लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ

श्रावण १२, २०८२

घनश्याम गौतम

Lumbini's newly appointed Youth and Sports Minister Pandey took oath

बुटवल — लुम्बिनी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष  बुटवलमा नवनियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री  चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशका मन्त्री तथा उच्चपदस्थ पदाधिकारीहरूको उपस्थितस रहेको थियो । पाण्डेको शपथ ग्रहणसँगै लुम्बिनीमा मुख्मयमन्न्त्रीसहित मन्त्रीको संख्या १२ पुगेको छ ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । आचार्य मुख्यमन्त्रीमा नियुक्त भएको १ वर्षपछि लुम्बिनीको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । युवा तथा खेलकुद मन्त्रालय मुख्यमन्त्री आफैंले राख्दै आएका थिए । पाण्डे लोसपाबाट मन्त्री बनेका हुन् । 

गत असारमा लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । लोसपा संसदीय दलका नेतासमेत रहेका पाण्डेले सरकारले आफ्ना माग सम्बोधन पनि नगरेको र बजेटमा पनि बेवास्ता गरेकाले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको दाबी गरेका थिए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully