सिन्धुलीका १६ जना हायू परिवार सम्पर्कविहीन छन्, फोनको लोकेसन मन्थलीमा देखिए पनि सम्पर्क हुन सकेको छैन।
What you should know
सिन्धुली — सिन्धुलीको गोलन्जर गाउँपालिका-६, छेत्पानजिक भण्डास विप्पर कटेरीको हायू परिवार रहस्यमयी तरिकाले सम्पर्कविहीन भएको छिमेकीहरूको भनाइ छ । स्थानीय मोतिराज सापकोटाका अनुसार ४ दिनअघि बिहीबार सुँगुर काटेर भोज गरेपछि सम्पर्कविहीन भएका हुन् ।
घरपारि रहेको गोठमा पाडीलाई घासँ र कुँडो दिन गइरहने हायू परिवारलाई नदेखेपछि छिमेकी उनीहरूको घरमा पुगेका थिए । त्यसपछि छिमेकीहरूले नै जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका हुन् ।
एकलासमा रहेको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दा कोही पनि भेटिएनन् । वडाध्यक्ष रविनकुमार श्रेष्ठका अनुसार उनीहरूको घरमा अझै पनि सुँगुरको ३/४ किलो मासु बाँकी रहेको छ । 'सोमबार हामी उनीहरूको घरमा पुग्दा मासु बाँकी नै देखियो । गन्हाएको अवस्थामा मासु भेटिएकाले पनि उनीहरू ३/४ दिनअघि नै घरमा नरहेको हो कि भन्ने छ ।'
हराएकाहरूमा उर्मिलासहित उनका ६ जना छोरा, ६ जना छोरी, १ जना बुहारी, १ जना नाति र १ जना ज्वाइँ रहेका छन् । उर्मिलाका श्रीमान् साने हायूको २ वर्षअघि निधन भइसकेको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार शुक्रबार केहीले उनीहरूलाई खुर्कोटमा देखेको दाबी गरे पनि यकिन भने भएको छैन ।
पछिल्लो समय मोबाइलको लोकेसन रामेछापको मन्थली देखिए पनि सबैको मोबाइल स्विच अफ रहेको उनले बताए । उनीहरूको घरबाट नजिकको सडकमार्ग पुग्न झन्डै २ घण्टा हिँड्नुपर्छ । त्यहाँबाट मध्यपहाडी लोकमार्गको बलेनी र हैबार पुगेर गाडी चढ्न सकिन्छ । हैबारबाट खुर्कोट ५ किमि र त्यहाँबाट मन्थली १९ किलोमिटर रहेको छ । त्यस्तै बलेनीबाट खुर्कोट ८ किलोमिटर रहेको छ ।
वडाध्यक्ष श्रेष्ठका अनुसार भान्साघर जलेको अवस्थामा छ । साथै भाँडाहरू अस्तव्यस्त भेटिएको छ । खोरमा पाँचवटा बाख्रा समेत भोकै अवस्थामा रहेका र कुकुर रोइरहेको अवस्थामा भेटिएको छ । अल्पसंख्यक लोपोन्मुख हायू जाति भएकाले सामाजिक सुरक्षा भत्ता लिँदा वडा तथा पालिकामा फोन नम्बर हुने भएकाले सम्पर्कको प्रयास गरिराखिएको अध्यक्ष श्रेष्ठले बताए । ‘कहाँ गए, कता गए अत्तोपत्तो छैन,’ श्रेष्ठले भने, ‘सम्पर्क गर्ने प्रयास जारी छ ।’
सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले सम्पर्कविहीन भएका हायू परिवारको खोजतलास भइरहेको जनाए । ‘फोनको लोकेसन रामेछाप मन्थली देखिएको भन्ने आएको छ,’ उनले भने, ‘कतै घुम्न गएका हुन् कि भन्ने अनुमान छ । तर स्थलगत रूपमा कोही भेटिएका छैनन् ।’ अनकन्टारमा घर रहेकाले छिमेकीहरूको समेत आवतजावत कम हुने गरेको पाइएको छ ।
हायू जातिलाई सरकारले लोपोन्मुख आदिवासी समुदायमा सूचीकृत गरेको छ । २०७८ को जनगणनाअनुसार हायू जातिको जनसंख्या ३ हजार ६९ रहेको छ ।
