काठमाडौँ — अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)का अनुसार इजरायली आक्रमणमा इरानको खोन्डब हेभी वाटर रिसर्च सेन्टरका कैयौं संरचना क्षतिग्रस्त बनेका छन् ।
यसमा डिस्टिलेशनको काम हुने युनिटको संरचना पनि ध्वस्त भएको बताइएको छ । एजेन्सीले एक्समा एक पोस्ट गर्दै यसको जानकारी गराएको हो ।
यस्तै एजेन्सीले आफ्नो संस्था इरानको परमाणु गतिविधिमा गरिएको टिप्पणीमा इजरायल आक्रमणसँग कुनै सम्बन्ध नभएको बताएको छ । एजेन्सीका प्रमुख राफेल ग्रसीले सीएनएनसँग अन्तर्वार्ताका क्रममा आफूहरुको रिपोर्ट कसैको सैन्य कारबाहीको आधार बन्न नसक्ने बताएका छन् ।
इरानले आईएईएको रिपोर्ट र उसको टिप्पणीका कारण इजरायललाई आक्रमणका लागि आधार तया गरेको आरोप लगाएको थियो । तर ग्रसीले यसलाई अस्वीकार गरिदिएका छन् ।
उनले भने, ‘रिपोर्टमा जुन कुरा भनिएको थियो, त्यो नयाँ थिएन । आईएईएले पहिलेदेखि नै चेतावनी दिँदै आएको थियो, इरान आफ्नो परमाणुसँग जोडिएका गतिविधि साझा गरिरहेको छैन भने ।’
