छोरासँगै एसईई पास हुँदा बाबु दंग

असार १७, २०८२

हरिराम उप्रेती

Father shocked when he passed SEE with his son

गोरखा — एसईईको नतिजा शुक्रबार प्रकाशन हुने सूचना पाएपछि गोरखा नगरपालिका–३ नारेश्वरका देवबहादुर विकको मनमा अनेक तर्कना आए । देवबहादुरलाई आफ्नोसँगै जेठा छोरा आमोस सुनारको पनि नतिजा थाहा पाउनु थियो । साँझ नतिजा सार्वजनिक हुँदा ३६ वर्षीय देवबहादुर गाउँका साथीभाइसँग गफिइरहेका थिए ।

छोरा आमोसले फोन गरेर आफूले ३.६४ जीपीए प्राप्त गरेको निकै खुसी साथ सुनाए । आफ्नो नतिजा सुनाउन फोन गरेका छोरालाई उनले आफ्नो पनि नतिजा हेरिदिन आग्रह गरे । छोराले बुवाको २.९५ जीपीए आएको सुनाए । आफु र छोरा दुवै पास भएको खबर सुनेपछि देवबहादुर खुसीले घर फर्किए । एकै वर्ष एसईई पास गरेका देवबहादुर र आमोस बावुछोरा मात्र होइनन्, कक्षाका सहपाठी पनि हुन् ।

देवबहादुर तीन वर्षअघि गोरखा नगरपालिका–३ को विन्ध्यावासीनी माविको कक्षा ८ मा भर्ना भएका थिए । उनका जेठा छोरा आमोसले भने ८ कक्षा गोरखा नगरपालिका–८ को सरस्वती मावि आहालेमा अध्ययन गरे । बावुछोरा नै आठ कक्षा पास भएपछि भने देवबहादुरले छोरालाई पनि गाउँकै विन्ध्यावासिनी विद्यालयमा ल्याएर भर्ना गरे ।

‘९ कक्षाबाट त हामी स्कुल पनि सँगै जान्थ्यौं,’ उनले भने,‘कक्षाका पनि सहपाठी थियौं, घरमा जे जस्तो भए पनि विद्यालयमा हामी फ्रेन्डजस्तै थियौं ।’ बाबुछोरा एकले अर्काबाट पढाइका कुरा सिक्थे । ‘भाषा विषय मलाई त्यतिसारो गारो लाग्थेन, ऊ म्याथ, साइन्समा ट्यालेन्ट थियो, एकले नजानेको अर्कालाई सिकाउँदै पढ्थ्यौं,’ उनले भने ।

देवबहादुरलाई विद्यालयको पोसाक अनिवार्य थिएन । सकेसम्म कक्षा नछुटाउने उनी विद्यालय मिल्दो पोसाक लगाएर नै दैनिक विद्यालय पुग्थे । १८ वर्षअघि सात कक्षा पढ्दापढ्दै छाडेर विदेशिएका देवबहादुर तीन वर्षअघि कक्षा ८ मा भर्ना भएका हुन् । उनी ५ वर्ष कतार बसेर फर्किएका थिए ।

‘विदेशबाट आएपछि पनि घर धेरै वर्ष बसियो, जागिरका लागि इन्टरभ्युमा जाँदा अन्डर एसएलसी भन्न लाज लाग्ने,’ उनले भने,सानोमा आफ्नै बाध्यताले पनि पढ्न सकिएन, घरमा बसेर पनि समय त तैसै गइहाल्छ एसईई चाहिँ सक्छु भन्ने लागेर परिवारसँग सल्लाह गरेरै विद्यालय भर्ना भएँ ।’

१८ वर्ष विद्यालय छाडेर आठ कक्षामा भर्ना हुँदा निकै मिहनेत गर्नुपरेको उनले सुनाए । ‘आठ कक्षामा गरेको मिहनेतको त म ब्याख्या गर्न सक्दिन, एउटा हिसाब पाँच घण्टा लगाएर मिलेपछि बल्ल सुतेको पनि छु,’ उनले भने, ‘निकै मिहनेत गरेर आठ कक्षा टप गरेँ, त्योबेला नगरपालिकाबाट १० हजार पुरस्कार पनि पाए ।’

एसईईमा पनि निकै मिहिनेत गरेर सफलता हासिल गरेको उनले सुनाए । उनले भने,‘एसईई तयारीमा बेलुकी ११/१२ बजेसम्म बसेर पनि बिहान ३ बजे उठेर पढ्थेँ, मैले पढेको देखेपछि छोरा पनि प्रेरित हुन्थ्यो ।’

देवबहादुरले आफूले उच्च शिक्षा पढ्ने नपढ्ने विषयमा खुलाउन चाहेनन् । १५ वर्षीय छोरा आमोसलाई भने ‘साइन्स’ पढाउने उनको योजना छ । ‘भर्खरै रिजल्ट आएको छ, पढाइलाई निरन्तरता दिने नदिनेबारे अहिले केही नभनौं,’ उनले थपे, ‘एसईईमा मिहिनेत अनुसार पाएको सफलताले नै अहिले खुसी छु ।’

दुई छोरामध्ये कान्छो कक्षा ६ मा पढ्दै छन् । देवबहादुर पढाइको महत्त्व जुनसुकै ठाउँमा रहेकाले मिहिनेत गरेर अघि बढे सफलता हासिल गर्न सकिने बताउँछन् । छिमेकमा सडकको काममा मजदुरी गर्न आउने विद्यालय उमेरका बालबालिकालाई पनि देवबहादुरले पढाइ नछाड्न सम्झाउने गर्छन् ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully