तोडफोड र आगजनीबाट ध्वस्त भएका कार्यालय पुनः सञ्चालनका लागि केही ठाउँमा स्थानीयको सक्रियतामा सरकारी सेवा सञ्चालनमा ल्याइएको छ भने कतै बचेका संरचनाबाट अत्यावश्यक काम गर्न थालिएको छ ।
What you should know
विराटनगर, सिरहा, काभ्रे,धनगढी — भदौ २३ मा काठमाडौंलगायतका स्थानमा जेन–जीले अह्वान गरेको आन्दोलनमा भएको प्रहरी दमनको विरोधमा भोलिपल्ट देशभर भड्किएको प्रदर्शनमा क्षति पुगेका सरकारी कार्यालयहरू तंग्रिने प्रयासमा छन् । तोडफोड र आगजनीबाट ध्वस्त भएका कार्यालय पुनः सञ्चालनका लागि केही ठाउँमा स्थानीयको सक्रियतामा सरकारी सेवा सञ्चालनमा ल्याइएको छ भने कतै बचेका संरचनाबाट अत्यावश्यक काम गर्न थालिएको छ ।
भदौ २४ मा प्रदर्शनकारीबाट कोशी प्रदेशमा अर्बौँका संरचना एकैदिन खरानी भए । झापा, सुनसरी, इलामलगायत पूर्वी पहाडसम्मै फैलिएको प्रदर्शनमा आगजनी र लुटपाट समेत भयो । प्रदेशका यी कार्यालयहरू बिस्तारै तङ्ग्रिन थालेका छन् । भौतिक संरचना जलेर नष्ट भएपछि कसैले बचेको एउटा कोठाबाट त कसैले भाडाका कोठाबाट सेवा सुचारु गरेका छन् ।
प्रदर्शनकारीबाट सबैभन्दा ठूलो प्रहार प्रदेशसभा सचिवालयमाथि भयो । जहाँ लोकतान्त्रिक अभ्यासका ऐतिहासिक साक्षी बनेका कागजात, उपकरण, भवन र सभा हल खरानी बने । २०७७ असोज १ मा तत्कालीन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले शिलान्यास गरेको भवन २०७८ असोज २० मा तत्कालीन मुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरेका थिए । यो करिब ५ करोड बढी लागतमा बनेको थियो । ‘पक्की संरचना र फलामबाहेक केही बाँकी रहेन’, प्रदेश सचिवालयका सूचना अधिकारी निरोज ढकालले भने । कोशीमा मुख्यमन्त्री कार्यालयसहितका मन्त्रालय, जिल्ला प्रशासन, अदालत, भन्सार कार्यालय र स्थानीय तहका भवनहरूलाई पनि प्रदर्शनकारीले निशाना बनाए । प्रदेश प्रमुखको कार्यालयमा भने कुनै क्षति भएन ।
प्रदेश सभा सचिवालय अहिले प्रदेश पुनर्निर्माणको प्रतीकजस्तै देखिन्छ । पूर्ण रूपमा जलेको सभा हल अझै कालो धुवाँको गन्ध बोकेर उभिएको छ । तर त्यसकै पश्चिमपट्टि रहेको संसदीय पत्रकार मञ्चको सानो ‘मिडिया सेन्टर’ अहिले संसदीय गतिविधिको अस्थायी केन्द्र बनेको छ ।
यो भवनमा आगजनी भए पनि पूर्ण रूपमा जल्न पाएन । आंशिक क्षति भएको यही भवनमा यतिबेला प्रदेश सभाले कार्य सम्पादन गरिरहेको छ ।
कर्मचारीहरूले कोठा सफा गरे, प्राविधिकले विद्युत् र इन्टरनेट जडान गरे, अनि जोगिएका कम्प्युटरहरू जोडेर कागजात तयार गर्न थाले । सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्य भन्छन्, ‘कार्यालय जलेर नष्ट भएपछि अस्थायी रूपमा यही कोठाबाट काम सुरु गरेको छौं ।’
प्रदेश सचिवालयपछि सबैभन्दा धेरै क्षति भएको संरचना हो, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय । प्रदेश सरकारका उच्च अधिकारीका अनुसार प्रशासनिक फाइल, डिजिटल अभिलेख, बैठकका कोठा, कार्यालयका गाडी सबै जलेर नष्ट भए । तर, सचिवालयको जस्तै यहाँ पनि आकस्मिक वैकल्पिक कार्यकक्ष तयार पारिँदैछ । अन्य मन्त्रालयहरूले पनि जलेको कार्यालय नजिकै अस्थायी कोठा भाडामा लिएर वा बचेकै भागमा काम थालेका छन् । झापा, सुनसरी, मोरङ, इलामलगायतका जिल्लामा प्रशासनिक भवन जले पनि सेवा रोकिएको छैन । प्रमुख सचिव चन्द्रकला पौडेलले प्रदेशभरको प्रारम्भिक विवरण प्रस्तुत गर्दै ४२ वटा सरकारी भवन क्षतिग्रस्त भएको बताइन् । जसमध्ये १८ भवन पूर्ण रूपमा र २४ भवन आंशिक क्षतिग्रस्त छन् ।
