र भीरबाट खसेर मृत्यु भएको थियो । दुई सन्तानकी आमा अहिले गाउँमा एक्ली भएकी छन् । उत्तमका बुबाको मधुमेहका कारण पहिले नै मृत्यु भएको थियो । उत्तमकै जागिरले उनको घर चल्दै आएको थियो ।

दार्चुला लेकम गाउँपालिका–३ गुमाखोली घर भएको थापा परिवारमा उब्जनीले पुग्ने जमिनसमेत छैन । मृतक थापाकी आमाका अनुसार गाउँमा रासन किनेकोदेखि अन्य घरखर्चको पैसासमेत तिर्न बाँकी छ ।

अहिले उत्तमको अन्तिम संस्कारको खर्च उनका काकाहरूको सहयोगमा गरिएको आमाले बताइन् । ३० वर्षीय उत्तम ९ वर्षदेखि प्रहरी सेवामा थिए ।

प्रहरी प्रभाग कोटेश्वरमा सेवामा रहेकै समयमा मृत्यु भएका ३१ वर्षीय प्रहरी सहायक हवलदार अमृत गुरुङको परिवारले पनि सरसापट गरेर अन्तिम संस्कार सकेका छन् । ‘गुरुङ समुदायको संस्कार अनुसार गर्नुपर्ने काम अझै छन्,’ अमृतको श्रीमती शान्ति गुरुङले भनिन्, ‘अहिलेसम्म १ लाख रुपैयाँ खर्च भएको छ । छिमेकीसँग सापट लिएर संस्कारको काम गरेका हौं ।’

कास्की रूपा गाउँपालिका–५ का अमृत परिवारको एक्लो छोरा थिए । अमृतकी आमाको ९ महिना अघिमात्र ब्रेन ह्यामरेजबाट मृत्यु भएको थियो । परिवारमा त्यो समयको ऋण पनि गुरुङ परिवारमा छ । अमृतको २२ महिनाको छोरासहित घरमा बाजे, बुबा, श्रीमती छन् । उनी १५ असोज २०७० मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

२३ र २४ भदौमा जेन–जीको अगुवाईमा भएको आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा उनीहरूमा प्रहरी वृत्त महाराजगन्जका प्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हवलदार अमृत गुरुङसहित तीन प्रहरीले ज्यान गुमाएका थिए  ।

यता प्रहरी प्रधान कार्यालयले आईजीपीदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टी गरेर उक्त मृतक प्रहरीका परिवारलाई परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरे पनि दिएको छैन । परिवारका कमाउने सदस्यकै मृत्यु भएपछि अहिले परिवारले ऋण खोजेर उनीहरूको अन्तिम संस्कार गरिरहेको छ ।

आइतबार मृतकका आफन्तले गृहमन्त्री ओमप्रकाश अर्यालको ध्यानाकर्षण गराउँदै मृतकका परिवारले ऋण गरेर काजकिरिया गरिरहेको गुनासो गरेका थिए । जेन–जी आन्दोलनका मृतक तथा पीडित परिवार संर्घष समितिका संयोजक कमल सुवेदीले किरिया खर्च अन्त्येष्टिको भोलिपल्ट पाउनुपर्ने भए पनि हालसम्म नपाएको गुनासो गरे ।

‘गाउँमा सहिद परिवार ऋण लिएर काजकिरिया गर्न बाध्य छन् । समुदाय अनुसार मृतकको ७, १३, २१ र ४५ दिनमा मलामी आएकालाई चोख्याउने र खुवाउनुपर्छ,’ उनले भने, ‘तामाङ समुदायको त प्रत्येक पटक ५–६ जना लामा राखेर पूजा गर्नुपर्छ ।’ गृह मन्त्रालयका सहायक प्रवक्ता रवीन्द्र आचार्यले करिया खर्चलगायत रकम दिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई मृतकको हकवाला यकिन गरी मन्त्रालयमा सूचि पठाउन पत्राचार गरिसकेको बताए ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully