दिनभर देश दुनियाँमा आज के–के भयो ?
What you should know
काठमाडौँ — सिन्धुलीमा हायू परिवारका १६ जना ४ दिनदेखि सम्पर्कविहीन, लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ, पर्यटन नीति सार्वजनिक : नेपाललाई अद्वितीय पर्यटकीय गन्तव्य बनाउने सरकारको दाबी, गाजामा भोकमरी खतरनाक स्तरमा पुगेको र अझै बढ्न सक्ने डब्लुएचओको चेतावनी, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन लगायतका खबर सोमबार चर्चामा रहे । दिनभर देश दुनियाँमा के–के भयो ?
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पानजिक भण्डास विप्पर कटेरीमा रहेका उर्मिला हायूसहितको १६ जनाको परिवार ४ दिनदेखि सम्पर्कविहीन छन् । एकलासमा रहेको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दा कोही मानिस भेटिएका छैनन् । स्थानीय मोतिराज सापकोटाका अनुसार ४ दिनअघि बिहीबार सुँगुर काटेर भोज गरेपछि सम्पर्कविहीन भएका हुन् ।
०००
लुम्बिनी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष बुटवलमा नवनियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
०००
सरकारले मुलुकको पर्यटन क्षेत्रको समग्र विकास तथा प्रवर्द्धनका लागि नयाँ पर्यटन नीति सार्वजनिक गरेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित कार्यक्रमकाबीच मन्त्री बद्रीप्रसाद पाण्डेले नयाँ पर्यटन नीति सार्वजनिक गरे । मन्त्री पाण्डेले नीति सार्वजनिक गर्दै नेपाललाई अद्वितीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न नीति महत्त्वपूर्ण हुने बताए । उनले नीतिको कार्यान्वयनको समयमा देखिएका समस्या र छुटेका विषयहरू समेत नीतिमा समावेश गर्दै जाने बताए ।
०००
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गाजामा कुपोषण खतरनाक स्तरमा पुगेको र अझै बढ्ने चेतावनी दिएको छ । डब्लुएचओले यो चेतावनी गाजामा हवाई मार्गबाट सहायता सामग्री पुर्याउन थालिएपछि दिएको हो । जोर्डनले संयुक्त अरब इमिरेट्स यूएईसँग मिलेर आइतबार गाजामा २५ टन सहायता सामग्री खसालेको बताएको छ ।
०००
प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन खेलको पूर्वसन्ध्यामा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तत्काल थाल्न निर्देशन दिएका हुन्।
