आज देश दुनियाँमा के–के भयो ? 

असार ३०, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — सोमबार इकान्तिपुरमा विद्यालय शिक्षा ऐन जारी नभए आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनीदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई स्पष्टीकरण सोधेकासम्म समाचार प्रकाशित भएका छन् । 

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक पारित गर्न ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराएको छ । विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री अग्रगामी शिक्षा ऐन जारी नभए सशक्त आन्दोलनमा उत्रनेसमेत महासंघले चेतावनी दिएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विधेयक पारित गर्न राज्य पक्ष गम्भीर नभएको आरोप लगाइएको छ ।

त्यस्तै माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा वर्तमान सरकार चलाएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा सम्बोधनका क्रममा प्रुमख प्रतिपक्ष दलका नेतासमेत रहेका दाहालले मन्त्रीहरू नै सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौंको डिल गरिरहेको आरोप लगाएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई घूस डिलसम्बन्धी अडियो सार्वजनिक भएको विषयमा स्पष्टीकरण सोधेका छन्। सोमबार प्रधानमन्त्री ओलीले मन्त्री गुप्तीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए। गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्ने माग उठिरहेको बेला प्रधानमन्त्रीले उनीसँग स्पष्टीकरण सोधेका हुन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपालमा हालसम्म कुल विद्युत् उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले नेपालमा जलविद्युत्को कुल सम्भाव्यता करिब ८३ हजार मेगावाट रहेको र त्यसमध्ये ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रूपले उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको बताए।

लन्डनको साउथेन्ड एयरपोर्टमा एक सानो विमानमा आगो लागेपछि अघिल्लो आदेश नहुँदासम्मका लागि विमानस्थल बन्द गरिएको छ ।  आइतबार साउथेन्ड–अन–सी मा एक १२ मिटर लामो विमानमा आगो लागेको हो । अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण आइसकेको छैन ।

कान्तिपुर

Link copied successfully