वडाध्यक्ष श्रेष्ठले हायू परिवारलाई सुरक्षित राख्दै अर्को घरजग्गा आयोजना मिलाउने योजनासहित पुनर्वास प्रक्रिया अघि बढाएका छन्।
What you should know
पोखरा — सिन्धुलीबाट पोखरा आइपुगेको हायू परिवार अन्ततः सिन्धुली नै फर्किएको छ । गोलन्जोर गाउँपालिका–६ का अध्यक्ष रविनकुमार श्रेष्ठले आफ्नै घरमा राख्ने बताएपछि हायू परिवार सोमबार पोखराबाट सिन्धुलीतर्फ लागेको हो ।
हायू परिवारलाई लिन वडाध्यक्ष श्रेष्ठ स्वयं पोखरा महानगरपालिकाका–३० गगनगौंडा पुगेका थिए । उनीहरूलाई महानगर प्रमुख धनराज आचार्यले विदाइ गरे । उर्मिला हायुका ६ छोरा, ६ छोरी, एक बुहारी, २ ज्वाइँ, ३ नातिनातिना र बुहारीका २ भाइ बहिनी गरी २१ जना सिन्धुलीतर्फ लागेका हुन् । तीमध्ये गगनगौंडामा नै यसअघि बस्ने छोरा, ज्वाइँ र एक नातिनी भने पोखरा नै फर्किने छन् । उनीहरूलाई महानगरले मुग्लिनसम्म पठाएको थियो भने मुग्लिनबाट वडाध्यक्षले व्यवस्था गरेको गाडीमा सिन्धुलीतर्फ पठाइएको छ ।
हायू परिवारलाई हाल आफ्नै वडाको सुंगुरेमा रहेको पुरानो घरमा राख्ने वडाध्यक्ष श्रेष्ठले बताए । ‘अहिले अर्को व्यवस्था नभएसम्म मेरै घरमा राख्छु । कति समयसम्म बस्न चाहनुहुन्छ बस्न सक्नुहुन्छ,’ उनले भने, ‘विभिन्न संघसंस्थासँग सरसहयोग जुटाएर अर्को घरजग्गा व्यवस्था गर्ने छौं ।’ सुंगुरेबाट विद्यालयसमेत १५ मिनेटको दूरीमा रहेको उनले जानकारी दिए ।
गोलन्जोर–६ छेत्पा बिखारकटेरीमा बस्दै आएका हायू परिवार तीन दिनदेखि घरबाट हराएको खबर साउन १२ मा बाहिरिएको थियो । त्यसै दिन राति उनीहरु पोखरा–३० गगनगौंडामा दुई स्थानीयको घरमा ६ वटा कोठा भाडामा लिएर बसेको अवस्थामा भेटिएका थिए । बसिरहेको घरजग्गा पनि आफ्नो नरहको, विद्यालय, अस्पताल टाढा भएको, परिवारका सदस्य विरामी भइरहने र घरमा समेत बस्न डर भएकोले पोखरा आएको उनीहरुले बताउँदै आएका थिए । उनीहरुको आफ्नै जग्गा भने छेत्पाबाट ३ घण्टामाथिको गाउँमा छ ।
उर्मिला हायूका श्रीमान् सानु हायूको तीन वर्षअघि निधन भएको थियो । १७ असार २०७९ मा लोपोन्मुख अल्पसंख्यक जातिले पाउने भत्ता बुझेर घर फर्कने क्रममा उनी बेपत्ता भएका थिए । उनको शव सडेगलेको अवस्थामा घरबाट झन्डै डेढ घण्टा परको खोल्सामा कात्तिक १७ मा भेटिएको थियो । हायू परिवारले बुबाको शव भेटिएपछि हत्या भएको हुनसक्ने भन्दै जाहेरी दिए पनि दुई वर्षसम्म हत्याको कुनै प्रमाण नभेटिएको भन्दै प्रशासनले मुद्दा टुंग्याएको उर्मिला हायूका जेठो छोरा राजु हायूले कान्तिपुरसँग बताएका थिए । सानु हायूको हत्या भएको हुन सक्ने हायू परिवारको आशंका थियो । प्रहरीले भने दुर्घटना भएको बताउँदै मुद्दा टुंग्याएको थियो ।
सानु हायूको निधनपछि बसिरहेको घरमा दिउँसै ढुंगा हान्ने, राति पनि तर्साउन दिने किसिमको गतिविधि भएको परिवारको दाबी छ । काइँली छोरी अस्मिता हायूलाई ‘आत्मा’ चढ्ने गरेको र आत्मा बोल्ने क्रममा त्यस स्थानमा नबस्न र पश्चिम दिशामा जान भनेपछि पोखरा आएको हायू परिवारले खुलाएका थिए । पछिल्लो समय उनी बिरामी भएपछि हायू परिवार गाउँमै सच्चाइ केन्द्रमा समेत जान थालेको थियो । ‘पिता परमेश्वर’को प्रार्थनाबाट हरेक रोगको उपचार हुने ‘विश्वास’ गर्ने संस्था सच्चाइ केन्द्रको केन्द्रीय कार्यालय पोखरा–१६ दीपमा रहेको छ ।
वडाध्यक्ष श्रेष्ठले पुरानो घरमा नबस्ने, अन्यत्र व्यवस्था नहुँदासम्म आफ्नै घरमा राख्ने, परिवारका सदस्यलाई जागिरको व्यवस्था गर्ने, नयाँ विद्यालयमा भर्ना दिलाइदिने लगायतका सहमहितपछि हायू परिवार फर्कन तयार भएको बताए । उनी साउन १५ मा समेत पोखरा आएर हायू परिवारलाई सिन्धुली फर्कन आग्रह गरेका थिए । तर हायू परिवारले पुरानै ठाउँमा नफर्कने बताएको थियो । हाल वडाध्यक्षले व्यवस्था गरेको घर उनीहरू बस्ने गरेको पुरानो घरभन्दा तीन घण्टा तल रहेको छ ।
उनीहरू घरमा रहेका भैंसीलाई गोठमा बाँधेर, कुखुरा, बाख्रालाई खोरमै थुनेर कसैलाई पत्तो नदिई सिन्धुलीबाट १९ जना गाडी रिजर्भ गरी पोखरा आएका थिए । पोखराको लेकसाइडको एक होटलमा एक रात बसेर उनीहरू गगनगौंडा गएका थिए । तनहुँको शुक्लागण्डकीको कोत्रेमा बस्ने ज्वाइँ धनबहादुर तामाङले गगनगौंडामा कोठा खोजिदिएपछि हायू परिवार त्यहाँ सरेको थियो । साउन १२ कै राति इलाका प्रहरी कार्यालय डाँडाकोनाकका डीएसपी श्रवणकुमार विकले हायू परिवारलाई पोखरा–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा ज्वाइँ धनबहादुर तामाङको जिम्मा लगाएका थिए ।
