बानियाँ प्रदेश सभामा ६४ सांसदको समर्थन पाएपछि बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीको रूपमा निर्वाचित भएका छन्।
काठमाडौँ — बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बानियाँले कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जनाको समर्थनसहित सोमबार नै दाबी पेस गरेका थिए। ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ।
उनी ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थन पाएसँगै मुख्यमन्त्री बनेका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री बनेका हुन् ।
यसअघि बागमती प्रदेशमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा मुख्यमन्त्री बनिसकेका छन् । मकवानपुरबाट मुख्यमन्त्री हुने बानियाँ दोस्रा हुन् ।
बहादुर सिंह लामाले आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
गत ९ साउनमा मुख्यमन्त्रीसमेत रहेका दल नेता लामाविरुद्ध बानियाँकै नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
