What you should know
काठमाडौँ — श्रमिकले अब न्यूनतम तलब १९ हजार ५५० पाउने, छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुनर्विचार गर्ने गृहमन्त्रीको भनाइ, आफ्नो चरित्र हत्या गर्न खोजिएको अडियो काण्डमा मुछिएका मन्त्री अधिकारी को धारणा, वीरगन्जका २ भन्सारमा २ खर्ब २५ अर्बभन्दा बढी राजस्व संकलनदेखि साफ वुमेन्स यू-२० च्याम्पियनसिपमा नेपालको तेस्रो जितसम्मका खबर चर्चामा रहे ।
००००
श्रमिकले अब न्यूनतम तलब १९ हजार ५५० पाउने भएका छन् । सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको त्रिपक्षीय सहमतिमा चियावगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो । यो साउन १ गतेदेखि नै लागू हुनेछ ।
००००
गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुनर्विचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताएका छन् । आज अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीसँगको भेटमा उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताए ।
००००
भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले पोखराको बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि ३२ लाख रुपैयाँ घूस बुझेको दाबी गरिएको अडियो आफू र मन्त्रालयसँग सम्बन्धित नभएको बताएका छन् । बिहीबार मन्त्रालयमा एकवर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले आफ्नो चरित्र हत्या गर्न उक्त अडियो बाहिर ल्याइएको दाबी गरेका हुन् ।
००००
मुलुकका दुई ठूला भन्सार वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सारले गत आर्थिक वर्षमा २ खर्ब २५ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेका छन् । तर दुवै भन्सारले वार्षिक राजस्व असुली लक्ष्य भने भेट्टाउन सकेनन् । वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ८० दशमलव ३५ प्रतिशत र सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यको ८२ दशमलव ९७ प्रतिशत राजस्व संकलन गरेको छ ।
००००
नेपालले साफ वुमेन्स यू–२० च्याम्पियनसिपमा बिहीबार तेस्रो जित निकालेको छ । बंगलादेशको ढाकास्थित बसुबन्धरा स्पोर्ट्स ग्राउन्डमा भएको खेलमा नेपालले श्रीलंकालाई ७–० ले हराएको हो । प्रतियोगितामा नेपालको यो तेस्रो जित हो र यससँगै नेपालको चार खेलबाट नौ अंक भएको छ । डबल राउन्ड रोबिनको आधार चलिरहेको प्रतियोगितामा नेपाल यसअघि श्रीलंकालाई ७–० ले नै हराएको थियो ।
