आज देश दुनियाँमा के के भयो ?

असार १५, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — संघीय निजामती विधेयक प्रतिनिधिसभाबाट पारित, देशभर मनाइयो धान दिवस, राष्ट्रपतिद्व‍ारा शीतल निवासमा रोपाइँ, शिक्षा संकायबाहेक अध्ययन गरेकाले पनि शिक्षक लाइसेन्स लिन पाउने, ओडिशाको पुरीमा रथयात्राका क्रममा भागदौड, तीन जनाको मृत्युदेखि एसीसी यू-१६ क्रिकेटमा इन्डोनेशियाविरुद्ध नेपालको जितसम्मका खबर आज चर्चामा रहे । 

०००

प्रतिनिधिसभाबाट संघीय निजामती विधेयक पारित भएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आइतबार प्रतिनिधिसभा बैठकबाट पारित भएको हो । प्रतिनिधिसभाको आइतबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

०००

आज राष्ट्रिय धान दिवसको अवसरमा देशका विभिन्न ठाउँहरूमा रोपाइँ गरी मनाइएको छ । सोही अवसरमा राष्ट्रपति भवन शीतल निवासमा पनि रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र उनकी पत्नी सविता पौडेल पनि सहभागी भइन् । 

०००

विद्यालय शिक्षा विधेयकमा शिक्षा संकायबाहेक अध्ययन गरेकाले पनि लाइसेन्स परीक्षा दिन पाउने भएका छन्। आइतबार सिंहदबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयकमा यस्तो प्रावधान राख्न सहमति जुटाएको हो । 

०००

ओडिशाको पुरीमा श्री गुन्डिचा मन्दिर नजिक भागदौड हुँदा दुई महिलासहित तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । पुरीका जिल्ला अधिकारी सिद्धार्थ एस.स्वाईंले सञ्चारकर्मीसँग कुरा गर्दै घटनाबारे जानकारी दिएका छन् । 

०००

नेपालले एसीसी यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत तेस्रो खेलमा इन्डोनेसियामाथि सानदार जित हासिल गरेको छ । क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनको अन्तरले पराजित गर्‍यो 

कान्तिपुर

Link copied successfully