वडाध्यक्ष श्रेष्ठले हायू परिवारलाई सम्भावित सहयोगको जानकारी दिँदै गाउँ फर्किन आग्रह गरेका छन्। परिवारले सडक, शिक्षा, स्वास्थ्यको पहुँच नहुँदा फर्किन नचाहेको जनाएको छ।
What you should know
सिन्धुली — थातथलो छाडेर रातारात कास्कीको पोखरा पुगेका उर्मिला हायुसहितको परिवारलाई गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्षसहितको टोलीले बुधबार भेटेर फर्किन आग्रह गरेको छ।
उर्मिला र जेठा छोरालाई राखेर सम्भावित विपद्देखि वडा तथा स्थानीय र संघीय माननीयले गर्ने सहयोगको विषयमा जानकारी दिई थातथलो फर्किन आग्रह गरिएको वडाध्यक्ष रविन श्रेष्ठले बताए। ६ नं. वडाको छेत्पा नजिक भण्डास विप्पर कटेरीबाट ६ दिनअघि घर, चौपाया र पशुपक्षीलाई त्यत्तिकै छाडेर हायु परिवार पोखरा पुगेको थियो। हायु परिवार हराएको भनेर सोमबार दिनभर तथा राति अबेरसम्म सञ्चारमाध्यमको प्राथमिकता परेको थियो।
घर भएको जमिन खरिद गरिदिने, अस्थायी बसोबासका लागि वडामै छुट्टै स्थानमा घर निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्थालाई प्राथमिकतामा राख्ने वचन दिएको वडाध्यक्ष श्रेष्ठले कान्तिपुरलाई बताए।
उनले भने, 'मैले त तत्कालका लागि सदरमुकाम सिन्धुलीमाडीमा रहेको मेरो घर खाली छ, त्यहीँ गएर बस्नुस्। यो पोखरा जस्तो महँगो ठाउँमा तपाईँहरूलाई गाह्रो हुन्छ भनेर सम्झाएँ। छोरा तयार भए, तर आमा उर्मिला मानेकी छैनन्।' जेठा छोरा राजु हायुले आमा, बहिनी भाइहरू मानेमा आफू फर्कन तयार रहेको बताएको वडाध्यक्ष श्रेष्ठले बताए।
सडक सुविधा, खानेपानी, स्वास्थ्य र शिक्षामा पहुँच नभएकाले परिवारका सदस्यले थातथलो फर्किन मन नगरेको जनाइएको छ। जति दुःख गरे पनि खानका लागि उब्जनीले तीन महिना पनि नधानेपछि हातमुख जोड्न सहर पस्नुको विकल्प नभएको गुनासो वडाध्यक्षसहितको टोलीसमक्ष हायु परिवारले राखेका थिए। गाउँमा र बैंकको गरेर ३ लाख पुग्न नपुग ऋण बनीबुतो गरेरै भए पनि तिर्ने दृढता उनीहरूले व्यक्त गरेका थिए।
'गाउँकै मानिसहरूलाई हारगुहार गरेर खसीबाख्रा, कुखुरा, चल्ला, पाडीको हेरचाहको व्यवस्था मिलाएकोले फर्कनुस्, वडामा जहाँ सहज हुन्छ त्यहीँ बस्ने व्यवस्था मिलाउँछौँ' भनेर परिवारलाई सल्लाह गर्न भनिएको वडाध्यक्ष श्रेष्ठले बताए। उनले भने, 'हायु परिवारले सल्लाह गर्छौँ भनेका छन्।'
उर्मिला बाहेक ६ छोरा, ६ छोरी, १ बुहारी, १ नाति र १ नातिनी गरी १६ जनाले साउन ६ गते आर्थिक वर्ष ०८१/८२ को अन्तिम किस्तास्वरूप तीन महिनाको सामाजिक सुरक्षा भत्ता गोलन्जोर–७ खुर्कोटमा रहेको हिमालयन बैंकबाट बुझेका थिए भने ९ गते वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता नवीकरण गरेका थिए।
हायु परिवारका सबैले प्रतिमहिना ३ हजार ९ सय ९० का दरले तीन महिनाको १ लाख ९१ हजार ५ सय २० रुपैयाँ बुझेका थिए। लोपोन्मुख आदिवासी समुदायमा सूचीकृत हायु जातिको जनसंख्या २०७८ को जनगणनाअनुसार ३ हजार ६९ रहेको छ।
यसैबीच, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले हायु परिवारको पुनः स्थापनाका लागि आफूले आर्थिक, भौतिक, नैतिक जस्तो सहयोग गर्न पनि तयार रहेको बताएका छन्। लोपोन्मुख हायुहरूलाई गाउँ फर्कन आग्रह गर्दै घिमिरेले सबै किसिमका मानवीय सुविधा उपलब्ध गराउन वचनबद्ध भएको जनाए।
