काठमाडौँ — भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले पोखराको बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि ३२ लाख रुपैयाँ घूस बुझेको दाबी गरिएको अडियो आफू र मन्त्रालयसँग सम्बन्धित नभएको बताएका छन् ।
बिहीबार मन्त्रालयमा एकवर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले आफ्नो चरित्र हत्या गर्न उक्त अडियो बाहिर ल्याइएको दाबी गरेका हुन् । 'अहिलेसम्म यो अडियोमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन् । मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडियोबाट प्रस्ट हुनुहुन्छ,' मन्त्री अधिकारीले भने । हल्लाका भरमा आफ्नो चरित्र हत्या गर्न खोजिएको पनि मन्त्री अधिकारीको दाबी छ ।
पोखराको बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि ३२ लाख रुपैयाँ घूस बुझेको दाबी गरिएको अडियो सार्वजनिक भएको हो । बुधबार सार्वजनिक भएको उक्त अडियोमा एमालेका स्थानीय नेतासमेत रहेका बिचौलिया सुजन लामामार्फत अधिकारीले मन्त्री क्वार्टरमै घूस रकम लिएको दाबी गरिएको छ । अडियोमा घूस लेनदेन र ‘सेटिङ’ मा मन्त्री अधिकारीका छोरा मनोज, भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेलसमेत संलग्न रहेको भनिएको छ ।
बिचौलिया लामाले विभिन्न व्यक्तिसँग गरेको संवादको अडियोमा तत्कालीन सचिव पोखरेलले पाँच लाख घूस बुझेको उल्लेख गरिएको छ । घूस बुझेका भनिएका व्यक्तिहरूको आवाज भने अडियोमा सुनिँदैन । अडियोमा बिचौलिया लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्थामन्त्री अधिकारी, सचिव पोखरेललगायतले लिएको घूस, मन्त्री र सचिवको पोखरा भ्रमण व्यवस्थापन र अन्य गरेर डेढ करोड खर्च भएको पनि बताएका छन् ।
अडियोमा मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीमार्फत भूमि व्यवस्थामन्त्री अधिकारीले जेब्राको झोलामा पैसा बुझेको लामाको भनाइ सुनिन्छ । लामाले अडियोमा भनेको सुनिन्छ , ‘रामचन्द्रलाई जेब्रा झोलामा ३२ लाख रुपैयाँ दिएको हो, नोट नम्बर सबै टिपेर । उसले लगेर बुझायो । मैले ट्रस्ट मनोजलाई गर्ने हो । मनोज साथी हो, मनोजले पुष्टि गर्यो, हो भन्यो । रामचन्द्रले बुझाएकै हो भन्ने थाहा छ किनकि म आफैं बाइकमा थिएँ । उसलाई भित्र पठाएँ, म बाहिर थिएँ । ऊ मन्त्री क्वार्टरबाट खाली आयो । उसले मन्त्री क्वार्टरको दुलोमा लुकाएन होला ।’
यसै प्रकरणमा मुछिएका राजकुमार गुप्ताले सामान्य प्रशासन मन्त्रीबाट राजीनामा दिइसकेका छन् । उनको स्थानमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने मन्त्रीको पदभार ग्रहण गरिसकेकी छिन् ।
