सम्पर्कविहीन हुनुअघि हायू परिवारका १६ जनाले नै सामाजिक भत्ता बुझेका थिए

श्रावण १२, २०८२

राजकुमार कार्की

Before becoming uncontactable, only 16 members of the Hayu family received social allowance

What you should know

सिन्धुली — सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पानजिक भण्डास विप्पर कटेरी घर भएका उर्मिला हायूको परिवारले केही दिनअघि मात्र सामाजिक सुरक्षा भत्ता बुझेको खुलेको छ । वडा नम्बर ६ का अध्यक्ष रविनकुमार श्रेष्ठका अनुसार सम्पर्कविहीन हुनुभन्दा केही दिनअघि हायू परिवारका १६ जनाले बुधबार आर्थिक वर्ष ०८१/८२ को अन्तिम किस्तास्वरूप तीन महिनाको भत्ता बुझेका हुन् । 

वडाध्यक्ष श्रेष्ठका अनुसार हायू परिवारका सबैले प्रतिमहिना ३ हजार ९ सय ९० का दरले तीन महिनाको १ लाख ९१ हजार ५ सय २० रुपैयाँ बुझेका हुन् । श्रेष्ठले भने,'परिवारका १८ सदस्यमध्ये १ जना काठमाडौं र १ जना विदेशमा रहेकाले १६ जनाले भत्ता बुझेको भन्ने बुझिएको छ ।'  उनीहरूले गोलन्जर गाउँपालिका-७, खुर्कोटमा रहेको हिमालयन बैंकबाट भत्ता बुझेका हुन् । 

हराएकाहरूमा उर्मिलासहित उनका ६ जना छोरा, ६ जना छोरी, १ जना बुहारी, १ जना नाति र १ जना ज्वाइँ रहेका छन् । उर्मिलाका श्रीमान् साने हायूको २ वर्षअघि निधन भइसकेको छ ।

वडाध्यक्ष श्रेष्ठका अनुसार शुक्रबार केहीले उनीहरूलाई खुर्कोटमा देखेको दाबी गरे पनि यकिन भने भएको छैन । पछिल्लो समय मोबाइलको लोकेसन रामेछापको मन्थली देखिए पनि सबैको मोबाइल स्विच अफ रहेको उनले बताए ।  

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully