काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बिहानै बस्तीका संरचनामा डोजर चलाउन थालेपछि आक्रोशित स्थानीयले विरोधमा ढुंगामुढा प्रहार गरेका थिए ।
What you should know
काठमाडौँ — चार दिनमा कुवेतमा १६ नेपाली श्रमिकको मृत्यु, न्याय परिषद्ले गर्यो उच्चका ८८ र जिल्लाका १२२ न्यायाधीशको सरुवा, मनोहराको सुकुमवासी बस्तीमा महानगरले डोजर चलाएपछि झडप, बागमतीका नवनियुक्त ५ मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णतादेखि पश्चिम बंगालमा तीर्थयात्री सवार बस दुर्घटना : १० जनाको मृत्यु, ३५ घाइतेसम्मका खबर चर्चामा रहे ।
0000
पछिल्ला चार दिनमा मात्रै कुवेतमा कार्यरत १६ नेपाली श्रमिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार मृत्यु भएकाहरुको पोस्टमार्टम रिपोर्ट नआइसकेकाले मृत्युको यकिन कारण खुल्न सकेको छैन । दूतावासका अनुसार मृत्यु हुने सबैजसो कामदारहरू सुलेमिया क्षेत्रमा रहेको विभिन्न कम्पनीमा कार्यरत थिए । अस्वस्थ भएका १५ नेपाली श्रमिकको भने विभिन्न चार अस्पतालमा उपचार भइरहेको छ ।
0000
न्याय परिषद्ले जिल्ला र उच्च अदालतका न्यायाधीशहरुको ठूलो संख्यामा सरुवा गरेको छ । १२२ जिल्ला न्यायाधीश र उच्च अदालतका ८८ न्यायाधीशको सरुवा भएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको परिषद्को बैठकले सरुवा गरेको हो । परिषद्मा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री, प्रधानमन्त्रीको सिफारिस र नेपाल बारको सिफारिसमा कानुनविद् सदस्य रहन्छन् । आर्थिक वर्ष सुरु भएलगत्तै सरुवा हुनु पर्ने भए पनि करिब एक महिनापछि सरुवा भएको हो ।
0000
मनोहरा खोला किनारका सुकुमवासी र काठमाडौं महानगर प्रहरीबीच झडप भएको छ । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बिहानै बस्तीका संरचनामा डोजर चलाउन थालेपछि आक्रोशित स्थानीयले विरोधमा ढुंगामुढा प्रहार गरेका थिए । त्यहीक्रममा सुकुमवासी र नगरप्रहरीबीच झडप भएको हो ।
0000
बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मन्त्रिपरिषद्लाई पूर्णता दिएसँगै नवनियुक्त ५ मन्त्रीले शपथ गरेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् ।
0000
भारतको पश्चिम बंगाल राज्यको पूर्वी बर्धमान जिल्लामा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । तीर्थयात्री बोकेको बस शुक्रबार बिहान दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । बर्धमानबाट दुर्गापुर गइरहेको बस सडकमा रोकिइराखेको ट्रकसँग ठक्कर खाएको हो । दुर्घटनामा परेका सबै बिहारका भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
