मौसम विज्ञान विभागको प्रारम्भिक अध्ययन : भोटेकोशीको बाढी वर्षाले होइन

तिब्बत क्षेत्रमा समेत पानी नपरेकाले हिमताल फुटेको आकलन

असार २४, २०८२

उपेन्द्रराज पाण्डेय

Meteorology department's preliminary study: Bhotekoshi flood is not due to rain

काठमाडौँ — जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले मंगलबार भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठूलो प्रवेश गरेको जनाएको छ । महाशाखाले भोटेकोशी बाढीबारे प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

महाशाखाको प्रतिवेदनअनुसार रसुवागढी नाकाबाट केही तल रसुवा टिमुरेस्थित रहेको जलविद्युत् आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्यांकअनुसार बिहान ३:१० बजे उक्त स्थानमा जलसतह एक्कासि करिब ३.५ मिटर बढेको देखिन्छ ।

त्यस्तै रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल स्याप्रुवेसी स्वचालित जलमापन केन्द्रमा बिहान ३:३० बजे एक्कासि बहाव बढेको देखिन्छ । उक्त केन्द्रमा बिहान ३:३० बजे ३.६५ मिटर रहेको जलसतह एक्कासप ३:४० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्यांक सम्प्रेषण बन्द भएको महाशाखाले जनाएको छ । केन्द्रका गेजरिडरलाई उद्धृत गर्दै महाशाखाले उक्त केन्द्र नै बाढीले बगाएकोसमेत जानकारी दिएको छ । 

महाशाखाले भोटेकोशी जलाधार क्षेत्रमा बाढी नै आउने गरी पानी नपरेको समेत जनाएको छ । गत २४ घण्टा (सोमबार बिहान ९ बजेदेखि २०८२-०३-२४ गते मंगलबार बिहान ९ बजेसम्म) मा नेपाल-चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको थियो ।

महाशाखाले विश्व मौसम संगठनको फ्ल्यास फ्लड गाइडेन्स सिस्टमको 'ग्लोबल हाइड्रोइस्टिमेटर स्याटेलाइट-बेस्ड प्रिसिपिटेसन इस्टिमेट्स' अनुसार पनि भोटेकोशी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको नदेखिएको जनाएको छ । त्यसैले पनि भोटेकोशीमा आएको बाढी वर्षाका कारण उत्पन्न भएको नदेखिएको महाशाखाको अनुमान छ । 

'भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमताल अवस्थित रहेकोले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आंकलनका लागि आज बिहान ७ बजे सेन्टिनेल एसिया प्लाटफर्ममा तत्कालको भू-उपग्रह तस्बिर प्राप्त गर्न 'इमर्जेन्सी अब्जर्भेसन रिक्वेस्ट'  जारी गरिएको छ ।

महाशाखाका हाइड्रोलोजिस्ट सौहार्द जोशीले पाल्पा र उदयपुरमा राखिएका मौसमी राडारबाट हेर्दा पनि तिब्बती क्षेत्रमा समेत ठूलो पानी परेको नदेखिएको जनाए । अहिलेलाई यति भन्न सकिन्छ कि आजको बाढी वर्षाका कारण आएको होइन, तिब्बती क्षेत्रमा समेत १०/१२ मिलिमिटरभन्दा बढी पानी परेको छैन,' हाइड्रोलोजिस्ट जोशीले भने, 'स्याटेलाइट तस्बिर आएपछि ठ्याक्कै कारण भन्न सकिन्छ ।'

महाशाखाले त्रिशूली नदीको रसुवागढीदेखि धादिङको बेनिघाटसम्म नदीतटीय क्षेत्रमा अर्को सूचना जारी नहुँदासम्म सतर्कता अपनाउन पनि आग्रह गरेको छ । 

रसुवा बाढी

उपेन्द्रराज पाण्डेय १० वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनी हाल इकान्तिपुरमा सहायक वरिष्ठ उप-सम्पादकका रूपमा कार्यरत छन् ।

Link copied successfully