काठमाडौँ — माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा वर्तमान सरकार चलाएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा सम्बोधनका क्रममा प्रुमख प्रतिपक्ष दलका नेतासमेत रहेका दाहालले मन्त्रीहरू नै सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौंको डिल गरिरहेको आरोप लगाएका हुन् ।
अध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरे, 'तपाईंका मन्त्रीहरू खुल्लमखुल्ला लाखौंको डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?' 'जहाँ सरकार, त्यहीँ भ्रष्टाचार र बेथिति' भन्दै अध्यक्ष दाहालले विदेशसम्मै प्रधानमन्त्री ओलीले विवाद सिर्जना गरेको बताए ।
दाहालले प्रधानमन्त्रीको 'भ्रष्टाचार गर्दिनँ र गर्न दिँदिनँ' भन्ने अभिव्यक्तिलाई आमजनताले जाली ठानिसकेको र त्यसविपरीत सरकारको क्रियाकलापले त्यो साबित गरिदिएको दाबी गरे । 'गत वर्ष नै मैले भनेको थिएँ– सुशासन र संविधान कार्यान्वयन सरकारको प्राथमिकता होइन । सरकार अँध्यारो कोठामा विचौलियाको स्वार्थ पूरा गर्न बनाइएको थियो । आज पनि त्यही काममा प्रधानमन्त्रीदेखि मन्त्रीहरू व्यस्त छन्,' उनले भने ।
एउटै मुद्दामा आफ्नालाई बचाउने र विपक्षीलाई राजनीतिक प्रतिशोधको सिकार बनाउने कुरामा सरकारले 'विश्व रेकर्ड' नै बनाएको दाहालको भनाइ छ ।
