काठमाडौँ — जेन–जीको अगुवाईमा भएको आन्दोलन पछिको प्रदर्शनका क्रममा मंगलबार मृत्यु भएका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय सात वर्षदेखि नेपाल प्रहरीको सेवामा थिए । ब्लड क्यान्सरका कारण बुबाको मृत्यु भएपछि उनकी आमा पनि त्यही चिन्ताका कारण मानसिक तनावमा पुगेकी थिइन् । यही कारण मिलन डेढ वर्षकै उमेरमा बुबाविहीन हुनु पर्यो ।
nnकाका केशव रायले अभिभावको जिम्मेवारी लिँदै उनलाई ब्याचलरसम्म पढाए । सिन्धुलीको लदाभिर गा.वि.स. वडा नम्बर ६ अहिलेको दुधौली नगरपालिका वडा नम्बर ८ का मिलन पढाइमा तेज थिए । एसएसलीमा प्रथम श्रेणिमा पास भएपछि काका केशव रायले काठमाडौं ल्याएर ११ र १२ पढाए । पुष्पलाल मेमोरियल कलेज काठमाडौंमा व्यवस्थापन विषय पढेको उनी कलेजको टपर पनि हुन् । त्यसपछि उनी २०७४ सालमा प्रहरी सहायक निरीक्षक पदमा २०७४ सालमा नियुक्ति लिएपछि अहिले प्रहरी वृत्त महाराजगन्जमा अपराध अनुसन्धान तथा कारबाही शाखामा कागजमा कार्यरत थिए । उनको इलाका प्रहरी कार्यालय रामेछापमा दरबन्दी हो ।
nnउनीमाथि आक्रमण भएको दिन पनि उनी सिभिल पोसाकमा नै काममा थिए । मंगलबार प्रहरी वृत्त महाराजगन्ज काठमाडौंमा आगो लगाउने र प्रहरीलाई कुटपिट गर्ने समूहले उनलाई मारेको भन्दै उनका काका जाहेरी दरखास्त पनि हालेका छन् । ‘मैले २ बजेतिर छोरा मिलनलाई फोन गरेको थिएँ । उसले भन्दै थियो– म सुरक्षित छु । सटरभित्र बसेको छु,’ काका केशव रायले भने,‘ त्यसको केहीबेरमा ऊ मरेको खबर पाएँ । उसलाई सडकमा घिसारेर, लात्तीले हानेर मारेको फोटो भिडियोमा देखिन्छ । न्यायका लागि जाहेरी दर्ता गरेका छौं ।’ मिलनले एक वर्षअघि मात्र बिहे गरेका थिए । उनको श्रीमती अध्ययनका लागि ४ महिनाअघि मात्र जापान पुगेकी थिइन् । तीन दाजुभाइमध्ये कान्छा छोरा हुन् मिलन । उनको पारिवारिक पृष्ठभूमिसमेत सामान्य छ । उनलाई चिन्नेहरू उनी पेसामा इमानदार प्रहरी हुन् ।
