मन्त्री नआएपछि सांसदहरूको आक्रोश : मन्त्री र सरकार जवाफदेही नभए समिति नै खारेज गरौँ

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह बैठकमा सहभागी नहुने सूचना आएपछि सांसदहरू आक्रोशित

श्रावण ११, २०८२

कान्तिपुर संवाददाता

MPs' anger after the minister did not come: If the minister and the government are not accountable, let's abolish the committee itself

What you should know

काठमाडौँ — संसदीय समितिमा मन्त्री उपस्थित नभएको भन्दै सांसदहरूले आपत्ति जनाएपछि समितिको बैठक स्थगित रोकिएको छ । आइतबार सिंहदरबारमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बोलाइएको थियो । 

बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको थियो । तर उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह बैठकमा सहभागी नहुने सूचना आएसँगै सांसदहरूले बैठक नबस्न आग्रह गरे ।

समिति सदस्यहरूको आग्रहसँगै समिति सभापति ठाकुर गैरेले समितिको बैठक स्थगित गरे । समितिको बैठकमा बोल्दै सभापति गैरेले संसद् भवन निर्माण प्रगति र तीन महिना म्याद थपबारे तीन दिनभित्र लिखित जवाफ पठाउन समितिले निर्देशन दिए पनि मन्त्रालयले अटेर गरेको बताए  । समितिले दिएका निर्देशनमा मन्त्रालय जवाफदेही नबनेको उनले बताए ।

‘संसद् भवन निर्माण प्रगति र तीन महिना म्याद थपबारे तीन दिनभित्र लिखित जवाफ पठाउनुस् भनेर निर्देशन दिएका थियौँ । त्यो पत्र प्राप्त गर्न धेरै ठूलो समय लाग्यो । सभामुखज्युको कार्यकक्षमा नोकझोक टाइपको छलफलपछि बल्ल पत्र प्राप्त भयो । समितिप्रति र समितिले पठाएको पत्रको जवाफ पठाउने कुरामा पनि यस्तो भइरहेको छ । समितिले गरेको निर्देशनमा मन्त्रालय जवाफदेही बनोस्,’ उनले भने । 

समितिको बैठकमा बोल्दै राप्रपाका सांसद बुद्धिमान तामाङले किन म्याद थपियो भन्नेबारेमा मन्त्रालयले स्पष्ट जवाफ दिनुपर्ने बताए । ‘किन तीन महिना म्याद थपियो, केका आधारमा थपियो । तीन दिनभित्र किन पत्र पठाइएन ? मन्त्रीज्युलाई सोध्नलाई बैठक बोलाइएको हो । मन्त्रीज्यु नै उपस्थित नभएपछि यो बैठक स्थगित गर्नुपर्छ । मिनि संसदले सरकारलाई असहज पार्ने नभइ बल पुगोस् भन्ने ध्येय हो । समिति केही होइन भन्ने थाल्ने कुरा राम्रो भएन,’ उनले भने ।

समितिको बैठकमा बोल्दै कांग्रेस सांसद देवप्रसाद तिमल्सेनाले मन्त्री समितिले बोलाउँदा बैठकमा उपस्थित हुनैपर्ने बताए । समितिले दिएको पत्रको जवाफ नपठाउने, मन्त्री बोलाएको बेलामा नआउने भएन समिति खारेज गरे पनि हुने उनको भनाइ थियो ।  ‘मन्त्रीज्युलाई नै राखेर कुरा गर्ने भनेको हो । समितिले दिएका पत्रको पनि जवाफ नदिने, भनेको बेलामा मन्त्री पनि उपस्थित नहुने भनेपछि यो समिति किन राख्ने, खारेज गरिदिने हो की ? १० दिनअघि भनेपछि मन्त्री आउनुपर्छ । मन्त्री बोलाउँदा ठेकेदार पनि उठाउनुपर्छ,’ उनले भने । 

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदीय बैठकहरू सरकारको प्रतिनिधि नभई चल्न नसक्ने धारणा राखे । उनले मन्त्रीहरूलाई जे गरे पनि सरक्क छोडिदिने परिपाटी राम्रो नहुने बताए । ‘हाम्रो समग्र संसदीय विषयवस्तुहरू पनि सरकारको प्रतिनिधि नभइकन संसद्का बैठक चल्दैन । हामी मन्त्रीहरूलाई खुरुखुरु छोडिदिने, त्यो बन्छ कसरी ।... मन्त्रीज्यु आउनुहुन्न भने स्थगति गरौँ,’ उनले भने ।

कान्तिपुर

Link copied successfully