भन्सार यार्डमा दर्जनौं सवारीसाधन पुरिएको अवस्था, स्याफ्रुबेसीदेखि रसुवागढीसम्मका १० स्थानमा गरी ११ सय मिटर सडकमा क्षति
रसुवागढी — तिब्बतको ल्हेन्दे खोलामा मंगलबार आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि भएको विध्वंसले ठूलो जनधनको क्षति भएको छ । तर बाढीको कारण यकिन हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागले चीन तथा नेपाल सीमाका उच्च हिमाली क्षेत्रमा बादल लागिरहेका कारण भूउपग्रहको सहायताबाट विश्लेषण गर्न खोजे पनि सम्भव नभएको बताएको छ ।
भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएपछि त्यसको कारण खोज्न विभाग लागिपरेको हो । सोमबारदेखि मंगलबारसम्म २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुञ्चे मौसमी केन्द्रमा फाट्टफुट्ट मात्र वर्षा मापन भएको छ ।
‘भारी वर्षाले बाढी आएको होइन, तर कारण के हो अध्ययन गरिरहेका छौं,’ विभागका बाढीविद् विनोद पराजुली भन्छन्, ‘तत्काल बाढी गएकै स्थानमा गएर अध्ययन गर्न सम्भव छैन, भूउपग्रहको सहायताबाट कारण थाहा पाउन सकिन्थ्यो, तर त्यस क्षेत्रमा बादल लागेकाले समस्या भएको छ ।’ चीन तथा नेपालको भूभागमा रहेको कुनै हिमताल फुटेको हुन सक्ने वा हिउँको ढिक्का खोलामा बसेर थुनिएको र पछि फुटेको हुन सक्ने उनको अनुमान छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले पनि बादलका कारण उपग्रह विश्लेषणमा अवरोध पुगेको बताएको छ । इसिमोडले पनि ल्हेन्दे खोलामा आएको आकस्मिक बाढीको कारण वर्षा नभएको जनाएको छ ।
‘बाढीको खास कारण पहिचान गर्न समय लाग्नेछ, तर प्रारम्भिक अनुसन्धानबाट उक्त बाढी अत्यधिक वर्षाका कारण होइन भन्ने प्रस्ट हुन्छ । भूउपग्रहबाट अध्ययन गर्न खोजिरहेका छौं, तर बादल लागेकाले सम्भव भएको छैन,’ इसिमोडद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भूगर्भविद्, हिमनदी विशेषज्ञ, जलवायुविज्ञलगायत सहभागी बहुक्षेत्रीय टोलीले बाढीको वास्तविक कारण अनुसन्धान गर्नु आवश्यक छ ।’
इसिमोडका वरिष्ठ जलविज्ञान अनुसन्धानकर्ता प्रदीपमान डंगोल प्रारम्भिक अनुमान हिमताल फुटेको हुन सक्ने बताउँछन् । ‘तर यसको ठोस प्रमाण भने फेला परेको छैन,’ उनी भन्छन्, ‘इसिमोडको सन् २०२१ को अध्ययनअनुसार तिब्बतस्थित त्रिशूली नदीभन्दा माथिल्लो क्षेत्रको एक हिमताल उच्च जोखिमयुक्त श्रेणीमा रहेको थियो । सन् १९९० देखि २०२० सम्म त्रिशूली नदीको जलाधार क्षेत्रमा हिमतालको आकार बढेको छ । बाढीअघि लिइएका उपग्रह चित्रमा पनि हिमतालको संख्या बढेको देखिन्छ, तर हाल बादल लागेकाले भूउपग्रह विश्लेषणमा अवरोध पुगेको छ ।’
पहाडी क्षेत्रमा जोखिम कसरी उत्पन्न हुन्छ भन्ने बुझ्न झन्झन् कठिन हुँदै गइरहेको उनी बताउँछन् । ‘सधैं भारी वर्षाले मात्र बाढी ल्याउँछ भन्ने हुँदैन, कहिलेकाहीं त्यो एक्लो कारण पनि हुँदैन,’ उनी भन्छन्, ‘यसलाई ध्यानमा राखेर राहत, पुनर्निर्माण तथा पूर्वतयारी योजना बनाइनुपर्छ ।’
इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सो विश्वव्यापी रूपमा बढिरहेको तापमान वृद्धिका कारण प्राकृतिक विपद्को जोखिममा सबैभन्दा बढी पर्वतीय क्षेत्र रहेको बताउँछन् । ‘रसुवा बाढीको कारण के हो भन्ने अझै यकिन छैन, तर हामीलाई पूर्ण विश्वास छ कि विश्वव्यापी तापमान वृद्धिले हिमाली क्षेत्रमा जोखिमपूर्ण घटनाहरूले तीव्रता र जटिलता बढाएको छ,’ उनी भन्छन् ।
बाढीपछि बुधबार पनि सम्पूर्ण सुरक्षा निकाय हराइरहेकाको खोजी तथा अलपत्र परेकाको उद्धारमा खटिएका छन् । ३४ वटा हवाई उडानबाट १ सय ३६ जनाको उद्धार गरी काठमाडौं पठाइएको छ । तीमध्ये १ सय २७ जना विदेशी नागरिक छन् । ‘सम्पूर्ण सुरक्षा संयन्त्र नै फिल्डमा छ, उद्धारका काम जारी राखेका छौं, बुधबार पनि स्थलगत अध्ययन गरेर फर्केका छौं,’ रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जॅन पौडेल भन्छन्, ‘बाढीमा फसेकाको उद्धार जारी छ, उद्धार गरिएकालाई काठमाडौं पठाएका छौं, जसमा धेरैजसो विदेशी नागरिक छन् ।’
बाढीपछि ९ शव फेला परे पनि सम्पर्कविहीन १९ जनाको अवस्था पत्ता लाग्न सकेको छैन । बाढीमा नेपाल–चीन जोड्ने मितेरी पुल बगेको छ भने सुक्खा बन्दरगाहमा पनि ठूलो क्षति भएको छ । रसुवागढीसहित ४ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बन्दरगाहमा रहेका सामानसहितका २४ कन्टेनर गाडी, ६ ठूला ट्रक र करिब ३५ ईभी गाडी बगेका छन् ।
पौडेलका अनुसार बाढीका कारण पूर्वाधारमा भएको सबैभन्दा ठूलो क्षति भनेको मितेरी पुल बगाउनु हो । ‘भन्सारको यार्डमा पनि धेरै क्षति भएको छ, त्यहाँ १५ देखि २० वटा गाडी पुरिएको देखिन्छ,’ उनी भन्छन्, ‘बेपत्ता भएका भनिएका कतिपय यार्डबाटै बगेका हुन सक्छन्, कतिपय त्यहीं पुरिएको हुन सक्ने आशंका छ ।’
भन्सार यार्ड क्षेत्रमा पुरिएका गाडी निकाल्न र हराइरहेकाको खोजी गर्न ‘हेभी इक्विपमेन्ट’ आवश्यक रहेकाले बाटो नखुलेसम्म ती उपकरण ल्याउन सम्भव नभएको उनको भनाइ छ । बाढीले स्याफुबेसीदेखि रसुवागढीसम्म विभिन्न स्थानमा सडक क्षतविक्षत भएको छ । ‘ठाउँठाउँमा सडक अवरुद्ध छ, सडक इन्जिनियरका अनुसार १० स्थानमा गरी करिब ११ सय मिटर सडकमा क्षति पुगेको छ ।’
उनका अनुसार बाढीका कारण कतिपय गाउँसँगको सञ्चार सम्पर्क टुटेको छ भने त्यहाँसम्म तत्काल हिँडेर पुग्ने अवस्था छैन । ‘२ हजारभन्दा धेरै मानिस बसोबास रहेको क्षेत्र सम्पर्कविच्छेद छ, सूचनाअनुसार तीन–चार दिनलाई मात्र पुग्ने खाद्यान्न मौज्दात छ रे, त्यहाँ तत्काल खाद्यान्न पुर्याउन आवश्यक छ,’ प्रजिअ पौडेल भन्छन्, ‘अब हामीले त्यहाँ खाद्यान्न पुर्याउने तयारी थाल्नुपर्छ, त्यहाँ विद्युत् र फोन सेवा पनि अवरुद्ध छन् ।’
नेपाल प्रहरीका सहायक प्रवक्ता एसएसपी रमेश थापाका अनुसार अहिले बाढी गएको क्षेत्रमा करिब एक हजारको संख्यामा प्रहरी खटिएका छन् । उनीहरूले सम्पर्कविहीन भएकाको खोजी गरिरहेका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) का सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार हराइरहेकाको खोजीका लागि नुवाकोट र धादिङबाट पनि टोली पठाइएको छ ।
फेला परेका नौमध्ये आठ जनाको शव काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । एक जनाबाहेक अरूको सनाखत हुन नसकेको नेपाल प्रहरीका प्रवक्ता नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । बाढीमा परेर रसुवाबाट बेपत्ता असई लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको थियो । परिवारले शव बुझेर बुधबारै अन्त्येष्टि गरेका छन् ।
