नीतिमार्फत नेपाललाई सांस्कृतिक र प्राकृतिक दृष्टिकोणबाट अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान दिलाउने लक्ष्य लिएको उनको भनाइ छ ।
What you should know
काठमाडौँ — सरकारले मुलुकको पर्यटन क्षेत्रको समग्र विकास तथा प्रवर्द्धनका लागि नयाँ पर्यटन नीति सार्वजनिक गरेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित कार्यक्रमकाबीच मन्त्री बद्रीप्रसाद पाण्डेले नयाँ पर्यटन नीति सार्वजनिक गरे ।
मन्त्री पाण्डेले नीति सार्वजनिक गर्दै नेपाललाई अद्वितीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न नीति महत्त्वपूर्ण हुने बताए । उनले नीतिको कार्यान्वयनको समयमा देखिएका समस्या र छुटेका विषयहरू समेत नीतिमा समावेश गर्दै जाने बताए ।
उनले नीति कार्यान्वयनका लागि कार्यनीति र रणनीति निर्माणको प्रक्रिया पनि अघि बढिरहेको जानकारी दिए । उनले संघीयतालाई थप प्रभावकारी बनाउन समन्वय परिषद् समेत गठन गरिएको उल्लेख गर्दै विभिन्न ठाउँमा गरी तीन वटा बैठक सम्पन्न भइसकेको पनि बताए । नीतिमार्फत नेपाललाई सांस्कृतिक र प्राकृतिक दृष्टिकोणबाट अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान दिलाउने लक्ष्य लिएको उनको भनाइ छ ।
उनले भने, ‘मुलुकमा सुशासन कायम होस् भन्ने हिसाबले नै नीति ल्याइएको हो । राम्रो नीति बनाउने हो । यस नीतिमा अझै पनि केही कुरा छुटेको हुनसक्छ । त्यसका लागि पनि हामी सबै सचेत छौँ । नीतिमा छुटेका कुराहरूलाई आगामी दिनमा मिलाउने अधिकार हामीलाई छँदैछ । तर अहिलेको लागि हामी सबैका लागि खुसीको कुरा भनेको हामीले नीति प्राप्त गरेका छौँ ।’
मन्त्रालय मातहतका निकायहरू मर्ज गर्ने मन्त्रिपरिषद्को निर्णयले ऐन निर्माणमा केही समस्या भएको पनि मन्त्री पाण्डेले बताए । उनले सबै निकायका लागि विशिष्टीकृत ऐन निर्माणमा मन्त्री सक्रिय रहेको बताए । भैरहवा विमानस्थलमार्फत बौद्ध धर्मावलम्बी भएका देशहरूमा सीधा उडान होस् भन्ने धेरै चाहना भएको उल्लेख गर्दै उनले त्यहीअनुसार कार्य योजना बनाइरहेको पनि बताए ।
