काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा जुटेको छ। नतिजा प्रकाशनको तयारीका लागि आज साढे १२ बजे परीक्षा बोर्डको बैठक बस्दैछ ।
बैठकमा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन गर्नेबारे ब्रिफिङ गर्नेछ ।
एक जना बोर्ड सदस्यका अनुसार कार्यालयले बैठकमा नतिजा प्रकाशनको लागि तयारी पूरा भएको र कुनै पनि त्रुटि नभएको बताएछि पुनः दोस्रो बैठकको आह्वान गरिनेछ । उक्त बैठकले नतिजा सार्वजनिक गर्ने आदेश दिन्छ । दोस्रो बैठक पछि नतिजा प्रकाशन गरिनेछ ।
परीक्षा नियन्त्रक डा गणेश भट्टराईले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको बताए । उनले तथ्यांक रुजु र इन्ट्रीको काम भएर भेरिफाइको काम चलिरहेको बताए । उनले भने, 'केही त्रुटि नभए, प्राविधिक समस्या नभए नतिजा आजै प्रकाशन गर्न सकिने सम्भावना छ । तर बोर्ड बैठकको पहिलो बैठकले के भन्छ त्यसैमा भर पर्छ ।'
असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बने पनि गत २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।
गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
