साउदी अरबमा अर्का नेपालीले पाए मृत्युदण्ड

तीनै तहका अदालतको फैसलालाई दमाम जेल प्रशासनले कार्यान्वयन गर्दै गत जेठ १९ गते सोमबार बिहान ७ : ५९ बजे मृत्युदण्ड दिएको हो। साउदीमा नेपालीले मृत्युदण्ड पाएको यो पहिलो घटना भने होइन।

भाद्र १६, २०८२

होम कार्की

Another Nepali got death penalty in Saudi Arabia

What you should know

काठमाडौँ — आफ्नै दुई नेपाली सहकर्मीको हत्या गरेको ठहर गर्दै साउदी अरबमा मृत्युदण्डको सजाय सुनाइएका कास्कीका ४५ वर्षीय पुष्पराज रानाभाटलाई साउदी सरकारले मृत्युदण्ड दिएको छ ।

तीनै तहका अदालतको फैसलालाई दमाम जेल प्रशासनले कार्यान्वयन गर्दै गत जेठ १९ गते सोमबार बिहान ७ : ५९ बजे मृत्युदण्ड दिएको हो। साउदीमा नेपालीले मृत्युदण्ड पाएको यो पहिलो घटना भने होइन।

हत्याको घटना दुइ वर्ष अघिको हो । साउदी अरबको दमामस्थित तल्लो अदालतका अनुसार पुष्पराजले एउटै कोठामा बस्दै आएका ५० वर्षीय भाग्यनारायण राय र ४४ वर्षीय सरोजकुमार झाको २०८० असोज २ गते हत्या गरेका थिए। राय र झा दुवै महोत्तरीका हुन्। यही मुद्दामा तल्लो तहको मृत्युदण्ड दिने फैसलालाई उच्च र सर्वोच्च अदालतले सदर गरेका थिए ।

यो घटनामा पुष्पराजले कसरी हत्या गरेका थिए, घटनाको पृष्ठभूमि के थियो भन्नेबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। यस घटनाबारे जानकार परराष्ट्र मन्त्रालयका एक अधिकारीले आपसी विवादमा हत्याको घटना भएको बताएपनि अरु विस्तृत विवरण बताउन चाहेनन्  ।

साउदीमा सार्वजनिक कानुन अनुसार मृत्युदण्डको सजाय  सुनाएपछि पीडित पक्षले 'ब्लडमनि' लिएर माफी दिन सक्ने ब्यवस्था छ । तर, औपचारिक रुपमा यो मुद्दामा पीडित र पीडकबीच कुरा नै भएन । उनीहरु तीनै जना सामान्य श्रमिक थिए ।

साउदी अरबमा मृत्युदण्डको फैसला कार्यान्वयन गर्नुअघि व्यक्तिसँग अन्तिम इच्छा सोध्ने प्रचलन छ ।  साउदी सरकारले त्यहाँस्थित नेपाली दुतावासलाई पठाएको पत्रमा रानाभाटले पोखरामा रहेको आफ्नो सम्पत्ति श्रीमती र छोरालाई दिन अन्तिम इच्छा राखेको कुरा उल्लखे छ । साउदीका लागी नेपाली राजदुत नरेश विक्रम ढकालले मृत्युदण्डको सजाय कार्यन्वयन भइसकेपछि मात्रै दुतावासले यसबारे औपचारिक जानकारी पाएको बताए ।  Another Nepali got death penalty in Saudi Arabia

मृत्युदण्ड पाएकाहरुको शव परिवारलाई दिने व्यवस्था साउदी कानूनमा छैन् । यसअघि २०७९ कार्तिक ६ गते १५ वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृत्युदण्डको सजाय कार्यान्वयन भएको थियो ।

दाहालले २ फेब्रुअरी २००७ मा मोरङका आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए । त्यस घटनामा गम्भीर घाइते भएका सुडानी नागरिकको दुवै आँखामा क्षति पुगेको थियो । मृत्युदण्डपछि विवेकको शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको थियो ।

Another Nepali got death penalty in Saudi Arabia२०८० जेठ दोस्रो साता  २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा रहेका मोदी गाउँपलिका–४ खुइजेरी, पर्वतका सन्तबहादुर पुनले मृत्युदण्डको सजाय पाएका थिए । उनीमाथि साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्याको अभियोग लागेको थियो । 

साउदी अरबले २०२३ मा १ सय ७२ जनालाई मृत्युदण्ड दिएको थियो । सन् २०२२ को तुलनामा उक्त संख्या केही कम हो । सन् २०२२ मा १ सय ९६ जनालाई मृत्युदण्ड दिइएको थियो । तर यस वर्षको तथ्यांक भने निकै उकालो लागेको छ । 


२०१७ जुन २१ मा युवराज बनेका मोहम्मद बिन सलमानले सन् २०२२ मा साउदी अरबलाई नयाँ खुला राज्य बनाउने योजना अघि सारेका थिए । ‘एमबीएस’ का रूपमा चिनिने सलमानले योजनाअन्तर्गत हत्याका मुद्दामा बाहेक मृत्युदण्डको सजाय हटाइएको दाबी गरेपनि साउदी अरबमा मृत्युदण्डका घटनामा कमी आएको छैन् । 

एमबीएसमाथि सन् २०१८ मा साउदी पत्रकार जमाल खसोग्गीको हत्या आरोप लागेको छ । खसोग्गीको टर्कीको इस्तानबुलस्थित वाणिज्य दूतावासमा हत्या भएको थियो । उक्त घटनापछि साउदी अरब र यसका शासक एमबीएसले अन्तर्राष्ट्रिय समुदायले चर्को निन्दा सामना गर्नुपरेको थियो । 

सम्बन्धित अन्य समाचार 

साउदीमा मृत्युदण्डको मुखमा पुगेका नेपालीहरू

साउदीमा मृत्युदण्ड पर्खिरहेका साहिल

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully