रियाद (साउदी अरब) — टाउको काटेर २४ घन्टा झुन्डाउन आदेश दिइसकेका लग्मा पर्सा, धनुषाका उमेश यादवको सजाय जुन बेला पनि कार्यान्वयन हुन सक्छ। अदालतबाट आदेश दिइसकेको चार वर्ष भइसकेको छ। पाकिस्तानी नागरिकको हत्या गरेको मुद्दामा मृत्युदण्ड पाएका उनलाई नेपाली र पाकिस्थानी दूतावासले परिवारसँग सहमतिको प्रयास भइरहेकाले कार्यान्वयनमा रोकिएको पनि निकै भइसक्यो।
यादवजस्ता हत्या अभियोगमा मृत्युदण्ड पाउने सूची दूतावाससँग लामै छ। ‘सजाय कार्यान्वयन आउँछ कि भन्ने डर छ,’ राजदूत उदयराज पाण्डे भन्छन्, ‘पीडित परिवार सहमतिमा आउन मानेका छैनन्।’
माफ नदिए मर्न तयार
केङु ९, पर्बतका शान्तबहादुर पुन हत्या अभियोगमा १४ वर्षदेखि साउदीको जोर्डनको बोर्डरसँग जोडिएको गुरिएयता जेलमा छन्। बाख्रा चराउँदै आएका पुनले जबर्जस्ती बाख्रा लिन आइपुगेका साउदी नागरिक उदा आएद होमद अल सरारीलाई हत्या गरेका थिए। ‘सरारी सधैं जबर्जस्ती बाख्रा लिएर जान्थे। साहुलाई नदिनु भन्ने गथ्र्यो। एक दिन छोरासहित आयो। मैले दिइनँ। मलाई मार्ने धम्की दिंदै गाडीमा हालेर मरुभूमिमा छोडिदिने भनेर अगाडि बढ्यो,’ पुनले बयान दिएका छन्, ‘यसै मर्ने त हो नि भनेर सरारीको हत्या गरिदिएँ।’
अदालतले त्यतिखेरै मृत्युदण्डको सजाय सुनाएको थियो। तर, सरारीको कान्छा छोरा १८ वर्ष पुगेपछि राय लिई मात्रै सजाय कार्यान्वयन गर्ने आदेश थियो। कान्छा छोरा १८ वर्ष पुगिसकेको छ। दूतावासले माफीको प्रयास गर्न तत्कालीन उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेलाई पीडित परिवार, अदालतसँग पठाएको थियो। पीडित पक्षबीच विषय नमिलेपछि सजाय कार्यान्वयन हुन सकेको छैन। ‘जेठो छोरा माफी दिने पक्षमा छन्। कान्छा छोरा र काका भने मृत्युदण्ड दिनुपर्ने पक्षमा छन्’, राजदूत पाण्डेले भने, ‘यो मुद्दालाई हेर्न स्थानीय नेपालीलाई जिम्मा दिएका छौं। सम्भाव्यता आममाफीमा जान्छ होला।’ जेलमै काम गरेर परिवारलाई धान्दै आएका पुन भने निर्णय गर्नुपर्ने अडानमा छ। ‘कि मलाई मृत्युदण्ड दिनुपर्यो। मर्न तयार छु,’ पुन भन्छन्, ‘होइन भने आमाफी दिनुपर्यो। अब थप लामो समय पर्खन सक्तिनँ।’
कतै माफी, कतै सजायकै पक्षमा
६ वर्षअगाडिदेखि हत्या अभियोगमा जेल सजाय पाउँदै आएका पर्वतकै उत्तम कुँवरलाई मृत्युदण्डको सजायबाट मुक्त गरी स्वदेश पठाइदिने फैसाला २३ असारमा गरिदिएको छ। कुँवरले साथी विष्णु घिमिरेको हत्या गरेको भनेर मुत्युदण्ड पाएका थिए। तर, उसले हत्याको जिम्मेवारी लिएको भने छैनन्। लामो प्रयासपछि पीडित परिवारले ब्लड मनीबापत ११ लाख रुपैयाँ लिएर माफी दिएपछि अदालतले आममाफी दिएको हो। उनी अब केही दिनमा स्वदेश फिर्नेछन्।
दूतावासका अनुसार मृत्युदण्ड पाएका विवेक दाहाललाई पीडित परिवारको तर्फबाट माफी दिइसकेको छ। अदालतले माफी दिने प्रतीक्षामा छ। ऊँट हेर्दै आइरहेका दाहालले आफन्त राजेन्द्र बिष्टको हत्या गरेका थिए। अर्का सुडानी भने गम्भीर घाइते भएका थिए। प्रहरीले दाहाललाई बिष सेवन गरेको अवस्थामा मरुभूमिमा फेला परेको थियो। ‘आत्मग्लानि भएर घटना घटेको देखिन्छ’, पाण्डेले बताए, ‘दुईजनालाई हत्या गरी आफू आत्महत्या गर्न लागेको रहेछ। सुडानी र दाहालको उद्धार मालिकबाट भयो।’
गोरखाका धु्रव गुरुङ पनि पाकिस्तानीको हत्या अभियोगमा जुबेल जेलमा छन्। आफ्नो प्रतिरक्षाका लागि हत्या हुन पुगेको बयान दिएपछि प्रमाण गुरुङकै पक्षमा दरिलो बनेको छ।
पर्वतका कृष्ण कुस्मेलीका पीडित परिवार भने कुनै हालतमा पाल्पाका दिलबहादुर विकलाई माफी दिने पक्षमा छैन्। पीडित परिवारलाई मनाउन धेरै प्रयास भए पनि पीडित पक्ष विकलाई मृत्युदण्ड हुनुपर्ने अडानमा छन्। एउटै कम्पनीमा काम गर्ने र एउटै कोटामा काम गर्ने विकले कृष्णलाई सुतिरहेको अवस्थामा हत्या गरिदिएका थिए। ‘घर बिदामा गएको बेला कृष्ण पुनले पठाएको कोसेली पुर्याउन पुनको घरमा गएका रहेछन्। पछि गाउँका साथीले गलत सूचना पुनलाई दिएछन्,’ पाण्डेले भने, ‘नबुझी साथीको हत्या हुन गयो।’ घटना मिलाउन परराष्ट्र, मानवअधिकार, सभासद लागे पनि सकिएको छैन। ‘परिवार नमानेपछि ६ वर्षअघिको यो सजाय कार्यान्वयन हुन पनि सक्छ,’ पाण्डेले भने।
ज्यान मुद्दा खेप्ने ड्राइभरहरू
१९ जुन २०१३ देखि कर्मैया—५, सल्र्लाहीकी विष्णुहरि पाण्डे रियादस्थित मलाज जेलमा छन्। सामान लिएर जाने क्रममा पाण्डेले चलाएको गाडीको ठक्करबाट एकजना साउदीको घटनास्थलमै ज्यान गयो। पाण्डेको रगत परीक्षण गर्दा मदिरा सेवन गरेको प्रमाणित भएपछि अदालतले क्षतिपूर्तिबापत ३ लाख रियाल दिनुपर्ने फैसला सुनाएको छ। ‘बिदाको दिनमा थोरै रक्सी खाएको थिए। राति मात्रै गाडी चलाएर हिँड्दा दुर्घटनामा परेको थियो। कम्पनीले जिम्मा लिएन,’ उनले कान्तिपुरलाई भने, ‘तोकिएको रकम तिर्न नसक्दा जेलबाट निस्कन सकेको छैन।’ खोटाङका हर्क राई पनि साढे तीन वर्षदेखि अलखुबेरास्थित खोबर जेलमा गाडीले टक्करदिंदा बच्चा मरेको मुद्दामा सजाय काटिरहेका छन्। अजिजिया कोर्टले उनलाई ३ लाख रियाल पीडित परिवारलाई बुझाएपछि मात्रै जेलबाट निस्कन पाउने सजाय सुनाएको छ। उनी दुर्घटनापछि भागेका थिए।
धनुषा पस्पलपुरका सञ्जीव यादव ३ वर्षदेखि नै दमामस्थित अलहासा जेलमा छन्। कम्पनी मालिकले सँगै कार्यरत भारतीय नागरिक मोहम्दिन शाहिरलाई पुर्याउन पठाउँदा बाटैमा गाडी दुर्घटना हुँदा शाहिरको ज्यान गएको थियो। लाइसेन्स नभई गाडी चलाएको भन्दै अदालतले यादवलाई दोषी देखाइदिए। यादवले पीडित परिवारलाई ९६ हजार रियाल बुझाएपछि मात्रै जेलबाट निस्कन सक्छन्। टीबी रोगबाट ग्रसित यादवको उपचार भइरहेको छ।
६ वर्ष ३ महिनादेखि बंगालीलाई मारेको अभियोगमा सुरेश मण्डल जुबेल जेलमा छन्। पीडित पक्षले ५ लाख बंगाली रकम मागेको छ। सुरेशले चलाएको गाडीले ठक्कर दिँदा बंगाली नागरिक फिकुल इस्लामको ज्यान गएको थियो। ‘गाडीचालक दोषी भएमा सबै सजाय दिइने गरेको छ,’ राजदूत पाण्डेले भने, ‘माफी दिन हामीले सरकारलाई अनुुरोध त गरेका छौं। प्रयास पनि गरिरहेका छौं।’
