आज देश-दुनियाँमा के-के भयो ?

भीषण वर्षापछि खीरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गमा पर्ने धराली बजार तहसनहस बनाएको छ ।

श्रावण २०, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

What you should know

काठमाडौँ — 'कुलिङ अफ पिरियड' रोक्न मुख्यसचिव र सचिवले लबिइङ गर्नु अशोभनीय : संसदीय समिति, सवारी साधनमा अब इम्बोस्ड नम्बर अनिवार्य, बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त, भारतको उत्तरकाशीमा ‘क्लाउड बर्स्ट’, धराली बजार तहसनहसदेखि इलन मस्कलाई टेस्लाले दियो २९ अर्ब डलर बराबरको सेयरसम्मका खबर आज चर्चामा रहे । 

००००

संसदीय छानबिन समितले संघीय निजामती विधेयकमा व्यवस्था गरिएको 'कुलिङ अफ पिरियड'को विरोधमा  मुख्य सचिव र सचिवहरू नै उत्रिनु शोभनीय नदेखिएको बताएको छ । मंगलबार समितिले सार्वजनिक गरेको प्रतिवेदनमा 'कुलिङ अफ पिरियड'को छलछाममा मुख्य सचिव र सचिवहरू प्रत्यक्ष संलग्न नदेखिए पनि विरोधमा उत्रिनु ठीक नभएको जनाइएको छ । कुलिङ अफ पिरियडुको प्रावधान हटाउन मुख्य सचिवहरू लावालस्करसहित लबिइङ गर्दै हिँड्नु पनि पदीय आचरणविपरीत रहेको प्रतिवेदनमा उल्लेख छ । 

००००

सवारी साधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नु पर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो । मंगलबार सम्पन्न बैठकले असोज १ गते देखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो ।

००००

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बानियाँले कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जनाको समर्थनसहित सोमबार नै दाबी पेस गरेका थिए। ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ।

००००

भारत उत्तराखण्डको उत्तरकाशीमा 'क्लाउड बर्स्ट' पछि आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । भीषण वर्षापछि खीरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गमा पर्ने धराली बजार तहसनहस बनाएको छ । भारतीय समय अनुसार मंगलबार १ बजेर ३० मिनेटमा आएको बाढीले धराली बजारका धेरै घर गेग्रानमा पुरिएको र केही घरहरु बगेका छन् ।

००००

टेस्लाले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) इलन मस्कलाई २९ अर्ब डलर बराबरको सेयर दिएको छ । कम्पनीले मस्कलाई टेस्लामा टिकाइराख्न यो कदम चालेको हो । यसअघि सन् २०१८ मा मस्कलाई दिइएको ५० अर्ब डलरभन्दा बढीको तलब प्याकेज अमेरिकी अदालतले खारेज गरिदिएको थियो । अदालतको सो निर्णयविरुद्ध मस्कले पुनरावेदन मुद्दा दायर गरेका छन् । अब २९ अर्ब डलरको नयाँ प्याकेजले मस्कलाई कम्पनीमा टिकाइराख्न प्रोत्साहन गर्ने कम्पनीका बोर्ड सदस्यहरूको अपेक्षा छ ।

कान्तिपुर

Link copied successfully