पानी माग्दै प्रदर्शन

दुवै ठाउँमा समाजवादी युवा संघले ज्ञापन पत्र बुझाएका थिए। जिल्ला प्रशासन कार्यालयमा चार बुँदे र मुख्यमन्त्री कार्यालयमा आठ बुँदे ज्ञापन पत्र बुझाइएको थियो।

श्रावण ११, २०८२

कमलेश ठाकुर

Demonstration asking for water

जनकपुरधाम — जनकपुरधाममा पानी माग गर्दै प्रदर्शन गरिएको छ। आइतबार जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघले प्रदर्शन गरेको हो। उनीहरूले प्रदेश सरकारविरुद्ध प्रदर्शन समेत गरेका थिए।

जनकपुरधामको जनक चोकबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय धनुषा हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेको थियो। दुवै ठाउँमा समाजवादी युवा संघले ज्ञापन पत्र बुझाएका थिए। जिल्ला प्रशासन कार्यालयमा चार बुँदे र मुख्यमन्त्री कार्यालयमा आठ बुँदे ज्ञापन पत्र बुझाइएको थियो।

धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यमार्फत संघीय सरकारलाई बुझाइएको ज्ञापनपत्रमा संघीय सरकारले ल्याउन लागेको भूमि विधेयक खारेज वा संशोधन गर्नुपर्ने, तत्काल मल र बीउको व्यवस्था गर्नुपर्ने, सुक्खाग्रस्त अवस्थाबाट बच्न दीर्घकालीन योजना ल्याउनु पर्ने र किसान तथा कृषि क्षेत्रलाई समेट्ने गरी योजनाहरू ल्याइनु पर्ने माग गरिएको छ।

त्यसैगरी मधेश प्रदेशका मुख्यमन्त्री कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा अवैध चुरे दोहन रोक्नुपर्ने, मल–खादको व्यवस्था गर्नुपर्ने, प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटमा दुई वटा रेड बुक बनाएको विषयमा छानबिन गर्नुपर्ने लगायतका मागहरू उल्लेख गरिएका छन्।

प्रदर्शनमा सहभागीहरूले प्लेकार्ड बोकेर ‘भ्रष्ट सरकार पानी दे’, ‘राहत प्याकेज घोषणा गर’, ‘किसान मार्न पाइँदैन’, ‘किसान विरोधी सरकार होसियार’, ‘चुरे दोहन बन्द गर’, ‘किसान विरोधी सरकार हाय–हाय’, ‘निकम्मा सरकार मुर्दावाद’ लगायतका नाराबाजी गरेका थिए।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully