उनीहरूलाई गगनगौंडामा फेला पारिएको हो
What you should know
पोखरा, कास्की — सम्पर्कविहीन भनिएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको हायू परिवारका सदस्य कास्कीको गगनगौंडामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार उनीहरूलाई गगनगौंडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा आश्रय लिइरहेको अवस्थामा फेला पारिएको हो ।
'प्रारम्भिक रुपमा कुराकानी गर्दा २० हजार रुपैयाँमा गाडी भाडामा लिएर सपरिवार उनीहरू पोखरा आएका रहेछन् । शनिबार लेकसाइडमा रहेको होटल जननीमा बसेर आइतबार निस्किएको देखिन्छ,' उनले भने, '१६ जना हराइरहेको समाचार सोमबार प्रकाशन र प्रसारण भएपछि होटल सञ्चालक सुनिल भुर्तेलले हामीलाई जानकारी गराए । त्यसपछि सीसीटीभीको आधारमा उनीहरूको लोकेसन पत्ता लाग्यो ।'
एसपी ओलियाका अनुसार हायू परिवारका सदस्यले सोमनाथ र चन्द्रको घरमा डेरा लिएर बसेका हुन् । उनीहरुले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताउँदै डेरा लिएका थिए । 'उनीहरू दुई घरको डेरामा बाँडिएर बसेको देखिएको छ,' एसपी ओलियाले भने, 'थप सोधपुछका लागि डाँडाको नाक प्रहरी चौकीमा ल्याउँदै छन् । त्यसपछि परिवारको सदस्यको जिम्मा लगाउँछौं ।'
परिवारका सदस्यले एक जना ज्वाईं पोखराकै स्थानीय रहेको जानकारी दिएका छन् । एक जना छोरी भने काठमाडौंमै रहेको सिन्धुली प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी दिनेश आचार्यले पनि उनीहरुलाई गगनगौंडामा फेला पारेको र थप अनुसन्धान हुँदै गरेको पुष्टि गरे ।
परिवारकै १६ जना ४ दिनदेखि सम्पर्कविहीन भएको खबर सोमबार दिनभर नै चर्चामा रहेको थियो ।
एकलासमा रहेको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दासमेत कोही नभेटिएपछि सम्पर्कविहीन भएको भन्दै उनीहरुको खोजी व्यापक बनाइएको थियो ।
परिवारै रहस्यमयी तरिकाले सम्पर्कविहीन भएको छिमेकीले बताएका थिए । घरपारि रहेको गोठमा पाडीलाई घाँस र कुँडो दिन गइरहने हायू परिवारलाई नदेखेपछि छिमेकी उनीहरूको घरमा पुगेका थिए । त्यसपछि छिमेकीले नै जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।
१५ मिनेटको दूरीमा रहेका छिमेकीले गोठमा रहेको पाडी भोकले कराएपछि मात्रै उनीहरुको खोजबिन गरेका थिए । इलाका प्रहरी कार्यालय खुर्कोटको टोली, वडाध्यक्ष रवीन श्रेष्ठसहित घरमै पुगेर खोजतलास गर्दा कोही पनि भेटिएका थिएनन् ।