प्रदेश सरकारको तथ्यांकअनुसार, आन्दोलनका क्रममा २ सय ३७ सरकारी सवारीसाधनमा क्षति पुगेको छ । तीमध्ये ७५ वटा चारपाङ्ग्रे सवारीमध्ये ६४ पूर्ण रूपमा जलेका छन् भने ११ मा आंशिक क्षति भएको छ । १ सय ६१ मोटरसाइकलमध्ये १ सय ४४ पूर्ण रूपमा जलेका छन् । प्रदेशभरिको क्षतिको विवरण धमाधम संकलन भइरहेको र चाँडै पूर्ण विवरण आउने प्रमुख सचिव पौडेलले बताइन् ।
उठ्दैछन् सिरहाका सरकारी कार्यालय
भदौ २४ को प्रदर्शनका क्रममा सिरहामा मात्रै ४१ वटा सरकारी कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भयो । जसमा १६ वटा प्रहरी कार्यालय नै थिए । सर्वसाधारणको नजिक मानिने स्थानीय तहका कार्यालयमा पनि व्यापक क्षति भयो । तोडफोड र आगजनी जिल्लाका १७ वटा स्थानीय तहमध्ये १० वटामा पूर्ण क्षति र २ वटामा आंशिक क्षति पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार जिल्लाभर एकै दिन एक अर्बभन्दा बढीको भौतिक सम्पत्ति क्षति भएको छ । जिल्ला प्रशासनले भदौ २६ गते एक सूचना जारी गर्दै आवश्यक समन्वय, सहजीकरण र सहकार्य गरी २९ गतेदेखि सम्भव भएसम्मको सेवा प्रवाहमा जुट्न जिल्लाभरका कार्यालयलाई निर्देशन दिएको थियो । असोज २ बाट भने जिल्ला प्रशासनले पूर्ण सेवा सुरु गर्दैछ ।
जिल्लाका अन्य कार्यालयले पनि सेवा प्रवाहको दायरा बढाउँदै लगेको सिरहाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । यस्तै, प्रदर्शनका क्रममा विस्थापित भएका सबै प्रहरी कार्यालय पुनः सञ्चालनमा आएका छन् । प्रहरी नभएपछि असुरक्षित महसुस गर्दै स्थानीयले नै प्रहरीलाई स्वागत गरी कार्यालय फर्काएको प्रजिअ अधिकारीले जनाए । यससँगै जिल्लाभर ठप्प बनेका गतिविधि बिस्तारै चलायमान बन्दै जनजीवन लयमा फर्किँदै गएको उनले बताए । ‘आन्दोलनपछि अन्योलताको स्थिति बन्यो, तर हामीसँग जे थियो, त्यसैबाट थाल्ने र उठ्ने प्रयत्न गर्यौं,’ प्रजिअ अधिकारीले भने,’अहिले जिल्लाको स्थिति क्रमशः लयमा फर्किँदै गएको छ । हामी पुरानै स्थितिमा फर्किन लागिपरेका छौं । यसमा सबैको सहयोगको अपेक्षा गर्छौं ।’
जिल्ला प्रशासनले भदौ २७ गते सूचना जारी गरी आन्दोलनका क्रममा लुटपाट गर्नेहरूको पहिचान सामाजिक सञ्जालमा स्पष्ट देखिएको भन्दै लुटिएका सामग्री फिर्ता गर्न र नगरे प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको थियो । तर लहानस्थित खाद्य संस्थानबाट लुटिएका सामग्री फिर्ता हुने क्रममा रहे पनि अन्य ठाउँबाट खासै फिर्ता नभएको भन्दै प्रजिअ अधिकारीले फिर्ता गरिदिन आग्रह गरे । आन्दोलनका नाममा राजनीतिक र व्यक्तिगत रिसइबीका कारण सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने काम भएको भन्दै यसमा संलग्नहरूको तस्बिर तथा भिडियो संकलन गरी अनुसन्धान भइरहेको प्रजिअ अधिकारीले जानकारी दिए ।
