नेपालको ३७० रनको जित

असार १५, २०८२

कान्तिपुर संवाददाता

Nepal won by 370 runs

काठमाडौँ — नेपाली युवा क्रिकेट टोलीले एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । साबिक विजेता नेपाली टोली आइतबार इन्डोनेसियालाई ३ सय ७० रनको ठूलो अन्तरमा पराजित गर्दै एक खेलअघि नै अन्तिम चारमा प्रवेश गरेको हो । नेपालको यो लगातार तेस्रो जित हो ।

४ सय २१ रनको विशाल लक्ष्य पाएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमै अलआउट भयो । कप्तान विपिनप्रसाद शर्माको बलिङसामु इन्डोनेसियाका ब्याटर टिक्न सकेनन् । उनले ६ विकेट लिए । त्यसका लागि विपिनले ७.३ ओभरमा १२ रनमात्र खर्चिए । शुभम खनाल र सुगम बुढाथोकीले १–१ विकेट लिए ।

मलेसियाको सेलेङ्गर टर्फ क्लबमा भएको खेलमा इन्डोनेसियाबाट काभिन नीरज चन्दाले १५ र दिभित नन्दाले १४ रन बनाए भने अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा खेल्दै ५ विकेटमा ४ सय २० रनको विशाल योगफल बनाएको थियो ।

नेपालको उमेर समूहदेखि सिनियर टोलीले ५० ओभरको कुनै प्रतियोगितामा बनाएको सर्वाधिक योगफल हो । यस प्रतियोगितामा पनि यो उच्च स्कोर रहेको छ । नेपालका ओपनर प्रसिद्ध जैसीले शतकीय इनिङ्स खेले । उनले १ सय १४ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ३२ रन बनाए । उनले पहिलो विकेटमा परिमार्जन यादवसँग १ सय ३२ रनको साझेदारी गरे । त्यसका लागि उनीहरूले ६२ बल उपयोग गरेका थिए । परिमार्जनले २८ बलमा ४ चौका र ८ छक्कासहित ७१ रन जोडे । त्यसपछि आएका शिवान्स बजगाईंले ६ बलमा ४ रनमात्र बनाउन सके । प्रसिद्धले तेस्रो विकेटमा रौनक श्रीवास्तवसँग १ सय ४८ रनको साझेदारी गरे । उनीहरूले १ सय ३६ बल सामना गरेका थिए । रौनकले ७१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै व्यक्तिगत ८८ रन जोडेका थिए । त्यसपछि सुगम बुढाथोकी र जोय थापाले ७४ रनको साझेदारी गरेर टोलीलाई विशाल स्कोरतर्फ पुर्‍याए । जोय ४१ बलमा ७ चौकासहित ५७ रन बनाए । सुगमले ३४ बलमा अविजित ३९ रन बनाएका थिए । उनीसँगै अविजित रहेका रोशन शाहीले १० रन जोडे । इन्डोनेसियाबाट कितुत धर्मपुत्रले २, काभिन नीरज, महेन्द्र आजी र रेहान रिजाले १–१ विकेट लिए ।

समूह ‘ए’ मा रहेको नेपाल तीनै खेल जितेर ६ अंक जोड्दै शीर्षस्थानमा छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट र दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको थियो । सिंगापुरले ४ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ । जापान र इन्डोनेसियाको २–२ अंक छ भने भुटान अंकविहीन छ । इन्डोनेसिया एक खेलअगावै बाहिरिएको छ ।

नेपालले अब भुटानसाग मंगलबार खेल्नेछ । समूह ‘बी’ मा भने आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । दुवै समूहका विजेता र उपविजेता सेमिफाइनल प्रवेश पुग्नेछ । फाइनल जुलाई ५ मा हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully