वीरगन्जका २ भन्सारमा २ खर्ब २५ अर्बभन्दा बढी राजस्व संकलन

श्रावण १, २०८२

शंकर आचार्य

Revenue collection of more than 2 trillion 25 billion in 2 customs of Birganj

पर्सा — मुलुकका दुई ठूला भन्सार वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सारले गत आर्थिक वर्षमा २ खर्ब २५ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेका छन् । तर दुवै भन्सारले वार्षिक राजस्व असुली लक्ष्य भने भेट्टाउन सकेनन् ।

वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ८० दशमलव ३५ प्रतिशत र सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यको ८२ दशमलव ९७ प्रतिशत राजस्व संकलन गरेको छ ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार, यो भन्सारले गत आवमा २ खर्ब १८ अर्ब ९५ करोड राजस्व असुली लक्ष्य पाएकामा १ खर्ब ७५ अर्ब ९३ करोड राजस्व संकलन गरेको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आवमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार राजस्व संकलन लक्ष्य राखेकामा ४९ अर्ब ८२ करोड ३७ लाख रुपैयाँ संकलन गरेको छ ।

दुवै भन्सारको राजस्व असुली अघिल्लो आवभन्दा बढी रहेको छ । अघिल्लो आवमा वीरगन्ज भन्सारले २ खर्ब ४५ अर्ब रुपैयाँ संकलन लक्ष्य पाएकामा लक्ष्यको ६४ दशमलव ०१ प्रतिशत अर्थात् १ खर्ब ५७ अर्ब ४० करोड रुपैयाँ मात्र राजश्व संकलन गरेको थियो । सिर्सिया सुक्खा बन्दरगाहले अघिल्लो आवमा ६५ अर्ब ९४ करोड संकलन लक्ष्य पाएकामा लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् ४७ अर्ब ३१ करोड रुपैयाँ संकलन गरेको थियो ।

वीरगन्ज भन्सार प्रमुख दीपक लामिछानेले अपेक्षाकृत रुपमा आयात निर्यात व्यापार नहुनु नै लक्ष्यअनुरुप राजश्व संकलन नहुनुको प्रमुख कारण रहेको बताए । ‘अपेक्षाकृत रुपमा आयात निर्यात व्यापार हुन सकेन,’ उनले भने, ‘त्यस कारण हामीले वार्षिक राजस्व असुली लक्ष्य भेट्टाउन सकेनौं ।’ समग्रमा दुवै भन्सारले अघिल्लो आवभन्दा बढी राजस्व संकलन गर्न सफल भएको उनले बताए ।

सिर्सिया सुक्खा बन्दरगाह भन्सार नाकाबाट रेलबाट मालबस्तुको ढुवानी हुन्छ । यो भन्सारमा राजस्वमा योगदान गर्नेमा फलामजन्य वस्तु र मदिरा प्रमुख हुन् भने वीरगन्ज भन्सार नाकामा इन्धन र नयाँ सवारीसाधन बढी भित्रिन्छन् ।

चालु आर्थिक वर्षको पहिलो दिन बिहीबारदेखि सरकारले दुवै भन्सारलाई गाभेर वीरगन्ज भन्सार कार्यालयको नामबाट सञ्चालन गरिरहेको छ । 

शंकर आचार्य

Link copied successfully