प्रहरी जवान उत्तम थापाको मंगलबार जेन–जीको अगुवाईमा भएको आन्दोलन पछिको प्रदर्शनका क्रममा कुटपिटमा परेर मृत्यु भएको हो । उनका भाइ सात महिना अघि घाँसदाउरा गर्दा भीरबाट खसेर बितेका थिए । दुई सन्तानकी उनकी आमा अहिले गाउँमा एक्ली भएकी छिन् ।
काठमाडौं — सुदूरपश्चिम प्रदेशको दार्चुला लेकम गाउँपालिका ३, गुमाखोली घर भएका प्रहरी जवान उत्तम ९ वर्षदेखि प्रहरी सेवामा थिए । मंगलबार जेन–जीको अगुवाईमा भएको आन्दोलन पछिको प्रदर्शनका क्रममा कुटपिटमा परेर मृत्यु भएको हो । उनी घरका जेठा सन्तान थिए ।
७ महिना अघिमात्र घाँसदाउरा गर्ने क्रममा भाइको मृत्यु भएपछि घरको सबै जिम्मेवारी उनको काँधमा आएको थियो । ‘४ दिनपछि घर आउँछु भनेर जानकारीसमेत गराएका रहेछन्,’ उनको वडाका अध्यक्ष सुरेश थापाले भने, ‘आन्दोलनकै दिनपनि साथीभाइहरुसँग आफू सुरक्षित रहेको भनेर फोन गरेका थिए रे, पछि मृत्युको खबर आयो । ’
nथापाकै जागिरले उनको घर चल्दै आएको थियो । थापाका बुबा सुगरका कारण पहिले नै मृत्यु भएको थियो । श्रीमानसँगै दुवै छोरा गुमाउँदा थापाको आमा बोल्न सक्ने अवस्था छैनन् । उनीहरू गाउँमा कच्ची घर छ भने उब्जनी गरेर खान पुग्ने जमिनसमेत नभएको अध्यक्षले थापाले बताए ।
