साउन पहिलो हप्ता लाग्दा पनि मधेशमा ४६ प्रतिशत मात्रै रोपाइँ

श्रावण ४, २०८२

कान्तिपुर संवाददाता

Even in the first week of July, only 46 percent was planted in Madhesh

What you should know

काठमाडौँ — धानको राजधानी मानिने मधेश प्रदेशमा साउन पहिलो हप्ता लाग्दासमेत उल्लेख्य रोपाइँ हुन सकेको छैन । मधेशमा आइतबारसम्म धान फल्ने आधा क्षेत्रमा पनि रोपाइँ भएको छैन । 

सात प्रदेशमध्ये सबैभन्दा काम रोपाइँ मधेशमा भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । तर साउन ४ सम्म १ लाख ७४ हजार ५ सय ८ हेक्टर अर्थात् ४६.८३ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

गत वर्षको सोही अवधिमा झन्डै दोब्बरले रोपाइँ भएको केन्द्रको तथ्यांक छ । २०८१ असार साउन ६ गतेसम्म ८०.६ प्रतिशत रोपाइँ भएको थियो । मधेशमा धान रोपाइँ नहुनुको प्रमुख कारण सिँचाइ अभाव नै हो । नेपालमा मनसुनमा आधारित खेती प्रणाली हुन्छ । सिँचाइ अभावले समयमै रोपाइँ हुन नसकेको कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । अब भने मधेशमा पानी पर्ने मौसमविद्हरूको भनाइ छ । मौसमविद् शान्ति कँडेलले मधेशमा केही दिन वर्षाको सम्भावना रहेको जनाइन् । त्यस्तै आइतबार राति भने भारी वर्षाको सम्भावना छ । 

मधेशपछि कोशी पनि कम रोपाइँ भएको प्रदेश हो । कोशीमा ६१.७९ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ । यस प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमा रोपाइँ हुन्छ ।  यसमध्ये १ लाख ७० हजार ७ सय ९० हेक्टर रोपाइँ भइसकेको छ ।  गत वर्षको साउन ६ गतेसम्म ८२.७ प्रतिशत रोपाइँ भएको थियो । 

केन्द्रका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा ९६.९९ प्रतिशत धान रोपाइँ भएको छ । यस प्रदेशमा १ लाख ७६ हजार १ सय ५१ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये १ लाख ७० हजार ८ सय ४३ हेक्टर रोपाइँ भइसकेको छ । गत साउन ६ सम्म यस प्रदेशमा ९६.३ प्रतिशत रोपाइँ भएको थियो ।

दोस्रोमा कर्णालीमा ८७.९३ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा ४० हजार ८ सय ८४ हेक्टरमा रोपाइँ हुन्छ । गत साउन ६ सम्म यस प्रदेशमा ९३ प्रतिशत रोपाइँ भएको थियो । पहाडतिर जेठ दोस्रो सातादेखि नै रोपाइँ सुरु भएको थियो । यस क्षेत्रमा उत्साहजनक रोपाइँ भएको छ । केन्द्रका अनुसार लुम्बिनीमा पनि ८७.९३  प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा ३ लाख २ हजार ९ सय ३९ हेक्टरमा रोपाइँ हुन्छ ।

गण्डकी प्रदेशमा ७९.२८ प्रतिशत रोपाइँ भएको केन्द्रको तथ्यांक छ । गत वर्ष साउन ६ सम्म ८४.३ प्रतिशत मात्र रोपाइँ भएको थियो । गण्डकीमा ९४ हजार १ सय ८२ हेक्टरमा रोपाइँ हुन्छ । बागमतीमा पनि गत वर्षभन्दा बढी रोपाइँ भएको छ । साउन ४ सम्म ८७.१९ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा १ लाख २० हजार ५ सय ४५ हेक्टरमा रोपाइँ हुन्छ । गत वर्ष साउन ६ सम्म ८५.५ प्रतिशत रोपाइँ भएको थियो । 

Even in the first week of July, only 46 percent was planted in Madhesh

कान्तिपुर संवाददाता

Link copied successfully