काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई घूस डिलसम्बन्धी अडियो सार्वजनिक भएको विषयमा स्पष्टीकरण सोधेका छन्।
सोमबार प्रधानमन्त्री ओलीले मन्त्री गुप्तीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए। गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्ने माग उठिरहेको बेला प्रधानमन्त्रीले उनीसँग स्पष्टीकरण सोधेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले गुप्तालाई बोलाएर उक्त घटना के हो ? भन्नेबारेमा स्पष्टीकरण लिएका छन्। राजनीतिक नियुक्तिका विषयमा मन्त्री गुप्ताले आफ्नो मर्यादा विपरीत अर्का मन्त्रीलाई समेत लेनदेनको विषयमा उल्लेख गरेका छन्।
उनको अडियो सार्वजनिक भइसकेपछि विपक्षी दलहरूले मन्त्री गुप्तालाई बर्खास्त गर्न माग गरेका छन्।
