सिन्धुलीमा हायू परिवारका १६ जना ४ दिनदेखि सम्पर्कविहीन

सिन्धुलीको गोलन्जोरमा १६ सदस्यीय हायू परिवार चार दिनदेखि सम्पर्कविहीन छन्, खोजतलास जारी छ।

श्रावण १२, २०८२

राजकुमार कार्की

In Sindhuli, 16 members of the Hayu family have been without contact for 4 days

What you should know

सिन्धुली — सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पानजिक भण्डास विप्पर कटेरीमा रहेका उर्मिला हायूसहितको १६ जनाको परिवार ४ दिनदेखि सम्पर्कविहीन छन् । एकलासमा रहेको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दा कोही मानिस भेटिएका छैनन् ।

स्थानीय मोतिराज सापकोटाका अनुसार ४ दिनअघि बिहीबार सुँगुर काटेर भोज गरेपछि सम्पर्कविहीन भएका हुन् ।

१५ मिनेटको दूरीमा रहेका छिमेकीहरूले पनि शुक्रबारदेखि नदेखेको बताएका सापकोटाले जनाए । इलाका प्रहरी कार्यालय खुर्कोटको टोली, वडाध्यक्ष रविन श्रेष्ठसहित घरमै पुगेर खोजतलास गर्दा कोही नभेटिएको जनाएका छन् ।

In Sindhuli, 16 members of the Hayu family have been without contact for 4 daysवडाध्यक्ष श्रेष्ठका अनुसार भान्साघर जलेको अवस्थामा छ । साथै भाँडाहरू अस्तव्यस्त भेटिएको छ । खोरमा पाँचवटा बाख्रा समेत भोकै अवस्थामा रहेका र कुकुर रोइरहेको अवस्थामा भेटिएको छ । अल्पसंख्यक लोपोन्मुख हायू जाति भएकाले सामाजिक सुरक्षा भत्ता लिँदा वडा तथा पालिकामा फोन नम्बर हुने भएकाले सम्पर्कको प्रयास गरिराखिएको अध्यक्ष श्रेष्ठले बताए । ‘कहाँ गए, कता गए अत्तोपत्तो छैन,’ श्रेष्ठले भने, ‘सम्पर्क गर्ने प्रयास जारी छ ।’

सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले सम्पर्कविहीन भएका हायू परिवारको खोजतलास भइरहेको जनाए । ‘फोनको लोकेसन रामेछाप मन्थली देखिएको भन्ने आएको छ,’ उनले भने, ‘कतै घुम्न गएका हुन् कि भन्ने अनुमान छ । तर स्थलगत रूपमा कोही भेटिएका छैनन् ।’ अनकन्टारमा घर रहेकाले छिमेकीहरूको समेत आवतजावत कम हुने गरेको पाइएको छ ।

हायू जातिलाई सरकारले लोपोन्मुख आदिवासी समुदायमा सूचीकृत गरेको छ । २०७८ को जनगणनाअनुसार हायू जातिको जनसंख्या ३ हजार ६९ रहेको छ । 

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully