आज देश दुनियाँमा के के भयो ?

असार ६, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — ११ महिनाको व्यापार घाटा १४ खर्ब रुपैयाँ, ६१ केजी अवैध सुन तस्करी प्रकरणका फरार आरोपित अमला रोक्का पक्राउ, नागार्जुन नगरपालिकाका निलम्बित मेयर सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर, काठमाडौंको कलंकी-कोटेश्वर खण्डमा नवनिर्मित ग्वार्को ओभरपास उद्घाटन, एसिया कप छनोट खेल्ने महिला टिमको घोषणादेखि इजरायली आक्रमणमा इरानको न्युक्लियर सेन्टरमा क्षतिसम्मका खबर आज चर्चामा रहे । 

०००

चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ व्यापार घाटा भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३० प्रतिशतले बढी रहेको भन्सार विभागले जनाएको छ । 

०००

सुन तस्करी मुद्दामा फरार रहेकी रोल्पाकी अमला रोक्का पक्राउ परेकी छिन् । तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नीसमेत रहेकी रोक्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । उनी टोखाबाट पक्राउ परेकी हुन् । 

०००

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार काठमाडौं चक्रपथको कलंकी-कोटेश्वर खण्डमा नवनिर्मित ग्वार्को ओभर पासको उद्घाटन गरेका छन् । उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ निर्माणले हालै मात्र पूर्णता पाएको छ । 

०००

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)का अनुसार इजरायली आक्रमणमा इरानको खोन्डब हेभी वाटर रिसर्च सेन्टरका कैयौं संरचना क्षतिग्रस्त बनेका छन् । यसमा डिस्टिलेशनको काम हुने युनिटको संरचना पनि ध्वस्त भएको बताइएको छ । एजेन्सीले एक्समा एक पोस्ट गर्दै यसको जानकारी गराएको हो । 

०००

नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले शुक्रबार एसिया कप छनोट खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका छन् । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले लाओस, श्रीलंका र घरेलु टिमको सामना गर्दैछ । 

कान्तिपुर

Link copied successfully