आज देश दुनियाँमा के–के भयो ? 

राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने निर्णय गरेको छ।

श्रावण ११, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

What you should know

काठमाडौँ — जनकपुरधाममा पानी माग्दै प्रदेश सरकारविरुद्ध प्रदर्शन, संसदीय समिति बैठकमा मन्त्री नआएपछि सांसदहरूको आक्रोश, राष्ट्र बैंकले एक अर्ब मुद्दती निक्षेपमा राख्दै, प्रस्ताव गर्ने म्याद १४ गतेसम्म, हरिद्वारको मनसादेवी मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्युदेखि त्रिवि क्रिकेट मैदानको प्यारापिटमा धमाधम सिट जडानसम्मका खबर आज चर्चामा रहे । 

००००

जनकपुरधाममा पानी माग गर्दै प्रदर्शन गरिएको छ। आइतबार जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघले प्रदर्शन गरेको हो। उनीहरूले प्रदेश सरकारविरुद्ध प्रदर्शन समेत गरेका थिए। जनकपुरधामको जनक चोकबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय धनुषा हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेको थियो।  

००००

संसदीय समितिमा मन्त्री उपस्थित नभएको भन्दै सांसदहरूले आपत्ति जनाएपछि समितिको बैठक रोकिएको छ । आइतबार सिंहदरबारमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बोलाइएको थियो । बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको थियो । तर उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह बैठकमा सहभागी नहुने सूचना आएसँगै सांसदहरूले बैठक नबस्न आग्रह गरे । 

००००

नेपाल राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । यसका लागि प्रस्ताव पठाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । जसअनुसार ८० करोड रुपैयाँ वाणिज्य बैंकमा, १५ करोड रुपैयाँ विकास बैंकमा र ५ करोड रुपैयाँ फाइनान्स कम्पनीमा राख्नका लागि सूचना जारी गरेको हो । 

००००

उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा भागदौड मच्चिँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । गढवाल मण्डल आयुक्त विनय शंकर पाण्डेले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै मन्दिरमा ठूलो भीड जम्मा भएका बेला अकस्मात भागदौड हुँदा ६ जनाको मृत्यु भएको जानकारी दिएका छन् । 

००००

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य धमाधम भइरहेको छ । रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र ६ वटा फ्लडलाइट जडान गरिँदैछ । 

कान्तिपुर

Link copied successfully