ध्वस्त संरचनाबाटै पालिकाको सेवा,स्थानीयको आश्रयमा ट्राफिक प्रहरी
भदौको २४ गते प्रदर्शनकारीले बनेपा नगरपालिका आगजनी गरेर ध्वस्त बनाए । नगरपालिकाको २ वटा प्रशासनिक भवन, १ वटा प्राविधिक शाखा सहित २ वटा सवारीसाधन जलेर नष्ट भएका छन् । भौतिक संरचनासँगै जिल्लाकै सबैभन्दा पुरानो नगरपालिका बनेपाको इतिहास पनि जलेको छ । विसं २०३८ सालमा स्थापना भएको नगरपालिकाको ४४ वर्षको इतिहास मेटिएको छ । आन्दोलनकारी नगरपालिकाको प्रशासनिक भवनमा आगजनी गर्दा कार्यालयमा भएका सबै कागजात जलेर नष्ट भएको नगर उपप्रमुख विमला सापकोटाले जानकारी दिइन् ।
‘हामीसँग सफ्टवेयरमा भएका डकुमेन्ट मात्र सुरक्षित छन्,’ उनले भनिन्, ‘अरू त केही बाँकी छैनन्, केही जलेर नष्ट भएका छन् भने केही सामग्री चोरी भएका छन्, सेफ पनि चोरी भएको छ, त्यहाँ करिब ४ लाख रुपैयाँ थियो, २९ लाखको चेक पनि हराएको छ ।’
उनका अनुसार भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण गर्न सकिन्छ । ‘वर्षौँदेखिको इतिहास अब हामीसँग छैन । जलेर नष्ट भएकालाई फिर्ता ल्याउन सकिँदैन,’ उनले भनिन्, ‘पुरातात्त्विक सम्पदाका केही सामग्री (भगवान्का मूर्तिहरू) सुरक्षाका लागि नगरपालिकामा राखिएको थियो । चण्डेश्वरी जात्रामा प्रयोग गरिने गहना पनि सुरक्षाकै लागि नगरपालिकामा राखिएको थियो, ४४ वर्षदेखिका नक्सा, महत्त्वपूर्ण कागजात सबै जलेका छन् ।’
आगजनीबाट वर्षौँदेखि न्यायको पर्खाइमा रहेकाहरूको आस पनि मरेको छ । न्यायिक समितिकी संयोजक समेत रहेकी उपप्रमुख सापकोटाका अनुसार न्यायिक समितिमा रहेका ३१ वटा मुद्दाका मिसिल जलेर नष्ट भएका छन् । २०७४ सालदेखिका न्यायिक समितिका दस्ताबेज तथा कागजपत्र केही बाँकी नरहेको र अब न्यायिक समिति शून्यबाट सुरु गर्नुपर्ने उनले बताइन् । ‘वर्षौँदेखि नगरपालिकामाथि परेका मुद्दाहरू थिए, त्यसको मिसिल अब हामीसँग छैन,’ उनले भनिन्, ‘यस विषयमा अब के गर्ने, कसरी गर्ने भन्ने पनि चिन्ताको विषय भएको छ ।’
जलेर खरानी भए पनि नगरपालिकाले आफ्नो सेवालाई बन्द गरेको छैन । नगरपालिकाले दिने कुनै पनि सेवा बन्द नगरेको बनेपाका नगर प्रमुख शान्ति रत्न शाक्यले बताए । ‘नगरपालिकाको प्रशासनिक भवन जलेर नष्ट भएको छ, त्यहाँबाट सेवा दिन सक्ने अवस्था छैन,’ उनले भने, ‘नगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा अब नगरपालिकाको वडा १० को वडा कार्यालयबाट दिइनेछ ।’
नगरपालिकाले वडा १० को कार्यालयबाट सबै सेवा प्रवाह गर्ने तयारी थालेको छ । २४ गते प्रदर्शनकारीले वडा १० को कार्यालयमा तोडफोडबाट भवनका सिसा फुटेका छन् । त्यहाँ सरसफाइको काम सकेर नगरपालिकाको सेवा बिस्तार गर्ने तयारी भइरहेको छ । वडा कार्यालय भने नजिकै सार्ने तयारी भएको उपप्रमुख सापकोटाले जानकारी दिइन् ।
भदौ २४ को प्रदर्शनमा बनेपाबाहेक पनौती नगरपालिका र पाँचखाल नगरपालिकाको भवनमा पनि तोडफोड भएको थियो ।
इलाका प्रहरी बनेपा, जिल्ला ट्राफिक प्रहरी र प्रहरी चौकी पाँचखालमा प्रदर्शनकारीले आगजनी गरे भने प्रहरी चौकी पनौती र प्रहरी चौकी हिंगुवापाटीमा आन्दोलनकारीले तोडफोड गरेको जिल्ला प्रशासन कार्यालयको विवरणमा उल्लेख छ ।
