दोलखा — सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट हराएका हायु समुदायका एकै परिवारका १६ जनाको खोजीमा रामेछापमा प्रहरी परिचालन गरिएको छ ।
उनीहरुको मोबाइल फोनको अन्तिम लोकेसन गोलन्जोरकै पारिपट्टी रामेछापमा फेला परेको छ । मोबाइल बन्द हुनुअघि रामेछापमा लोकेसन देखिएपछि प्रहरीले रामेछापको हायु बस्तीमा खोजी तीव्र पारेको प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए । रामेछापतर्फ आएको हुन सक्ने आशंकामा हायु समुदाय रहेका बस्तीमा खोजी भइरहेको उनले बताए ।
उनीहरु रामेछापतर्फ आएको हुन सक्ने प्रारम्भिक संकेतका आधारमा रामेछाप नगरपालिकाको वडा नं ७ र ८ रहेका हायु बस्तीमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन भई खोजी भइरहेको छ ।
गत बिहीबार स्थानीय निकायले लोपोन्मुख हायु समुदायका सदस्यलाई दिने सामाजिक भत्ता वितरण गरेको थियो । हायु परिवारले भत्ता बुझेर आएपछि उनीहरूले घरमै सुँगुरको मासु खाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीको गोलन्जोर क्षेत्रमा कुनै प्राकृतिक विपद् नभएको र सम्पर्कविहीन परिवार समूहमै हिँडेको अनुमान गरिएको छ ।
उनीहरूको मोबाइल टावर सिग्नल रामेछाप क्षेत्रका टावरमा देखिए पनि, ती टावरले गोलन्जोर क्षेत्रलाई पनि कभर गर्ने भएकाले उनीहरू साँच्चिकै रामेछाप आए–नआएको विषयमा यकिन भने भइनसकेको रामेछापका प्रहरी निरीक्षक न्यौपानेले बताए ।
