जनजीवन अस्तव्यस्त
(टिमुरे), रसुवा — भोटेकोशीमा मंगलबार आएको बाढीका कारण रसुवाको उत्तरी क्षेत्रको जनजीवन प्रभावित भएको छ। बाढीका कारण स्याफ्रुबेँसी-रसुवागढी सडक पूर्णरुपमा अवरुद्ध बनेको छ भने विद्युत, इन्टरनेट र टेलिफोन लगायत अत्यावश्यक सेवा समेत ठप्प बनेको छ।
स्याफ्रुबेँसी-रसुवागढी खण्डमा सडक क्षत्विक्षत् भएको छ। स्याफ्रुबेँसीदेखि रसुवागढी जाने सडक अवरुद्ध छ । मानिसहरू यहाँदेखि करिब साढे चार घन्टाको बाटो भएर पैदलयात्रा गरिरहेका छन्। बाढीपछि यहाँका व्यापारीहरू हेलिकोप्टर लिएर पुगेका छन् भने कतिपय घण्टौँ लगाएर पैदल हिँडेर पुगिरहेका छन्।
बाढीले रसुवागढी जलविद्युत आयोजनाको मुख्य ड्याममा ठूलो क्षति पुर्याएको छ भने रसुवागढी भन्सार यार्डमा पार्किङ गरेर भन्सार जाँचपासको क्रममा रहेका ३०-४० वटा मालबहाक गाडीहरू बगाएको अनुमान गरिएको भन्सार कार्यालयका नासु चण्डीराज गेलालले बताए। त्यस्तै यहाँ पार्किङ गरेर राखेका अन्य १०० वटाभन्दा बढी विद्युतीय गाडीहरू पनि बगाएको उनले बताए।
रसुवागढी जलविद्युत आयोजनाको आवास क्षेत्र पनि बगाएको छ भने यहाँ पार्किङ गरिएका ८ वटा हाइलक्स गाडी पनि पहिरोले पुरेको छ। बाढीले ठुलो क्षति र अत्यावश्यक सेवा अवरुद्ध बनाएपनि यहाँ सरकारीस्तरबाट भने कुनै पहल भएको छैन ।
क्षतिको विवरण संकलन र मर्मत सम्भार गरी सेवा सञ्चालनका विषयमा समेत कुनै प्रयास भएको छैन । बाढीले यहाँको जनजीवन अस्तव्यस्त बनाएको गोसाइँकुण्ड गाउँपालिका-२ का वडाध्यक्ष कामीछिरिङ तामाङले बताए ।
'मंगलबार बिहान राति सवा ३ बजे अकस्मात् बाढी आयो। हामी त्यहीबेला देखि उद्धारमा खटिएका छौँ,' उनले भने, 'यहाँ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति छ। तर विपद्को बेला सरकारले जुन पहलकदमी लिइदिनुपर्ने हो, त्यो हुन सकेन।'
सम्बन्धित समाचार :
