श्रमिकले अब न्यूनतम तलब १९ हजार ५५० पाउने 

 सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको त्रिपक्षीय सहमतिमा आगामी दुई वर्षका लागि नयाँ तलबमान निर्धारण भएको हो ।

श्रावण १, २०८२

होम कार्की

Workers will now get a minimum salary of 19,550

What you should know

काठमाडौँ — श्रमिकले अब न्यूनतम तलब १९ हजार ५५० पाउने भएका छन् । सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको त्रिपक्षीय सहमतिमा चियावगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो ।

यो साउन १ गतेदेखि नै लागू हुनेछ ।

न्यूनतम निर्धारण समिति अध्यक्ष प्रदीप कोइरालाको संयोजकत्वमा बिहीबार श्रम मन्त्रालयमा बसेको बैठकमा श्रमिकको पारिश्रमिक निर्धारण भएको हो । यो अघिल्लो दुई वर्ष लागू भएको भन्दा दुई हजार दुई सय ५० रुपैयाँ बढेको हो । चिया बगानको हकमा सरोकार पक्षसग थप छलफल हुनेछ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले औद्योगिक सम्बन्धलाई सुमधुर बनाउन तीनवटै पक्षले लचकता कायम गर्दै सहमतिको आधारमा न्युनतम तलब निर्धारण गरिएको बताए । ‘तलब तोक्ने विषयमा सधैं रोजगारदाता र श्रमिकबीच सहमति हुने गरेको थिएन । दुई पक्षबीच सहमति नहुँदा सरकारले हस्तक्षेप गर्नुपर्ने अवस्था सिर्जना भइरहेको थियो,’ उनले भने,‘यसपाली श्रृंखलाबद्ध छलफलले एकठाउमा उभिने वातावरण बन्यो ।’

उनले सहमतिको आधारमा निर्धारण भएको पारिश्रमिकलाई कार्यान्वयनमा लैजान सहज हुने बताए । बुधबार रातिसम्म रोजगारदाता र ट्रेड युनियनबीच नयाँ तलबमा सहमति हुन सकेको थिएन । रोजगारदाता १९ हजार ५ सयमै अडान राखेका थिए । ट्रेड युनियन २१ हजारमा अडिएका थिए । तर, थप ५० रुपैयाँ बढाउन रोजगारदाता तयार भएपछि ट्रेड युनियन सहमतिमा आएको हो ।

यसअघि हाल चिया बगानबाहेकका नेपाली श्रमिकको भत्तासहित पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो । जसमा आधारभूत पारिश्रमिक १० हजार ८ सय २० र महागी भत्ता ६ हजार ४ सय ८० पुर्‍याएको थियो । श्रमिकको प्रतिघण्टाको ज्याला ८९ रुपैयाँ छ । यसमा आधारभूत ज्याला ५६ रुपैयाँ र महँगी भत्ताबापत ३३ रुपैयाँ श्रमिकले पाउँछन् । आंशिक रूपमा काम गर्ने श्रमिकको प्रतिघण्टा आधारभूत पारिश्रमिक ९५ रुपैयाँ छ । २०८० साउन १ देखि लागू गरिएको यो तलबको म्याद गत असार ३२ गतेदेखि समाप्त भएको छ । श्रम ऐन–२०७४ को अनुसार हरेक दुई आर्थिक वर्षमा अनिवार्य रुपमा नयाँ न्यूनतम तलब निर्धारण हुनुपर्छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully