काठमाडौँ — वर्षा र बाढीका कारण मुलुकका विभिन्न जिल्लामा विपद्बाट क्षति पुगेपछि गृहमन्त्रालयले आज दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ ।
रसुवामा बाढीका कारण नागरिक सम्पर्कविहीन हुनाका साथै धनमालको क्षति भएको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकले दिउँसो मन्त्रालयमा उद्धार, खोज तथा राहत पुनः स्थापना विषय छलफल गर्नका लागि आकस्मिक केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवामा ठूलो क्षति पुगेको छ । नेपाल-चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगिसकेको छ भने भन्सार यार्डमा राखिएका गाडीहरू पनि बगेका छन् ।
त्यस्तै बाढीमा परी १८ जना सम्पर्कविहीन रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । सम्पर्कविहीन हुनेमा ३ प्रहरी, ६ चिनियाँ नागरिक र भन्सार यार्डमा कार्यरत ९ जना नेपाली रहेका छन् ।