प्रहरीका अनुसार भेटिएकामध्ये पाँच शवमात्र सनाखत गर्न सकिने खालका छन् । चार वटाको मानव अंगमात्र फेला परेको छ । तिनको डीएनए परीक्षण आवश्यक रहेको प्रहरीले जनाएको छ ।
बेपत्तामध्ये बर्दियाका ५ जना,परिवार शोकमा
रसुवागढीमा मंगलबार बिहान आएको बाढीमा परेर बर्दियाका ५ जना बेपत्ता छन् । उनीहरूका परिवारका सदस्यहरू खबर पाएदेखि छिनछिनमा मूर्च्छित हुने गरेका छन् । श्रीमान् जिपन बाढीपछि बेपत्ता भएको खबरले बारबर्दिया नगरपालिका–१० की अनिता चौधरीले मंगलबारदेखि केही खाएकी छैनन् । चार महिनाकी गर्भवती अनिता श्रीमान्लाई सम्झेर छिनछिनमा बेहोस भइरहेकी छन् ।
जिपनकी आमा हिरामोतीले छोरा गत चैत महिनामा रसुवामा मजदुरी गर्न गएको बताइन् । ‘बुहारीलाई छोराले सोमबार राति १० बजे अन्तिम पटक फोन गरेको थियो,’ उनले भनिन्, ‘त्यसपछि फोन आएन, बिहान बेपत्ता भएको खबर सुनेपछि बुहारी छिनछिनमा मूर्च्छित हुने गर्छिन् ।’ घरपरिवार जिपनको सकुशल उद्धार हुने आसमा छन् ।
बारबर्दिया नगरपालिका–१० का भीमबहादुर चौधरीका छोरा सन्तोष, भतिजा बुद्धिराम र छोरीज्वाइँ जिपन बाढीपछि बेपत्ता भएको खबरले परिवारमा ‘ब्रजपात’ परेको छ । बेपत्ता भएका घर फर्किन्छन् भन्दै सान्त्वना दिन आफन्तहरू घरभरि जम्मा भएका छन् । बुद्धिरामको घरमा श्रीमती र छोरीबाहेक कोही छैनन् ।
‘ससुरा बितेपछि सासूले अर्को विवाह गर्नुभयो,’ उनले भनिन्, ‘घरमा छोरी र मबाहेक कोही छैन, श्रीमान् बेपत्ता हुनुभयो भन्छन्, अब के गर्ने थाहा छैन ।’ भीमबहादुरका छोरा सन्तोष पनि बाढीले बेपत्ता भएका छन् । बुबा भीमबहादुर छिनछिनमा रुँदै ‘सरकार चाँडै छोरालाई उद्धार गरिदे’ भनेर बिलौना गर्छन् ।
यस्तै, बारबर्दिया–९ का चन्द्रलाल थारूका छोरा सुरेश २१ असारमा धान रोपाइँ गरेर रसुवा गएका थिए । उनी पनि बाढीपछि बेपत्ता छन् । एकमात्र छोरा बेपत्ता भएपछि घरपरिवार बिलौना गरिरहेका छन् । श्रीमान् हराएको खबर सुनेयता उनकी श्रीमती उर्मिलाको आँसु रोकिएको छैन ।
बेपत्तामध्ये बढैयाताल गापा–६ का लक्ष्मीनारायण थारू पनि छन् । बारबर्दियाका मेयर छविलाल चौधरीले बेपत्ताको खोजीका लागि रसुवा प्रशासनसँग समन्वय भइरहेको बताए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मंगलबार बर्दियाका ५ जना बेपत्ता परिवारको घर पत्ता लगाएपछि रसुवा प्रशासनसँग समन्वय गर्दै उद्धारका लागि आग्रह गरिएको जनाए ।
(बर्दियाबाट कमल पन्थी र रामप्रसाद चौहान)
१ बेपत्ता, ४५ घर डुबानमा
परासी - पश्चिम नवलपरासीमा बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । अविरल वर्षाले बर्दघाटमा ४५ घर डुबानमा परेका छन् । नारायणीमा आएको भेलले बगाउँदा सुस्ता–४ का १३ वर्षका कृष्ण मल्लाह बेपत्ता भएका हुन् । बाढीले बगाएर ल्याएको दाउरा समाउन खोज्दा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाले बर्दघाट नगरपालिका–१० लन्डनब्रिज राजमार्गदेखि उत्तरतर्फको बस्ती डुबानमा परेको स्थानीय देवीदत्त पौडेलले बताए । वर्षाकै कारण बर्दघाट–४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएको छ ।
नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने नजिकै सडकको केही भाग भासिएको र हिलोले सवारी साधन फसेपछि बुधबार ६ घण्टासम्म यातायात अवरुद्ध भएको थियो । भासिएको स्थान मर्मत गरेर यातायात सञ्चालनमा ल्याइएको छ ।
