What you should know
काठमाडौँ — मधेशमा अहिलेसम्म ४६ प्रतिशत रोपाइँ, मौसमविद् भन्छन् - अब मज्जाले पानी पर्छ, रूपन्देही–३ को उपनिर्वाचन : असोज २१ गते मनोनयन दर्ता, पर्वतको मोदी गाउँपालिकामा पहिरोमा पुरिएर दम्पतीको मृत्यु, त्रिविमा इन्जिनियरिङका विद्यार्थीको प्रदर्शनदेखि भियतनाममा आँधीका कारण डुंगा पल्टिँदा ३७ जनाको मृत्युसम्मका खबर चर्चामा रहे ।
००००
धानको राजधानी मानिने मधेश प्रदेशमा साउन पहिलो हप्ता लाग्दासमेत उल्लेख्य रोपाइँ हुन सकेको छैन । मधेशमा आइतबारसम्म धान फल्ने आधा क्षेत्रमा पनि रोपाइँ भएको छैन । सात प्रदेशमध्ये सबैभन्दा काम रोपाइँ मधेशमा भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । गत वर्षको सोही अवधिमा झन्डै दोब्बरले रोपाइँ भएको केन्द्रको तथ्यांक छ । सिँचाइ अभावले समयमै रोपाइँ हुन नसकेको कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । अब भने मधेशमा पानी पर्ने मौसमविद्हरूको भनाइ छ ।
००००
रूपन्देहीको निर्वाचन क्षेत्र नं ३ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि आयोगले असोज २१ गते मनोनयन दर्ताको दिन तोकेको छ । आयोगले आइतबार सार्वजनिक गरेको उपनिर्वाचन कार्यक्रम अनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।
००००
पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ । छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिको पहिरोमा उनीहरु पुरिएको प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
००००
इन्जिनियरिङका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन गरेका छन् । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक १२ दिनदेखि पुल्चोकसहित ५ वटा क्याम्पसको पठनपाठन बन्द गरेर आन्दोलनमा उत्रिएको त्यस विरोधमा विभिन्न विद्यार्थी संगठनले आइतबार त्रिवि उपकूलपतिको कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।
००००
भियतनामको हालोङ खाडीमा आँधीबेहरीका कारण डुंगा पल्टिँदा ३७ जनाको ज्यान गएको छ । डुंगामा ४८ यात्रु र ५ जना चालक दलका सदस्य थिए । डुंगा स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजेतिर पल्टिएको हो । त्यसबेला तीव्र हावा, भारी वर्षा र चट्याङ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