आगजनी तथा तोडफोडबाट प्रहरीहरूको आश्रयस्थल गुमेपछि स्थानीयको सहयोगमा सेवा सञ्चालन प्रयास भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार ट्राफिक प्रहरीले दिउँसो सडकबाटै सेवा दिइरहेका छन् भने रातको समयमा स्थानीयले वासस्थानको व्यवस्थापनका लागि सहजीकरण गरिदिएका छन् । ‘३०–३२ वर्ष पुरानो भवनबाटै ट्राफिक प्रहरीले सेवा दिइरहेको थियो,’ उनले भने, ‘त्यहीँ भवन पनि जलेर पूर्ण रूपमा नष्ट भएको छ, ट्राफिक प्रहरीको लागि अहिले बस्नको लागि वासस्थान पनि छैन ।’
त्यस्तै, इलाका प्रहरी कार्यालय बनेपाले साँगा प्रहरी चौकीबाट सेवा दिइरहेको इलाका प्रहरी बनेपाका प्रमुख डीएसपी रामेश्वर त्वातीले जानकारी दिए । प्रहरी चौकी पाँचखाल जलेर नष्ट भएपछि त्यहाँ नजिकै एउटा घर भाडामा लिएर प्रहरीले सेवा प्रवाह सुचारु गरिएको प्रहरी चौकी पाँचखालका इन्चार्ज प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिए ।
आगजनीबाट इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयका २ वटा गाडी, इलाका प्रहरी कार्यालय परिसरमा रहेको बनेपा नगरपालिकाको १ वटा पानी ट्यांकर, इलाका प्रहरीको १, प्रहरी चौकी पाँचखालको ४ वटा र ट्राफिक प्रहरीको १ वटा गरी ६ वटा मोटरसाइकलमा प्रदर्शनकारीले आगजनी गरेका थिए । त्यस्तै, इलाका प्रहरी कार्यालयमा अनुसन्धानमा रहेका ४ वटा गाडी र १५० वटा मोटरसाइकल, ट्राफिक प्रहरीले कारबाहीका लागि राखेको २ वटा मोटरसाइकल र १ वटा एम्बुलेन्समा आगजनी भएको प्रहरीले जनाएको छ । त्यस्तै, बनेपामा रहेको १ वटा, धुलिखेलमा रहेको २ वटा, कुशादेवीमा रहेको १ वटा र पनौतीमा रहेको १ वटा प्रहरी बिटमा पनि तोडफोड भएको प्रहरीले जानकारी दिएको छ ।
अत्यावश्यक सेवा सञ्चालनको प्रयासमा कैलालीका पालिका
प्रदर्शनका क्रममा ध्वस्त बनाइएका कैलालीस्थित विभिन्न कार्यालयहरूमा सरसफाइ गरेर अस्थायी रूपमा पुनः सञ्चालनको प्रयास सुरु गरिएको छ । कैलालीको गोदावरी नगरपालिका कार्यालयका कर्मचारीहरू बुधबार बिहानैदेखि सरसफाइमा जुटेका छन् । नगरपालिकाबाट अत्यावश्यक सेवा सञ्चालनमा ल्याउन प्रयास भइरहेको प्रशासकीय अधिकृत शिवराज भाटले बताए ।
यस्तै, पालिका भवनसहित सम्पूर्ण वडा कार्यालय ध्वस्त भएको घोडाघोडी नगरपालिका १ ले वैकल्पिक भवनमा कार्यालय राखेर बिहीबारदेखि राजश्व संकलन, नागरिकता सिफारिसलगायतका अत्यावश्यक कार्य सुरु गर्ने वडाध्यक्ष घनश्याम ओझाले बताए ।
सबै वडा कार्यालयसहित आगजनी गरिएको कैलारी गाउँपालिकाले पालिका भवनमा वैकल्पिक व्यवस्था गरेर सामाजिक सुरक्षा सम्बन्धितका काम सुरु गर्न लागिएको जनाएको छ ।
जिल्ला अदालत कैलालीका कर्मचारी पनि दुई दिनदेखि नै सरसफाइ कार्यमा जुटिरहेका छन् । यता मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पनि कर्मचारीहरूले सरसफाइ सुरु गरेका छन् । आगजनीबाट पूर्ण रूपमा क्षति भएको धनगढीस्थित त्रिनगर भन्सार कार्यालय सरसफाइ गरेर अत्यावश्यक सेवा सुरु गरिएको भन्सार प्रमुख अनन्तप्रसाद तिम्सिनाले बताए ।
