काठमाडौँ — विद्यालय शिक्षा विधेयकमा शिक्षा संकायबाहेक अध्ययन गरेकाले पनि लाइसेन्स परीक्षा दिन पाउने भएका छन्। आइतबार सिंहदबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयकमा यस्तो प्रावधान राख्न सहमति जुटाएको हो।
त्यस्तै, शिक्षकहरूले प्रत्येक पाँच वर्षमा पुनर्ताजगी तालिम लिनुपर्ने प्रावधान समेत विधेयकमा समावेश गर्ने सहमति भएको छ।
बैठकले शिक्षा संकायबाहेककाले पनि लाइसेन्सको परीक्षा दिने पाउने सहमति गरेको समितिका सभापति अम्मरबहादुर थापाले बताए। अब विद्यालय तहको शिक्षक हुन जुनसुकै विषय पढेकाले पनि अध्ययन अनुमति पत्र लिन पाउने भएका छन्।
विधेयकमा शिक्षकलाई पुनर्ताजगी तालिम दिने जिम्मेवारी तीन तहकै सरकारलाई दिने व्यवस्था गरिएको छ। विद्यालय शिक्षा विधेयकलाई आजै प्रतिवेदनसहित संसद्मा पेश गर्नेगरी समिति छलफलमा जुटेको छ।
अहिले बालविकास कर्मचारीका विषयमा छलफल जारी छ । अधिकांश सांसदहरुले बालविकास कर्मचारीहरुलाई पनि शिक्षक सरह मान्नुपर्ने धारणा राखेका छन्।
